Prakash Adhikari September 6, 2023

 

काठमाडौं, २० भाद्र ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीले आगामी साता सरकारी वकिललाई प्रतिवेदन बुझाउने गरी काम गरिरहेको अधिकारीहरूले बताएका छन्।

केही उच्च अधिकारी र सत्तारूढ दलका केही नेताका परिवारका सदस्यहरू समेत मुछिएको उक्त प्रकरणमा अहिलेसम्म कैयौँ व्यक्तिसँग बयान लिइसकिएको र दुई दर्जन जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई “हिरासतमा राखेर तथा अन्य कतिपयलाई बयान लिएर वा बयान कागज गराएर अनि केहीलाई निगरानी मात्र गरेर” अनुसन्धान जारी राखिएको प्रहरी अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायत भन्नुहुन्छ, “यो वा ऊ भन्नु भन्दा पनि त्यसमा जोडिएर आएका सबैलाई आवश्यकताअनुसार अनुसन्धान र निगरानी गर्ने काम भइरहेको छ। अनुसन्धान जारी छ।”

उक्त सुन हङ्‌कङबाट आएको विमानमा ल्याइएको बताइएको छ।

पूर्वउपराष्ट्रपति र पूर्वसभामुखका छोराहरूसँग बयान

त्यसै क्रममा सोमवार सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ।

सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका व्यक्तिसँग सम्बन्ध रहेको देखिएकाले उनको बयान लिइएको प्रहरी अधिकारीहरू बताउँछन्।

यसअघि गत साता पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको भनिएको अर्को सुन प्रकरणमा पक्राउ पर्नुभएको छ।

उनी अहिलेको चर्चित ६०।७ केजी सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको ठानेर अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिए।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पनि सुन तस्करी प्रकरणमा जोडिएको हुनसक्ने ठानेर अनुसन्धान भइरहेको बताइएको छ। थापा पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुनुहुन्छ।

प्रहरीका अनुसार प्रतीक थापा अझै फरार हुनुहुन्छ।

अहिलेसम्म प्रहरीले के गर्‍यो ?

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार अहिलेसम्म प्रहरीले झन्डै १०० जनासँग बयान लिएको वा बयान कागज गराएको छ।

यो प्रकरणमा २६ जना पक्राउ परेका छन् र उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ।

कतिपय उच्च अधिकारी र भूतपूर्व उच्च अधिकारीहरूलाई निगरानी गरेर पनि अनुसन्धान भइरहेको अधिकारीहरूको भनाइ छ।

उक्त सुन तस्करी प्रकरणको अनुसन्धान “सही दिशामा अघि बढिरहेको” सीआईबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बीबीसीलाई बताउनुभएको छ।

उहाँका अनुसार अहिले प्रहरीले विभिन्न प्राविधिक पक्षको विश्लेषण र “विशेषज्ञहरूको राय लिने” कार्य पनि गरिरहेको छ।

त्यस्तै सम्बन्धित विभिन्न निकायहरूसँग “जानकारी लिने कार्य” पनि जारी छ।

प्रहरीले प्रतिवेदन कहिले बुझाउँछ ?

सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिहरूलाई प्रहरीले सङ्गठित अपराधअन्तर्गत मुद्दा अघि बढाउने बताइएको छ।

सङ्गठित अपराध ऐनअन्तर्गत ६० दिनभित्र सरकारी वकिलले जिल्ला अदालतमा मिसिल बुझाइसक्नुपर्ने भएकाले सोहीअनुसार अनुसन्धानको गति अघि बढाइएको अधिकारीहरूको भनाइ छ।

“हामीले अनुसन्धान सही ढङ्गले अघि बढाएका छौँ र यो साताभित्र अनुसन्धान सकेर सम्भवतः आगामी आइतवार हामी प्रतिवेदन बुझाउँछौँ,” बज्राचार्यले भन्नुभयो।

प्रहरी प्रवक्ता कडायतले पनि आगामी साता प्रतिवेदन बुझाइसक्ने लक्ष्य रहेको बताउनुभएको छ।

“राजस्व अनुसन्धानले गत साउन ३ गते म्याद थपेको हो। त्यसको ६० दिनभित्र अदालतमा सरकारी वकिल कार्यालयले अदालतमा मिसिल पेस गरिसक्नुपर्छ। त्यसैले अर्को सातातिर प्रतिवेदन बुझाउने गरी अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो ।

नेपालमा सुन तस्करी

यो तथ्याङ्कमा दुईपाङ्ग्रे सवारीसाधनको ब्रेक शू भित्र लुकाएर ल्याइएको झन्डै ६० केजी र भेपमा लुकाएर ल्याइएको आठ केजी सुन समाविष्ट छैन

६०.७ केजी सुन तस्करी प्रकरण

अधिकारीहरूका अनुसार रेडी ट्रेड प्रालिले बाइकका १६० थान ब्रेक शू आठवटा प्याकेटमा ल्याएको थियो र त्यसको तौल १४५ केजी थियो।

गत असार ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार गोदाममा पुगेको त्यो सामान साउन २ गते भन्सार पास भएर निस्किएको थियो।

लगत्तै राजस्व अनुसन्धान विभागको टोलीले सुनसँगै ट्याक्सीचालक र केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

भन्सार कार्यालयका अधिकारीहरूका अनुसार ३२० थान ब्रेक शूमा सुन लुकाएको पाइएको थियो।

सुरुमा एक क्विन्टल सुन तस्करी भएर आएको भनिए पनि पछि नेपाल राष्ट्र ब्याङ्कले गालेर तौल लिँदा सुनको कुल तौल ६०.७ केजी रहेको बताइयो।

राजस्व अनुसन्धान विभागले बरामद गरेर सुन बुझाएको कैयौँ सातापछि त्यसलाई जोखेर वास्तविक परिणामबारे विवरण सार्वजनिक गरिएको थियो।

पछिल्लो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोललाई सहयोगका लागि पत्राचार गरेको सीआईबी प्रमुखले बीबीसीसँग पुष्टि गर्नुभएको छ ।

पछिल्लो ६० केजी सुन तस्करी प्रकरणमा ‘ठूलै अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने’ अनुमान भइरहँदा सीआईबीले उक्त कदम चालेको हो।

झन्डै एक महिनाअघि भन्सार छली गरी ल्याइएको सुन बरामद प्रकरणबारे राजस्व अनुसन्धान विभागपछि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।

पछिल्लो तस्करी प्रकरणबारे सूक्ष्म अनुसन्धान भइरहेको भन्दै उसले कुनै सूचना, तथ्य वा प्रमाण भए उपलब्ध गराउन सर्वसाधारणमा अपील समेत गरेको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.