
काठमाडौं, २३ श्रावण । सोमबार रातिदेखि अविरल परेको पानीका कारण आएको पहिरोले देशका मुख्य राजमार्गहरु अवरुद्ध बनेका छन् ।
पहिरोले यातायात बन्द भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।
कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाँै सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । । वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।
घोराही–लमही सडक अवरुद्ध
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो ।
सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।