Prakash Adhikari August 4, 2023

काठमाडौं,१९ श्रावण। त्रिदेशीय तस्करीको सञ्जालबाट नेपालमा ११ महिनाको अवधिमा २२ हजार २ सय ७५ केजी शंकास्पद सामान आएको पाइएको छ ।

सोही शंकास्पद सामानमध्ये पछिल्लो समयमा बरामद सामानमा सुन भएको पुष्टि भएको छ । बरामद उक्त सुनको अनुपातमा यो अवधिमा आएको सामानमा १५ हजार केजीभन्दा बढी सुन भित्रिएको हुनसक्ने आशंका सुरक्षा स्रोतले गरेको छ ।

अहिलेको बजारमूल्यअनुसार उक्त सुनको मूल्य डेढ खर्ब रुपैयाँभन्दा बढी हुन आउछ ।

तस्करहरुले हङकङबाट सन् २०२२ सेप्टेम्बरदेखि २०२३ जुलाईसम्म एकै प्रकृतिको २२ हजार केजीभन्दा बढी सामान भित्र्याएको पाइएको हो । साउन २ गते रेडी ट्रेडर्स प्रालिका नाममा आएको १ सय ५५ केजी वजनको स्कुटरको ब्रेक सु कार्गो भन्सार पास भएर निस्किएपछि सिनामंगलमा आन्तरिक राजश्वको टोलीले सुन ओसार्ने ट्याक्सी समाउदा सुन बरामद भएको थियो । बरामद हुँदा एक क्विन्टल सुन भएको अनुमान गरिएको छ ।

सन् २०२२ सेप्टेम्बरदेखि २०२३ जुलाइ ३० सम्म हङकङबाट विभिन्न कम्पनीले २२ हजार २ सय ७५ केजी शंकास्पद सामान आयात गरेका छन् । विभिन्न ८ कम्पनी र संस्थाको नाममा भित्र्याइएका सामानमा १५ हजार किलो सुन भएको अनुमान राजश्व अनुसन्धान विभागले गरेको छ ।

रेडी ट्रेड प्रालिले सन् २०२३ मार्चमा २ सय ७४ किलो, २०२३ अप्रिलमा ८७ किलो, २०२३ मेमा १ हजार ४ सय ९०.५ किलो, २०२३ जुनमा २ हजार ४१ किलो, २०२३ जुलाईमा २ हजार ९ सय १८ किलो गरी जम्मा ६ हजार ८ सय १०.५ किलो सामान भित्र्याएको पाइएको छ ।

रेडी ट्रेडले धेरैजसो अटो पाट्र्स र दाह्री काट्ने सेभर मेसिन आयात गरेको पाइएको छ ।

त्यसैगरी दोलखा इलेक्ट्रिक सप्लायर्सले सन् २०२२ डिसेम्बरमा २ सय ४० किलो, २०२३ जनवरीमा ३ सय ६९ किलो, २०२३ फेब्रुअरीमा २ सय ३० किलो, २०२३ मार्चमा २ हजार २ सय ८६ किलो, २०२३ अप्रिलमा १ हजार ३ सय ६ किलो, २०२३ मेमा ३ हजार ४ सय ६८ किलो, २०२३ जुनमा २ हजार २ सय ३५ किलो, २०२३ जुलाईमा ३ हजार ५ सय ५२ किलो गरी जम्मा १३ हजार ६ सय २६ किलो सामान भित्र्याएको पाइएको छ ।

१ सय ५२ किलो बरामदी सामानमा १ सय केजी सुन बरामद भएको अनुपातमा ती सामानसंग ८ हजार ९ सय ६४.४७ किलो सुन आएको आशंका गरिएको छ । सो कम्पनीको नाममा धेरैजसो (यापिङ मेसिन, जेनेरेटर, इलेक्ट्रिक घडी र डाइनामो भित्रिएको छ । अधिकांश सामान ली–हिमालय होटल, लाजिम्पाट र तुङग्राम इन्टरनेसनल एकेडेमी, हात्तीगौडामा पुगेको पाइएको छ ।

त्यसैगरी अर्को कम्पनी समन लजेस्टिक प्रालिले सन् २०२२ देखि २०२३ सम्म ७ सय ५ किलो तौलको ब्रेक सु र दाह्री काट्ने मेसिन आयात गरेको छ ।

