Prakash Adhikari September 6, 2023

किमाथाङ्का (सङ्खुवासभा), २० भदौ : पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । आज सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताउनुभएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद बुधबार भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रममा सरिक हुनुभएको थियो । उहाँले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसंगै संयुक्त रुपमा विद्यालयको उद्घाटन गर्नुभएको थियो ।

यो क्याम्पस अरुण तेस्रो जलविद्युत आयोजनाको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण भएको हो । भारतको सतलज जलविद्युत निगमले संखुवासभा जिल्लामा९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पराष्ट्रमन्त्री साउदले किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने बताउनुभयो । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा किमाथाङ्का नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताउनुभयो ।

ऐतिहासिक किमाथाङ्का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताउनुभयो । किमाथाङ्कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताउनुभयो ।

किमाथाङ्का नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सङ्कट भएको छ ।

Share Now

Leave a comment.