Prakash Adhikari August 4, 2023

काठमाडौं, १९ श्रावण । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

सन्यास लिने क्रममा उनले आफ्नो क्रिकेट करिअर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद पनि दिएका छन्।

इमर्जिङ एसिया कप र एसीसी कपको प्रशिक्षण खेल खेलेर राष्ट्रिय टोली फर्किएको भोलिपल्टै मल्लले सन्यास घोषणा गरेका हुन्।

नेपाली टोलीले श्रीलंका भएको इमर्जिङ नेशन्स कपमा सहभागी हुँदा ज्ञानेन्द्र टोलीमा परेका थिएनन्।
इमर्जिङ एसिया कपमा उनीसहित नेपालका सिनियार खेलाडीहरुलाई विश्राम गराइएको थियो।

इमर्जिङ एसिया कपपछि नेपाली टोलीले श्रीलंकामै प्रशिक्षण गरेको थियो। प्रशिक्षणमा मल्लसहितलाई पठाउने प्रयास क्यानले गरेको थियो। तर आफ्नो राहदानी बेलायत जाने भिसाका लागि पठाएकाले उनी श्रीलंका जान सकेनन्।

इमर्जिङ एसिया कप नखेलेका ज्ञानेन्द्रले जिम्बाबेमा भएको विश्वकप छनोटका केही खेलमा अवसर पाएका थिए। तर उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्।

नेपाली टोलीमा युवा खेलाडीहरुको प्रभाव बढ्दै गइरहँदा पूर्वकप्तान पारस खड्काले जस्तै मल्लले पनि सन्यास लिएका हुन्।

पारसले पनि २०७८ साउन १९ गते नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए। त्यसपछि त्यो जिम्मेवारी ज्ञानेन्द्रको काँधमा आएको थियो।
ज्ञानेन्द्रको क्रिकेट यात्रा

उनले सन् २००५ देखि उमेर समुहको क्रिकेट खेल्न सुरु गरेका थिए । मल्लले यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका थिए । उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए ।

सन् २००९ मा पारस खड्का क्रिकेट टोलीको कप्तान भएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका भएका थिए । २०२३ मा जिम्बावेको हरारे मैदानमा मल्लले आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीमा खेलेको खेल नै उनका लागि अन्तर्राष्ट्रिय खेलको अन्तिम खेल बन्यो।

 

Share Now

Leave a comment.