भन्सार विवरणअनुसार सन् २०२३ मार्चमा १ सय ९९ किलो, २०२३ अप्रिलमा १ सय १४ किलो, २०२३ मेमा १ सय ३३ किलो, २०२३ जुनमा ७६ किलो, २०२३ जुलाईमा १ सय ८३ किलो गरी जम्मा ७ सय ५ किलो सामान आयात गरेको देखिन्छ ।

साउन २ गते बरामद भएको १ सय ५५ किलो सामानमा १ सय किलो सुन बरामद हुँदा अनुपातमा ४ सय ६३.८१ किलो सुन आयात भएको देखिन्छ । यस कम्पनीले जसो दाह्री काट्ने सेभर, मेसिन र अटो पाट्र्स भित्र्याएको पाइएको छ ।

त्यसैगरी चौथो कम्पनी सरिता इलेक्ट्रिक सप्लायर्सले २०२३को जुलाई १८ र १९ तारिखमा त्यस्तै शंकास्पद सामान भित्र्याएको पाइएको छ । उक्त कम्पनीले सन् २०२३ जुलाई १८ मा ४२ किलो र २०२३ जुलाई १९ मा २८.५ किलो गरी जम्मा ७०.५किलो सामान भित्र्याएको छ ।
१ सय ५५ किलो बरामद गरेको सामानमा १ सय केजी सुन बरामद भएको अनुपातमा ४६.३८ किलो सुन आयात गरिएको देखिन्छ । उसले धेरैजसो इलेक्ट्रिक वाच आयात गरेको छ ।

माउन्ट एभरेस्ट ट्रेडर्सले पनि सन् २०२२–२०२३ सम्ममा हङकङकबाट त्यस्तै शंकास्पद सामान आयात गरेको छ । उक्त कम्पनीले सन् २०२२ अक्टोबरमा ३ सय ९ किलो, २०२२ नोभेम्बरमा ३ सय ९८ किलो र २०२२ डिसेम्बरमा २ सय ५४ किलो गरी ९ सय ६१ किलो सामान आयात गरेका छ ।

माउन्ट एभरेष्ट ट्रेडर्सले आयात गरेको सामान र यही साउन २ गते बरामद भएको १ सय ५५ किलो सामानमा १ सय किलो सुन बरामद भएको अनुपातमा ६ सय ३२.२३ किलो यो कम्पनी भित्र्याएको देखिन्छ । उसले धेरैजसो सेभर, अटो पाट्र्स, इलेक्ट्रोनिक घडी आयात गरेको छ ।

त्यसैगरी शंकास्पद सामान आयात गर्ने अर्को कम्पनी ट्रान्स ग्लोबलले हङकङबाट २०२२ जनवरीमा मात्रै एक पटक सामान आयात गरेको देखिन्छ । त्यस मितिमा उसले १ सय २ किलो सामान आयात गरेको थियो ।१ सय ५५ केजी बरामद भएको सामानमा १ सय किलो सुन बरामद भएको अनुपातमा ६७.१० केजी सुन आएको देखिन्छ । यो कम्पनीले धेरैजसो ब्याट्री आयात गरेको पाइएको छ । यी तथ्यलाई विश्लेषण गर्दा उल्लिखित कम्पनीहरूले हङकङबाट विभिन्न सामान आयात गर्दा करिब १५ हजार किलोसम्मको सुन भित्र्याएको हुनसक्ने आधार देखिएको छ ।

रेडी ट्रेडको नाममा हङकङबाट आएका सामान खोज्ने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले गत १० गते सोह्रखुट्टे र लाजिम्पाटमा छापा मार्दा दुईवटा सुन गाल्ने मेसिनसहित ब्रेक सुको खाली खोक्रो मात्र भएको ६६ कार्टुन सामान बरामद गरेको थियो भने १३ गते टोखाको कृषि फार्ममा रहेको तस्करीको सुन गाल्ने कारखानामा छापा मार्दा सुनचाँदी गाल्ने मेसिन दुई थानसहित (यापिङ मेसिन इलेक्ट्रिक घडी, जेनेरेटर, पानी तान्ने पम्प, दारी काट्ने मेसिन (सेभर) र ब्याट्री बरामद गरेको थियो ।

