Prakash Adhikari July 26, 2023

नोमपेन, १० साउन (रासस÷सिन्ह्वा)  । कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले दक्षिणपूर्वी एसियाली राष्ट्रमा ३८ वर्षभन्दा बढी समय सेवा गरेपछि अगस्ट २२ देखि कार्यकारी प्रधानमन्त्रीबाट राजीनामा दिने बुधबार बताउनुभएको छ ।

उहाँले आफ्नो जेठो छोरा हुन मानेटलाई सत्ताको बागडोर सुम्पिने पनि बताउनुभएको छ ।

कम्बोडियाको राज्य नियन्त्रित टेलिभिजन (टिभीके) मा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हुन मानेट तीन साताभन्दा बढी समयभित्रै प्रधानमन्त्री बन्नुहुनेछ ।” नेता हुन सेनले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “कम्बोडियाका राजा नोरोडोम सिहामोनीको नेतृत्वमा पहिलो पटक अगस्ट २१ मा राष्ट्रिय सभाको बैठक बस्ने र हुन मानेटको नेतृत्वमा पाँच वर्षे कार्यकालको नयाँ सरकारले अगस्ट २२ मा शपथ लिनेछ ।”

मुलुकको शान्ति र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न आगामी शक्ति सङ्क्रमणलाई निरन्तरता दिने बताउँदै उहाँले नयाँ मन्त्रिमण्डलमा युवा र गतिशील नेताहरू रहने बताउनुभयो ।

प्रधानमन्त्री हुन सेनले आफू सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) को अध्यक्ष रहेकाले राजनीतिक शक्ति आफ्नो हातमा रहने बताउनुभएको छ । यद्यपि, उहाँले नयाँ सरकारको नेतृत्वमा हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

आगामी फेब्रुअरी २५ मा हुने सिनेट निर्वाचनपछि ७० वर्षीय हुन सेनले सिनेटको अध्यक्षको पद सम्हाल्ने बताउनु भएको छ । सन् २०२३÷०२८ को नयाँ कार्यकालका लागि १२५ सदस्यीय राष्ट्रिय सभाका लागि आइतबार भएको सातौँ आमनिर्वाचनमा सीपीपीले शानदार जित हासिल गरेपछि उहाँले कम्बोडियाको सरकार र आगामी राजनीतिक यात्राबारे सार्वजनिकरूपमा आफ्नो भनाइ राख्नुभएको हो ।

राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सीपीपीले ७७ लाख ७० हजार मतको ८२.३ प्रतिशत अर्थात् करिब ६४ लाख मत प्राप्त गरेको छ भने प्रिन्स नोरोडोम चक्रवुथको नेतृत्वमा रहेको फनसिनपेक पार्टीले सात लाख १६ हजार ४४३ मत अर्थात् कुल वैध मतको नौ दशमलव २२ प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचनमा पाएको मतका आधारमा सीपीपीले १२० संसदीय सिट जितेको छ भने फनसिन्पेकले बाँकी पाँच सिट जितेको छ ।

Share Now

Leave a comment.