Prakash Adhikari August 15, 2023

नयाँदिल्ली(भारत), ३० श्रावण । भारतले आज आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाइरहेको छ ।

भारतले सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको दिनको स्मरणमा हरेक वर्ष अगस्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै हुनुहुन्छ ।
सन् २०१४ मा सत्तामा आउनुभएका भारतीय जनता पार्टीका नेता मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

प्रधानमन्त्री मोदीले ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई दिनुभएको छ । उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द  ! ’

स्वतन्त्रता दिवसको कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी सुरक्षाकर्मीहरु शहरभर खटाइएको छ ।

आइतबार मध्यरातदेखि नै ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाइएको छ । प्रान्तीय राजधानीमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ ।

भारतका अन्य ठूला शहरहरुमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Share Now

Leave a comment.