
काठमाडौँ ,१९ श्रावण । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक क्वीन्टल सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रैष्ठले त्यसबारे छलफल गर्नुभएको छ ।
छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी हुुनुहुन्थ्यो ।
सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।
छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताउनुभएको थिया ।
सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।
‘सङ्गठित अपराधको तत्त्व देखिएको हुनाले सो मुद्दाको अनुसन्धान प्रहरीले नै गर्नुपर्ने कुरा भएको छ’ छलफलमा सहभागी एकजना उच्च अधिकारीले भन्नुभयो त्यसबारे राजस्वले ब्युरोलाई लेखेर पठाउने कुरा भएको छ ।’
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ ।
‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।
सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । सुन तस्करीमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक, थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङसहित १७ जना पक्राउ परेका हुन् ।