Prakash Adhikari August 7, 2023

ब्राम्पटन(क्यानडा), २१ श्रावण (एजेन्सी) । नेपाली क्रिकेट टोेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स ग्लोबल टी २० क्यानडा २०२३ को च्याम्पियन बनेको छ ।

आइतबार सम्पन्न खेलमा नेपालका पूर्वकप्तान सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई पाँच विकेटले हराउँदै टाइगर्सले उपाधि जितेको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो ।

आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै खेल जिताएका थिए । त्यसअघि दोस्रो बलमा रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए ।

आन्द्रे रसेल ६ बलमा १चौका र २ छक्कासहित २० रनमा नट आउट रहे । दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रन बनाए ।

शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । रदरफोर्ड नै खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए । क्रिस लिन ३१ र दीलप्रित सिंह १४ रनमा आउट भएका थिए ।

सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन् । इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा नटआउट रहेपनि त्यो उपाधि जित्न पर्याप्त भएन ।

आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए । ओमान आयन र जतिन्दर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

 

खेलमा टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।(स्रोतः हाम्रो खेलकूदबाट)

Share Now

Leave a comment.