
काठमाडौं, १० बैशाख । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ।
पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरूपता दिई आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले जानकारी दिए।
गुरुङका अनुसार नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी)को बैठक आयोजना गरिएको हो। ती समितिको बैठकको तयारी स्वरूप आइतबारसमेत आवश्यक छलफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार यो गभर्निङ बडीको छैटौँ बैठक हो भने संयुक्त कमिटीको भने चौथो बैठक हो। करिब दुई वर्षपछि गभर्निङ बडीको बैठक बस्न लागेको हो। सन् २०१६ डिसेम्बर २२ मा त्यस्तो बैठक बसेको थियो। सोमबारदेखि सुरु हुन लागेको बैठकले विशेषगरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ। आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच कुरा मिल्न नसक्दा विस्तृत परियोजना प्रतिवेदनले अन्तिम रूप पाउन सकेको छैन।
प्रमुख कार्यकारी अधिकृत गुरुङले आजदेखि सुरु हुने बैठकमा प्राधिकरणको प्रशासनिक, आर्थिक तथा कानुनी विषयमा छलफल गर्ने र सहमति जुटाउने कार्यसूची रहेको छ। त्यस्तै, विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा समेत आवश्यक सहमति जुटाउन अर्को बैठकको मितिसमेत तय गर्ने विश्वास लिइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म गरेको भारतको राजकीय भ्रमणमा क्रममा पञ्चेश्वर आयोजनाको विषयमा कुराकानी हुने चर्चा चलेको थियो। भारतीय कम्पनी बापकोसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक सहमति हुन सकेको छैन।
भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने विषय उठाउँदै आएको छ भने नेपालले भने समानताका आधारमा पानी उपलब्ध हुने विषय अगाडि सार्दै आएको छ।
विगत २३ वर्षदेखि आयोजना चर्चामा आए पनि कुनै ठोस प्रगति हुन सकेको छैन। यस पटकको बैठकलाई फलदायी बनाएर आयोजना अगाडि बढाउने सोचाइमा प्राधिकरण रहेको बताइएको छ।