
काठमाडौं,१६ श्रावण । गैरआवासीय नेपालीको अर्को संस्था दर्ता हुने भएको छ । सर्वोच्च अदालतले संघका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ ।
गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिनुभएको थियो ।
परराष्ट्र मन्त्रालयले सो संस्था दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएका लामाको पक्षमा आइतबार सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो संस्था दर्ता गर्न आदेश दिएको हो ।
गैर आवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा ‘गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्’ भन्ने व्यवस्था छ । गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकमा ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ ।
ऐनको यही व्यवस्थाबमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएर सञ्चालनमा छ । यो संघ सन् २००३ मा स्थापना भएको हो ।
तर, गैरआवासीय नेपाली भनेको नेपाली मूलका विदेशी नागरिक वा विदेशमा स्थायी बसोबासको अनुमति पाएका मात्रै (पिपुल अफ नेपाली ओरिजिन– पीएनओ) हुनुपर्ने भन्दै सोनाम लामाले लामो समयदेखि वकालत गर्दै आउनुभएको थियो ।
२०७८ चैतमा गैरआवासीय नेपाली संघमा तीन जना अध्यक्ष चुन्ने निर्णय भएपछि सोनाम लामाले २८ मुलुकका ५८ जना गैरआवासीय नेपालीहरुको हस्ताक्षरसहित ऐनमा भएको व्यवस्थाअनुरुप यूएनडीओ दर्ताका लागि गर्न २०७९ वैशाख ६ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिनुभएको थियो।
उहाँले परराष्ट्र मन्त्रालयले कुनै जवाफ नदिएपछि सूचनाको हक प्रयोग गरी निवदेनमा भएको प्रगतिको विवरण माग गनुभयो तर जवाफ नआएपछि १ मंसिर २०८९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।
रिट निवेदनमा फैसला भएको एक महिना भित्र यूएनडीओ दर्ता गरी प्रमाणपत्र दिन र दिलाउन परराष्ट्र मन्त्रालयका नाममा परमादेशलगायतका आदेश माग गरिएको थियो । निवेदनअनुरुपकै आदेश आएको निवेदकका कानून व्यवसायीले बताउनुभएको छ ।
तर, परराष्ट्र मन्त्रालयले भने कानुनमा लेखिएको कुराले ‘गैरआवासीय नेपाली संघ’ नामक एकमात्रै संस्था रहने परिकल्पना गरेको जवाफ सर्वोच्चमा फर्र्काएको थियो ।
सर्वोच्चले आफूहरुको पक्षमा फैसला गरेकाले त्यसअनुरुप यूएनडीओ दर्ता गरेर अघि बढ्ने लामाले बताए । ‘गैरआवासीय नेपाली सम्बन्धी ऐनले नै पिपुल अफ नेपाली ओरिजिन ९पीएनओ० नै वास्तविक गैरआवासीय नेपाली हुने परिकल्पना गरेकाले अब त्यहीअनुसार अघि बढ्छौं,’ लामाले भने, ‘हाम्रो संस्थामा वैदेशिक रोजगारीमा गएका तथा अध्ययनलगायतमा छोटो अवधि बाहिर गएकाहरु आबद्ध हुँदैनन् ।’
विदेशको नागरिक भइसकेका र लामो समय बसेका नेपालीले ठूलो लगानी ल्याउन सक्ने र सीप पनि ल्याउन सक्ने उनले बताए । ‘भारतका गैरआवासीय इन्डियन भनेका पनि यस्तै हुन्, नेपालको विकासका लागि यस्तो संस्था आवश्यक छ,’ उनले भने ।
गैरआवासीय नेपाली संघभित्र केही एजेण्डामा बिमति भएपछि लामो समयदेखि संस्थामा मतभेद चर्किदै आएको थियो । नेपाली पासपोर्टधारी एनआरएन र बिदेशी पासपोर्टधारी एनआरएनवीच गहिरो मतभेद भएपछि गत महाधिवेशनमा दुई पक्षले बेग्लाबेग्लै अधिवेशन गरेर आधिकारिकता माग गरेका थिए ।
परराष्ट्र मन्त्रालयले एउटा पक्षलाई आधिकारिता दिन अस्वीकार गर्दै फिर्ता पठाएको थियो । सोही समूहमा रहेका गैरआवासीय नेपालीहरुले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन दर्ताका लागि मन्त्रालयमा निवेदन दिएका थिए । ऐनमा तोकिएका सवै प्रकृया पु¥याएर आवेदन दिँदा पनि दर्ता अस्वीकार गरेपछि संघका अध्यक्ष सोनाम लामाले सर्वोच्चमा रिट दायर गरेका थिए ।