काठमाडौं, २८ श्रावण । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताउनुभएको छ।
आइतबार नयाँ बानेश्वरमा संसदीय दल बैठकमा बोल्दै सांसद कोइलालाले सिआइबीले भन्दा पनि उच्चस्तरीय समितिबाट सुन प्रकरण छानबिन गरिनुपर्ने बताउनुभयो।
‘प्रचण्डजीको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर जानहुन्छ, सुन समातिन्छ र त्यसपछि घटनाहरू पनि हेरौं,’ उहाँले भन्नुभयो, ‘सिआइबीलाई छानबिन गर्न किन दिनुपर्यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भन्नुहुन्छ। त्यसैले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’
उहाँले सुन कुन देशबाट नेपाल भित्रिएको हो र ती देशहरूलाई सरकारले पत्राचार गरेर बुझ्यो कि बुझेन भन्ने प्रश्न गर्नुभयो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ। ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको होरु त्यतातर्फ पनि सोच्नुपर्छ,’ कोइरालाले भन्नुभयो।
फरक प्रसंगमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय राज्य दिने कुरा बोलेको बताउनुभयो।
आदिवासी जनजाति दिवसका दिन प्रधानमन्त्रीले माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौं भनेको कोइरालाको भनाइ थियो।
तर प्रधानमन्त्रीको यो धारणामाथि कांग्रेसकले अहिलेसम्म खेद व्यक्त नगरेकोमा आफूलाई आश्चर्य लागेको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री भएर यसरी बोल्ने अधिकार उहाँलाई छैन,’ कोइरालाले भन्नुभयो ।
साथै उहाँले लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले विवादित व्यक्ति ल्यारक्याल लामालाई नियुक्त गरेकोमा पनि विरोध गर्दै भन्नुभयो, ‘यस्ता निर्णयको भारी कांग्रेसले बोक्दैन ।’


















