Prakash Adhikari April 20, 2018

 

काठमाडौं, ७ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले प्रस्ताव गरेको विधान हुबहु पारित गरेको छ । हिजो (बिहीबार) काठमाडौंमा भएको साधारणसभाले विधान हुबहु पारित गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

‘हाम्रा केहि असहमति भएपनि क्यानमाथिको निलम्बन हटाउनका लागि विधान हुबहु पास गरेका हौं,’ महासचिव प्याकुरेलले भने ।

साधारणसभामा क्यानका ३७ जिल्लाका प्रतिनिधि र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति थियो । साधारणसभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो ।

अब क्यानको निर्वाचनका लागि ५ सदस्यीय मनिटरिङ समिति बन्नेछ । समितिमा ३ जना सदस्य आइसीसीका तर्फबाट हुनेछन् भने निर्वाचित क्यान र परिषद्का १–१ जना सदस्य रहनेछन् ।

यसअघि निर्वाचन भइसकेका जिल्लालाई मान्यता दिने बताइएको छ । विवाद र उजुरी परेका जिल्लामा भने मनिटरिङ समितिले छानबिन गर्नेछ । विवादित जिल्लामा समितिले मान्यता दिन वा फेरि निर्वाचन गर्न निर्देशन दिन सक्नेछ । यसअघि ३७ जिल्लाको निर्वाचन भएको थियो । ललितपुर र भक्तपुरमा जिल्ला क्रिकेट संघको भने निर्वाचन हुन सकेको थिएन ।

जिल्लाको निर्वाचनपछि अब प्रदेश र केन्द्रीय समितिको निर्वाचन हुनेछ । केन्द्रीय समितिको निर्वाचनपछि आगामी जुलाईमा बस्ने आइसीसीको बैठकमा क्यानमाथि लगाएको निलम्बनको विषयमा प्रस्ताव पेश हुनेछ ।

आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसीसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ ।

Share Now

Leave a comment.