कियभ(युक्रेन),२० श्रावण । क्रिमियानजिक काला सागरमा एक रुसी ट्यांकरमा युक्रेनले आक्रमण गरेको छ। सो जहाजमा ११ चालक दलका सदस्य थिए।
युक्रेनले समुद्री ड्रोनमार्फत सो आक्रमण गरेको हो। आक्रमणबाट जहाजको इन्जिन रुममा क्षति पुगेको रुसले जनाएको छ। कोही पनि घाइते नभएको उसको भनाइ छ।
युक्रेनले भने यसबारे केही बताएको छैन।
यो क्रिमियामा दुई दिनमा भएको यस्तो खालको दोस्रो आक्रमण हो। शुक्रबार भने कुनै क्षति नपुगेको रुसले बताएको थियो।
समुद्री ड्रोन भनेको साना, चालकविहीन डुंगा हो। यसले पानीमुनिबाट आक्रमण गर्छ।
यो आक्रमणमा ४५० किलो विस्फोटक पर्दा टीएनटी प्रयोग गरिएको स्रोतलाई उधृत गर्दै बीबीसीले जनाएको छ।
आक्रमण गरिएको ट्यांकरमा इन्धन हुनाले ठूलो विस्फोट भएको थियो। यो आक्रमण क्रिमिया पुलभन्दा २७ किलोमिटर दक्षिणमा भएको थियो।
युक्रेनले दुई महिनाअघि क्रिमिया समेत कब्जा गर्नेगरी प्रत्याक्रमण सुरु गरेको थियो। तर, प्रत्याक्रमणको गति सुस्त भएपछि युक्रेनी सेना दबाबमा छ।
उसको प्रत्याक्रमणलाई सघाउन पश्चिमा मुलुकहरुले ठूलो मात्रामा हतियार आपूर्ति गरेका छन्।
तर, युद्ध मैदानमा अपेक्षित नतिजा देखाउन नसकिरहेका बेला युक्रेनले रुसभित्र गुपचुप आक्रमणलाई बढावा दिएको देखिन्छ।
यसअघि राजधानी मस्कोमा अनेक पटक ड्रोन आक्रमण भइसकेको छ। एजेन्सी


















