काठमाडौंँ, ८ कार्तिक(रासस) । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा अध्यक्ष दाहालले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।
भेटमा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको थियो ।
“सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ”–प्रधानमन्त्रीसँग अध्यक्ष दाहालले भनेको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्रीले निर्वाचनको विषयमा कुनै पनि दुविधा नराख्न आग्रह गरेका थिए ।
यस्तै सो अवसरमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमा समेत छलफल भएको थियो ।