Prakash Adhikari August 1, 2023

काठमाडौं, १६ श्रावण । बहुचर्चित सुन तस्करी प्रकरणमा माओवादी नेताहरू पनि संलग्न रहेको चर्चाको विषयले नेकपा माओवादी केन्द्रको बैठकमा प्रवेश पाएको छ।

पार्टी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको थियो।

तर सुन तस्करी प्रकरणमा गिरफ्तार एक व्यक्तिसँग आफ्नो नाम जोडेर समाचार र सामाजिक सञ्जालमा प्रचार भएको भन्दै नेता वर्षमान पुनले आफ्नो प्रतिरक्षा गर्दै त्यसबारे कुरा उठाउनुभएको छ।

पक्राउ परेका व्यक्ति र भूतपूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको फोटो पनि सार्वजनिक भएको छ।

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोराको नाम पनि अर्को एउटा सुन तस्करी प्रकरणमा जोडेर समाचारहरू आइरहेका छन्।

पदाधिकारी बैठकमा उठेको प्रसङ्ग सुनाउँदै महासचिव देव गुरुङले भन्नुभयो, “सरकारको अभियानप्रति सबैको समर्थन र ऐक्यबद्धता छ, यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्छ, विज्ञहरू लगाएर न्यायिक ढङ्गले छानबिन गर्ने र दोषी देखिए जोसुकैले कारबाही भोग्न तयार हुनुपर्छ भन्नेमा सबैको धारणा छ।”

‘पार्टीकै नेता परे पनि नछाड्ने’

नेताहरूका अनुसार फरक सन्दर्भका पुराना तस्बिरहरू राखेर बदनाम गराउन खोजिएको भन्दै नेता वर्षमान पुनले असन्तुष्टि प्रकट गर्नुृभएको थियो ।

त्यसैले सबै विषयमा छानबिन गरिनुपर्ने उनको माग थियो।

कतिपयले विभिन्न उद्देश्य राखेर फोटो खिच्ने गरेको बताउँदै प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ूआवश्यकता बुझेर त्यसबारे ख्याल गर्नू ध्यानाकर्षण गराएको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले भन्नुभयो, “तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ। प्रमाणले देखाएमा पार्टीकै भए पनि कसैलाई छाडिँदैन भन्ने प्रधानमन्त्रीको भनाइ थियो।”

महासचिव गुरुङका अनुसार प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्ष प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

“सरकार सुशासनको अभियानमा लागेको छ। चाहे मानव तस्करी होस्, चाहे जग्गा प्रकरण होस्, चाहे सुन तस्करीको प्रश्न होस्, सरकार निरन्तर अघि बढिरहन्छ भन्ने उहाँको प्रतिबद्धता दह्रै थियो।”

नेपालमा सुन तस्करी

प्रधानमन्त्रीको सङ्केत र गृहमन्त्रीको अनुपस्थिति

एक नेताका अनुसार प्रधानमन्त्रीले बहुचर्चित तीन प्रकरणबाहेक अन्य मुद्दा पनि बाहिर आउन सक्ने बताउनुभएकोे छ।

माओवादी नेता गणेश शाहका बुझाइमा प्रधानमन्त्रीले सरकारको ध्यान भूमाफिया, भ्रष्टाचार र तस्करीविरुद्ध केन्द्रित गर्न खोज्नुभएको देखिन्छ ।

“सुशासनको निम्ति उहाँले यी तीनवटा कुरालाई समाउन खोजेको देखिन्छ। मलाई त सरकारी र सार्वजनिक जग्गा अपचलनका धेरै घटनाहरू छन् कि जस्तो लाग्छ,” उहाँले भन्नुभयो।

तर पार्टीको पदाधिकारी बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनुपस्थित हुनुहुन्थ्यो।

अस्वस्थताका कारण उनी बैठकमा सहभागी नभएको बताइए पनि अनुसन्धान चलिरहेको फौजदारी कसुरमा पार्टीकै नेताको नाम जोडिएका बेला उहाँको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेर्नेहरू पनि छन्।

उपप्रधानमन्त्री श्रेष्ठले पनि प्रमाण भेटिए जोसुकैलाई कारबाही गर्ने बताउँदै आउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डका निम्ति यी प्रकरणहरू विपक्षी दल, सत्ता सहयात्री र आफ्नै पार्टीभित्रका सम्भावित असन्तुष्ट स्वरलाई दबावमा राख्ने अस्त्र बनेको कतिपयको विश्लेषण पाइन्छ।

तर नेता देव गुरुङ भन्नुहुन्छ, “यो राज्यको शुद्धीकरणको अभियान हो। यो पार्टी, त्यो पार्टी, सत्तापक्ष वा विपक्ष जो(जो परे पनि निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गर्दै अगाडि लग्ने कुरा हो।”

के भेटिएला राजनीतिक सम्बन्ध ?

