Prakash Adhikari July 24, 2023

काठमाडौं, ८ श्रावण । मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन नै सोमबार नेपाल धितोपत्र बजार परिसूचकम करेक्सन देखिएको छ। गत साताको पहिलो कारोबार दिनदेखि बढेको बजारमा यस दिन सामान्य करेक्सन देखिएको हो।

पछिल्लो ६ कारोबार दिनमा १४२ अंक बढेको नेप्सेमा यस दिन २६.६६ अंकको करेक्सन भएको छ। यस दिन नेप्से परिसूचक २२००.५० विन्दुमा झरेको हो।

नेप्से घटेपनि यस दिन भोल्यूम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको ७४ हजार १६१ पटकको कारोबारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार किसान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन एनआईबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको करिब २० करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०।९५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.५० प्रतिशत घटेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now

Leave a comment.