Prakash Adhikari September 29, 2023

फणीन्द्र दाहाल / बीबीसी संवाददाता

काठमाडौं, १२ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरेपछि सत्ता सम्हालेयता विशेषगरी शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गर्नुभएको छ।

गएको जुनमा भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वरको मन्दिर पुगेर आफ्नो धार्मिक यात्रा सुरु गर्नुभएका प्रधानमन्त्री दाहालले त्यसलगत्तै पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको थियो ।

प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहनुभएका प्रचण्डले आफ्नो यसपटकको चीनभ्रमणमा मानसरोवरलाई पनि प्रमुख गन्तव्य बनाउनुभयो।

त्यसो गरेर उहाँले नेपालभित्रका ुहिन्दु धर्मावलम्बी र हिन्दुवादी पार्टी सत्तामा रहेको भारतको संस्थापन पक्षलाई सन्देश दिनखोजेकोु अर्थ लगाइएतापनि कैयौँ विरोधाभासपूर्ण व्यवहारका कारण भ्रमणको उपादेयताप्रति विज्ञहरू आशङ्का व्यक्त गर्छन्।

मानसरोवर यात्राको साइत

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सेप्टेम्बर १६ मा न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाल अमेरिकाबाट सोझै चीन पुग्नुभएको थियो।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एशियाली खेलकुद भइरहेको शहर हान्झाउमा भेटवार्ता गर्नुभएका प्रधानमन्त्री दाहालले बेइजिड. पुगेर समकक्षी ली चियाङसँग भेटवार्ता गर्नुभएको थियो।

ती भेटवार्तापछि चीनको अर्को शहर चोङचिङ घुमेर तिब्बत पुग्नुभएका नेपाली प्रधानमन्त्रीले बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको हो।

हिन्दु र बौद्धमार्गी दुवैले पवित्र तीर्थस्थलका रूपमा मान्ने मानसरोवरको उहाँको यात्रालाई विगतकै धार्मिक यात्राहरूको निरन्तरताका रूपमा पनि कतिपयले हेरेका छन्।

देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे ‘धार्मिक स्थलहरूको भ्रमण गरेर प्रचण्डले आफू हिन्दु विरोधी नभएको सन्देश प्रवाह गर्ने कोसिस’ गरिरहेको ठान्नुहुन्छ ।

उहाँले बीबीबीसँग भन्नुभएको छ, “उहाँले म माओवादी र धर्म निरपेक्ष भएपनि हिन्दु विरोधी होइन भनेर देखाउन चाहनुभएको छ। देशभित्र जुन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा विभिन्न कुराहरू उठिराख्छ, त्यसमा एउटा निरन्तरता छ र कुनै विन्दुमा त्यो उर्लिन सक्छ भन्ने उहाँलाई थाहा छ, त्यही भएर हिन्दु मुद्दामा प्रवेश गरेर राजतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास पनि हो।”

नेपालमा हिन्दुवादी मुद्दा पनि राजनीतिको एउटा बलियो अंश बन्न पुगेको घिमिरे जस्ता कैयौँ विश्लेषकहरू ठान्छन्।

सम्पादक घिमिरले थप्नुभयो, “ उहाँले आफूलाई त्यो मेरो प्रतिवद्धता नै हो। म भारतमा महाकालेश्वरमा पनि गएँ। नेपालमा पशुपतिनाथमा पनि गएँ र चीनमा गएको बेला त्यहाँ पनि भनेर एक किसिमले भारतका शिवलाई, नेपालका शिवलाई र चीनका शिवलाई सम्बोधन गर्ने कोसिस गरेको देखाइरहनुभएको छ। अहिले ॐ लगायत विभिन्न कुराहरू आइरहेका छन्। धर्मको विरुद्ध वा हिन्दु धर्म विरुद्ध उभिएको भन्ने जुन सन्देश छ त्यसलाई उहााँ खण्डन गर्न चाहनुहुन्छ।”

अध्यात्मबारेका जानकारको बुझाई

धार्मिक मामिलाका कैयौँ जानकारहरू ‘धार्मिकस्थलको भ्रमणको विरोध गर्नुपर्ने कुनै कारण आफूहरूले नदेखेको भएपनि प्रधानमन्त्री दाहालको विगतका व्यवहारहरूका कारण उहाँलाई पत्याइहाल्ने अवस्था आफूहरूले नदेखेको’ बताउँछन्।

हिन्दु धर्म तथा आध्यात्मका बारे जानकार चिन्तामणि योगी ुतीर्थस्थल दर्शन गर्दा एउटा र त्यसपछि अर्को व्यवहार गर्नु डरलाग्दो भएकोु ठान्नुहुन्छ।

उहाँले भन्नुभयो, “भारतको तीर्थचाहिँ प्यारो हुने, कैलाशको मनसरोवर प्यारो हुने। त्यहाँ गएर म धार्मिक हुँ, आध्यात्मिक हुँ र हिन्दु संस्कृति, संस्कार, सनातन परम्परा र सम्पदासँग सम्बन्धित हुँ भनेर भन्ने अनि देशको प्रमुखका नाताले मेरो दायित्व छ भनेर सिद्ध गर्न खोज्ने गरेको देखिन्छ।”

