इस्लामावाद(पाकिस्तान), २० श्रावण(बीबीसी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ।
आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आउनुभएको छ। उहाँलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ।
अदालतको फैसला आएको केहीबेर पछि नै लाहोरस्थित निवासबाट उहाँलाई पक्राउ गरिएको थियो।
पक्राउ पर्नुअघि रिकर्ड गरी सामाजिक सञ्जाल एक्समा रहेको खानको खाताबाट सार्वजनिक गरिएको एउटा भिडियो सन्देशमा उहाँले आफ्ना समर्थकहरूलाई भन्नुभएकोछ, “मेरो मात्रै एउटा अपिल छ, चुप लागेर घरमा नबस्नुस्।”
कुन मुद्दामा निर्णय सुनाइएको हो?
इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उहाँलाई दोषी पाएको हो।
न्यायाधीशले उहाँलाई तत्काल पक्राउ गर्न आदेश दिनुभएको थियो। खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उहाँको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताउनुभएको छ।
शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहनुभएको थियो।
अदालतले उहाँका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो। त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको थियो।
खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। उहाँको पार्टी तहरिक इ इन्साफले फैसलालाई पक्षपातपूर्ण भन्दै टिप्पणी गरेको छ र त्यस विरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने जनाएको छ।
पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताउनुभएको छ।
अदालतले फैसला सुनाइँदा एउटा भिड, जसमा कतिपय मुद्दा दायर गर्ने पक्षका वकिलहरूले पनि थिए, ले अदालतको भवन बाहिर इमरान खानमाथि चोरीको आरोप लगाउँदै नाराबाजी गरेका थिए।
गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उहाँलाई पक्राउ गरिएको थियो। सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उहाँ रिहा हुनुभएको थियो।
त्यसयता उहाँको दलले अधिकारीहरूबाट चरम दबाबको सामना गरिरहेको छ।
कैयौँ वरिष्ठ नेताहरूले दल छाडेका छन् र खान गिरफ्तार भएपछिको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौँ समर्थकहरू पक्राउ गरिएका छन्।
तोशाखाना मुद्दा के हो ?
सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहरायो।
निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखाना (सरकारी स्वामित्वको एक विभाग) बाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो।
इमरान खानले उक्त आरोपको खण्डन गर्नुभएको छ। उहाँमाथि प्रधानमन्त्री पदमा रहँदा उहाँले व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको आरोप लागेको छ।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उहाँलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।
पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।
।

कुनै पनि विदेश यात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।
तोशाखानामा राखिएका सामानलाई स्मृति चिन्हका रूपमा हेरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।
अदालतको फैसला अनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपियाँ भन्दा बढीका उपहारहरू विक्री गरेका थिए।
पकिस्तानको राजनीति
कुनै पनि विदेश यात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।
तोशाखानामा राखिएका सामानलाई स्मृति चिन्हका रूपमा हेरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।
अदालतको फैसला अनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपियाँ भन्दा बढीका उपहारहरू विक्री गरेका थिए।
इमरान खान
इमरान खान भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुनुहुन्छ।
राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उहाँ पाकिस्तानका प्रधानमन्त्री बन्न सफल हुनुभयो।
देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उहाँ प्रथम प्रधानमन्त्री समेत हुनुहुन्छ।
सन् १९९६ मा उहाँले आफ्नो दल पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) स्थापना गरे तापनि सन् २०१३ को आमनिर्वाचनबाट मात्र उक्त दल राष्ट्रिय रूपमा गम्भीर शक्तिका रूपमा देखिन थालेको हो।
‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने बाचासाथ सन् २०१८ को जुलाईमा उहाँ देशको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो।
तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उहाँको सरकार ढलेको थियो।
अब के हुनसक्छ ?
पाकिस्तानको राजनीतिमा सेनाले महत्त्वपूर्ण भूमिका खेल्छ। कतिपय बेला उसले सैन्य कुमार्फत सत्ता हातमा लिने गरेको सेनाले अरू बेला पर्दापछाडि अन्य भूमिका पनि खेल्ने गर्छ।
कैयौँ विश्लेषकहरूले सन् २०१८ पछि खान सत्तामा आउनुमा सेनाको सहयोग रहेको बताउने गरेका छन्।
विपक्षमा रहँदा उहाँ सेनाको एउटा कटु आलोचक रहँदै आउनुभएको छ।
विश्लेषकहरूले सेनाको लोकप्रियता घटिरहेको बताउने गरेका छन्।
पदबाट हटाइएपछि उहाँले अविलम्ब चुनाव गराइनुपर्ने माग राख्दै आउनुभएको छ।
अदालतले दोषी ठहर गरेपछि सम्भवतः खानलाई सधैँका लागि चुनाव लड्न अयोग्य घोषणा गरिन पनि सक्छ।
पाकिस्तानको संसद् अगस्ट ९ मा विघटन हुँदैछ। त्यसपछि कामचलाउ सरकार चुनावसम्म सत्तामा रहनेछ।
निर्वाचनको मिति तय गरिएको छैन। तर संवैधानिक रूपमा नोभेम्बर महिनाको प्रारम्भसम्ममा चुनाव सम्पन्न भइसक्नुपर्छ।



















