न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ११ असोज । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि निश्चित जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ।
भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भन्नुभएको हो।
क्यानडाले उक्त घटनामा भारतीय राज्यको संलग्नताबारेका विश्वासिला आरोपको आफूले अध्ययन गरिरहेको बताएपछि दुई देशबीचको तनाव चर्किएको छ।
भारतले उक्त दाबीलाई उदेकलाग्दो भन्दै खारेज गरेको थियो।
भारत सरकारले क्यानडालाई जुनसुकै सान्दर्भिक आरोपबारे अनुसन्धान गर्न आफूहरू खुला रहेको भनेको विदेश मन्त्री जयशङ्करले बताउनुभयो। तर उहाँले उक्त हत्या प्रकरणमा भारतको भूमिका नरहेकोमा जोड दिनुभयो।
मङ्गलवार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै भारतीय विदेश मन्त्री जयशङ्करले भन्नुभयो, “पहिलो, हामीले क्यानडेलीहरूलाई यस्तो गैरन्यायिक हत्या भारत सरकारको नीति नरहेको भनेका छौँ।”
“दोस्रो, त्यसो भनिरहेका क्यानडेलीहरूलाई उनीहरूसँग केही निश्चित, केही सान्दर्भिक जानकारीहरू छन् भने त्यसबारे हामीलाई पनि जानकारी दिनुहोस्( हामी त्यसबारेमा सोधखोज गर्नका लागि तयार छौँ।”
हरदीप सिंह निज्जरको गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर गोली हानी हत्या भएको थियो।
भारतले स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्दै पश्चिमा राष्ट्रमा हुने गतिविधिप्रति कडा प्रतिक्रिया जनाउने गरेको छ।
भारतले यसअघि निज्जरलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो। निज्जरका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।
भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ।
भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहका साथ उत्कर्षमा पुगेको थियो।
जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ।
तर सिखहरूको उल्लेख्य बसोबास रहेका क्यानडा, अस्ट्रेलिया र यूकेजस्ता देशमा त्यो अझै चर्चित छ।
यसैबीच जयशङ्करले क्यानडालाई भारतले देशबाहिर रहेर काम गर्ने पृथकतावादी सङ्गठित अपराध र नेतृत्वबारे कैयौँ सूचना दिएको जनाउनुभएको छ ।
“सन्दर्भबिनाको परिदृश्य अपूर्ण हुन्छ”, उहाँले भन्नुभयो।
“तपाईँले के पनि मान्नुपर्छ भने पछिल्ला केही वर्षमा क्यानडाले पृथकतावादी शक्तिहरूसँग सम्बन्धित कैयौँ सङ्गठित अपराध, हिंसा, अतिवाद देखेको छ, ती निकै जेलिएका छन्।”
जयशङ्कर थप्नुहुन्छ, “ठूलो सङ्ख्यामा सुपुर्दगीका अनुरोधहरू भएका छन्। त्यहाँ पहिचान गरिएका आतङ्कवादी नेताहरू छन्।”
यस महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडाको गुप्तचर निकायहरूले निज्जरको हत्यामा ूभारत सरकारका एजेन्टहरूूको संलग्नताबारे अनुसन्धान गरिरहेको बताएपछि दुई देशबीचको विवाद सतहमा देखा परेको थियो।
क्यानडाको आरोपपछि भारतले एउटा कडा विज्ञप्ति जारी गरेर उसले ‘क्यानडामा अतिवादी तत्त्वहरूको निरन्तरको भारतविरोधी गतिविधिबारे जोडदार चासो’ रहेको जनाएको थियो।
जुनक्रममा उसले क्यानडालाई ‘पृथकतावादलाई प्रश्रय दिएको र भारतीय कूटनीतिज्ञहरूविरुद्ध हिंसा उक्साएको’ आरोप लगाएको थियो।
त्यसयता दुवै देशले एक(एकजना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गरेका छन्।
गत बिहीवार भारतले क्यानडामा रहेका आफ्ना कूटनीतिक नियोगमा सुरक्षा चिन्ता रहेको बताउँदै क्यानडाका नागरिकहरूका लागि भिसा सेवा रोकेको थियो।
मङ्गलवार जयशङ्करलाई अमेरिका, ब्रिटेन, क्यानडा,अस्ट्रेलिया र न्यूजील्याण्ड सम्मिलित फाइभ आइज सञ्जालका सदस्यहरूमाझ आदानप्रदान गरिएको गुप्तचरी सूचनाबारे समेत सोधिएको थियो।
क्यानडास्थित एक अमेरिकी कूटनीतिज्ञले गत साता फाइभ आइज सदस्यहरूबीच आदानप्रदान भएका गुप्तचर सूचनाहरूले प्रधानमन्त्रीले जसरी सार्वजनिक अभिव्यक्ति दिए त्यसकालागि क्यानडालाई सहयोग पुर्याएको पुष्टि गरेका थिए।
त्यस सन्दर्भमा भारतीय विदेश मन्त्री जयशङ्करले भन्नुभएको थियो, “म फाइभ आइजको हिस्सा होइन, म एफबीआइको हिस्सा झनै होइन। त्यसैले मलाई लाग्छ तपाईँले गलत मानिसलाई प्रश्न गर्नु भएको छ।”
यसबीचमा अमेरिकाले क्यानडाले लगाएका आरोपमाथि ‘एउटा पूर्ण र निष्पक्ष अनुसन्धान’लाई आफूले समर्थन गर्ने जनाएको छ।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका एकजना प्रवक्ता म्याथु मिलरले भन्नुभएको थियो, “क्यानडाले आफू त्यसो गर्न प्रतिबद्ध रहेको जनाएको छ, र हामी भारत सरकारले त्यसमा सहकार्य गर्नुपर्छ भन्नेमा हामी विश्वास गर्छौँ।”


















