काठमाडौँ ,२६ श्रावण । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेका छन्।
साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले नियमित अवरोध गरिरहेको अवस्थामा शुक्रबारको बैठकमा सत्ता पक्ष पनि उभिएको हो।
बैठकको सुरुमा सबै दलका सांसदहरुले पालैपालो आफ्ना भनाइ राखेका थिए। त्यसपछि अध्यक्ष तिमल्सिनाले विरोधमा उत्रिएको एमालेका सांसदहरुलाई बोल्न समय दिन चाहनुभएको थियो तर सत्ता पक्ष पनि त्यसको विरोधमा उभिएपछि बैठक अवरुद्ध भएको छ।
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले एमालेका सदस्यहरुलाई बोल्ने समय दिएपछि त्यसको विरोधमा प्रतिपक्षी सांसदहरु पनि खडा भएका हुन्।
सत्ता र प्रतिपक्ष दुवै उभिएर बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले धेरै विधेयकहरु छलफलका लागि थाँती रहेकाले नियमित कारबाही अघि बढाउन आग्रह गर्नुभयो।
उहाँले भन्नुभएको थियो, ुजसरी एकसाथ उभिनु भएको छ, त्यसैगरी बसेर बैठकको कारबाही अघि बढाउन सघाइदिनुस्।ु
तर अध्यक्ष तिमल्सिनाको आग्रहलाई दुवै पक्षले बेवास्ता गरेका छन्। अध्यक्ष तिमिल्सिनाले थाँती रहेका केही विधेयकहरुको टुंगो गरेपछि बैठक विस्तारै अघि बढाउँदा पनि फरक नपर्ने कुरा राख्नुभएको थियो ।


