बरामद भएका ती सबै सामानको बाहिरी आवरण मात्र थियो र भित्री माग पूरै खोक्रो र खाली भेटिएपछि अनुसन्धानमा संलग्न अधिकारीहरूले ती सामानमा सुन हालेर ल्याइएको र यहाँ ल्याएपछि सुन निकालेर सामान र्याप गर्ने खोस्टा मात्र गोदाममा फालिएको आशंका गरेका छन् ।

१ सय ५५ किलो सामानमा १ सय किलो सुन ल्याउने गिरोहले २६ हजार केजीभन्दा बढी सामान आयात गर्दा कति सुन ल्यायो होला सहजै अनुमान लगाउन सकिन्छ।

यसअघि २०७४ सालमा केरुङ नाकाबाट ८८ केजी सुन तस्करी भएर आएको अवस्थामा काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको थियो तर तत्कालीन केरुङ भन्सारप्रमुख केदार पनेरुलगायतको टोलीलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्ने कुरा मिडियाले उठाए पनि त्यसलाई त्यति महत्व नै नदिई सामसुम पारिएको थियो ।

उक्त सुन भारतीय तस्कर नन्दकुमार पादुरङ मगरको भएको आशंका गरिएको थियो । तस्करले अर्को सहयोगी पक्षलाई कमिसन नदिएपछि प्रहरीलाई खबर गरेर पक्राउ गराएको थियो ।

२०६९ सालमा तत्कालीन एसएसपी रवीराज श्रेष्ठको साझेदारीमा मुरारीलाल गोयल जाल्मियाले गरेको डलर तस्करीको पनि ठोसरूपमा छानबिन नै नगरी सामसुम पारिएको थियो भने २०७४ सालमा गोरे भनिने चुडामणि उप्रेतीले कृष्णकुमार अग्रवाल, विमल पोद्दारलगायतको समूहसँग मिलेर गरेको ३३ किलो सुनको संगठित तस्करीको सम्बन्ध दीपक मल्होत्रासम्म पुगेपछि त्यतिकै सामसुम पारिएको थियो । उक्त काण्डका नाइके भनिएका गोरे भनिने चुडामणि उप्रेतिकी श्रीमती नर्वदा खरेलको नाता तात्कालीन कानून मन्त्री अग्नि खरेलसंग जोडिएको पनि चर्चा भएको थियो ।

भन्सारका कर्मचारीले जानीजानी सुन छाडेको एक्सरेको रिपोर्टले देखाएको छ र भन्सारप्रमुख अरुण पोख्रेल र विमानस्थल प्रहरीप्रमुख अर्जुनचन्द ठकुरीलाई बिदामा पठाएर संगठितरूपमा सुन तस्करी गरिएको घटनाको छानबिन गर्न सरकार तयार नहुनुले सुन तस्करीको सम्बन्ध सत्तासँग प्रत्यक्ष जोडिएको आशंका गर्न थालिएको छ ।

यसको साथै हङकङबाट सन् २०२२ सेप्टेम्बरदेखि २०२३ जुलाईसम्म माथि उल्लिखित र बरामद भएकै प्रकृतिका २६ हजार किलोभन्दा बढी सामान दोलखा इलेक्ट्रिक्स सप्लायर्स, रेडी ट्रेड्स प्रालि, सरिता इलेक्ट्रिक सप्लायर्स, सनम लजिक्टिक्स सप्लायर्स, माउन्ट एभरेष्ट ट्रेडर्स, ट्रान्स ग्लोबल लजिस्टिक सप्लायर्स, होटल ली हिमालय र टुम्ग्राम इन्टरनेसनल एकेडेमीको नाममा शंकास्पद सामान आएको भेटिएको छ ।

यीमध्येका कुनै कम्पनीका नाममा हप्तामा तीन पटकसम्म पनि सामान आएको छ र यी सामानका पछाडि कार्गो व्यापारमा जोडिएका केही व्याक्तिले चलाखीपूर्वक सहयोग गर्दै आएको भेटिएको छ भने तिनका पछाडि एक चिनियाँ युवती रहेको पाइएको छ ।

बेल्जियमका नागरिक दावा छिरिङ भनिने निमा लामाको सत्ताधारी नेताहरूसँग रहस्यमय सम्बन्ध र १४ गते उनको गिरफ्तारीपछि फेरिएको सुन तस्करीको अर्को मोड प्रभावकारी छानबिनविना टुङ्गोमा पुग्ने अवस्था देखिएको छैन ।(आर्थिक दैनिकबाट)

Share Now

Leave a comment.