असार ३० गते शनिवार विमानस्थलस्थित भन्सार गोदाममा पुगेको सुन साउन २ गते भन्सार पास भएर निस्किएपछि बरामद गरिएको थियो।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार त्यस प्रकरणमा हालसम्म १८ जना गिरफ्तार भएका छन्।

पक्राउ पर्नेमा नेपाली र विदेशी नागरिक पनि छन्।

उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतबाट १५ दिनको म्याद थप गरेको बताइएको छ।

उनीहरूले प्रयोग गर्ने विद्युतीय सामग्रीको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ।

उनीहरूको मोबाइलको कल डिटेल नेपाल टेलिकमसँग माग गरिएको बताइएको छ। त्यसबाट उनीहरूको सम्पर्क कुन तहका व्यक्तिहरूसँग थियो भन्ने खुल्ने अपेक्षा अधिकारीहरूले गरेको पाइन्छ।

यति ठूलो सुन तस्करी राजनीतिक संरक्षणबिना सम्भव नहुने कुरा धेरैले व्यक्त गर्दै आएका छन्। तर उनीहरूमा अनुसन्धान राजनीतिक तहसम्म पुग्ला भन्नेमा ठूलो अविश्वास देखिन्छ।

कहाँ पुग्यो त अनुसन्धान ?

गत साउन २ गते साँझ ५ बजे काठमाडौं विमानस्थलको भन्सार गोदामबाट जाँच पास भएर निस्कदै गर्दा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट झन्डै सय किलो सुन बरामद गरेको थियो । क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट ३ साउनमै काठमाडौं आइपुगेको सुन सहितको ब्रेक शु छुटाउन आयातकर्ता रेडी ट्रेडर्स प्रालि बूढानीलकण्ठको तर्फबाट राई त्यहाँ पुगेका थिए । भन्सार कार्यालयबाट बाहिरिएर मूल सडकमा पुग्दा चालक अशोक लामा र राई सुनसहित राजस्व अनुसन्धान विभागको फन्दामा परेका थिए ।

पक्राउ परेका दुई जनाबाट प्राप्त सूचना र आयातकर्ता कम्पनीको विवरण खोजेर सर्च अपरेशन चलाएको विभागले सोही दिन राति विभागले रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेललाई साँखुबाट पक्राउ गरेको थियो । दिलीपलाई उनका मामा रामकुमार मार्फत सुन आयात गर्ने कम्पनी खोल्न हर्कराज राईले सघाएका थिए ।

उनीहरूको सूचनापछि विभागले हर्कलाई नियन्त्रणमा लियो । त्यसपछि विमानस्थलबाट आएको सुन लिन पर्खेका भारतीय नागरिक थुप्तेन छिरिङ लामालाई विभागले महाराजगञ्जबाट पक्राउ गरेको थियो ।

विभागले बिहीबार सुन गोदामका सञ्चालक चिनियाँ नागरिक जेक्यु याङलाई अध्यागमनबाट नियन्त्रणमा लिएको थियो ।

विभागले सुन आयात गरेको कार्गो कम्पनीका ३ जना सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पनि बिहीबार नै पक्राउ गरेको थियो । बिहीबार नै विभागले बरामद ब्रेक शुबाट सुन छुट्याउने प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई ती वस्तु बुझाएको थियो ।

विभागको टोलीले आइतबार ठमेलको होटल भियनामा छापा मारेर एक जना चिनियाँ मुलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेपछि यो प्रकरणको राजनीतिक जालो भेटिएको छ ।

दावाकी श्रीमती रोल्पाकी अमला रोका मगरमार्फत दावाले माओवादीमा उपमहासचिव वर्षमान पुन अनन्त र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको परिवारैसँगको घनिष्टता बढाएको देखिएको छ । पारिवारिक सम्बन्ध सुमधुर बनाएर सुन तस्करहरुले माओवादी नेताहरुको शक्तिको आडमा संगठित रुपमा सुन तस्करी गरेको पनि खुलेको छ ।

आइतबार समातिएका दावा छिरिङ, उनकी श्रीमती भनिएकी अमला रोका मगर, माओवादीका उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगर सँगै बसेर खाना खाएको तस्बिर दावा पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो। उता पूर्वउपराष्ट्रपतिको परिवारैसँग अमला र दावाका पारिवारिक तस्बिरहरू सामाजिक सञ्जालमा आइरहेका छन्।

हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।(स्रोतः बीबीसी)

Share Now

Leave a comment.