योगी थप्नुहुन्छ “तर देशभित्र चाहिँ गाई काण्डका विषयमा मौन रहनु र त्यसलाई समुचित तरिकाले सम्बोधन गर्ने कोसिस नगर्नु, ॐ शब्दका बारेमा देखिएको विवादबारे बोल्न नसक्नु यो पाखण्डको राजनीति कहिलेसम्म गर्ने हो त्यो चिन्ताको विषय हो।”

उहाँले प्रधानमन्त्रीले धार्मिक स्थलहरूमा गरेका भ्रमणहरूको प्रतिविम्ब व्यवहारमा आउनुपर्ने भन्दै त्यो नआउँदा जनता अन्योलमा परेको बताउनुभयो।

उहााले दक्षिण एशियामा कैयौँ देशहरूका नाम समेत स्पष्ट नभएको बेला आफ्नो मौलिक पहिचान सहित अस्तित्वमा नेपाल रहेको भन्दै ‘देशको सनातन परम्परा जोगाउनु राष्ट्रिय दायित्व’ भएको बताउनुभयो।

माओवादी केन्द्रका नेताहरुको भनाई

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्बद्ध एक जना नेता युवराज चौलागाईँले प्रधानमन्त्रीको मानसरोवर यात्रालाई सद्भाव र पर्यटकीय भ्रमणका रूपमा हेरिनुपर्ने बताउनुभयो।

उहाँले थप्नुभयो, “यसलाई सद्भावना भ्रमणका रूपमा मात्रै हेर्नुपर्छ। यसलाई नेपालमा धर्मको राजनीति आयात हुँदैछ अथवा भारतीय जनता पार्टीलाई अलिकति सहज हुने गरी माओवादीले आफ्नो धारणा फेर्दैछ कि भन्ने हिसाबले केही मानिसहरूले टिप्पणी गर्न खोजेको सुन्छु म। मेरो विचारमा त्यो प्रधानमन्त्रीको उद्देश्य होइन।”

चौलागाईँले आफ्नो दल कुनै पनि धर्मको विरुद्धमा नभएको भन्दै संविधानमा भएको व्यवस्थाप्रति आफूहरू प्रतिवद्ध रहेको बताउनुभयो।

नेपालको संविधानले देशलाई धर्म निरपेक्ष राष्ट्र कायम गरेको छ। संविधानले धर्मनिरपेक्षताको व्याख्या गर्ने क्रममा त्यसलाई सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने भन्दै परिभाषित गरेको छ।

माओवादी केन्द्रका नेता चौलागाईँ थप्नुहुन्त, “हामी हिन्दु वा अरू कुनै धर्मको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ भन्ने अडान हाम्रो पार्टी र प्रधानमन्त्री दुवैको हो। यदि माओवादीलाई हिन्दु धर्मको विरोधी वा उहाँलाई हिन्दु धर्मको विरोधी भनेर चित्रण गर्न खोजिएको हो भने त्यसको विरुद्धमा म छैन भनेर उहाँले भन्न खोज्नुभएको हुनसक्छ जुन जायज पनि हो। तर कुनै पन्थ वा धर्ममा लिएर जान वातावरण बनाउन खोजेको भन्ने सही होइन।”

पछिल्लो जनगणनालाई आधार मान्ने हो भने नेपालको कूल जनसङ्ख्याको झन्डै ८२ प्रतिशत हिन्दु धर्म मान्नेहरू रहेका छन्।

बीबीसीले यसै वर्ष प्रकाशित गरेको एउटा अनुसन्धानात्मक समाचारमा नेपालमा विश्वमै द्रुत गतिमा इसाई धर्ममा धर्मान्तरण भइरहेका पाइएको थियो।

यसै वर्ष अमेरिकी सरकारको विदेशमन्त्रालयले धार्मिक स्वतन्त्रतासम्बन्धी आफ्नो प्रतिवेदनमा ुभारतको सत्तारूढ दलसँग आबद्ध दक्षिणपन्थी धार्मिक समूह सम्बद्ध संस्थाहरूले नेपालका दलहरूका केही प्रभावशाली नेताहरूलाई हिन्दु राज्यको पक्षमा वकालत गर्न पैसा दिने गरेकोु भन्ने प्रसङ्ग उल्लेख गरिएको थियो।

पछिल्ला महिनाहरूमा धार्मिक सद्भावलाई समेत चुनौती दिने हिसाबमा कतिपय तनावपूर्ण परिस्थितिहरू वृद्धि हुन थालेकोु भन्दै त्यसलाई लिएर चिन्ताहरू व्यक्त भैरहेका छन्।

विशेष गरी तराईका जिल्लामा यस्ता घटनाहरू सतहमा आएपछि त्यसलाई नियन्त्रणमा लिन सतर्कता अपनाउन निर्देशन दिइएको केही समयअघि गृहमन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताउनुभएको थियो।

असोज महिनाको पहिलो सातामात्रै विभिन्न धर्म सम्बद्ध २४ संङ्घसंस्थाहरूले कुनै पनि धार्मिक समुदायको आत्मसम्मानमा चोट पुग्ने गतिविधि नगर्न अनुरोध गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेका थिए।

हालैका महिनाहरूमा भारतको सत्तारूढ दल निकट राष्ट्रिय स्वयंसेवक संङ्घसमेत जोडिएर नेपाललाई धार्मिक राजनीतिमा विभाजित तुल्याउने प्रयासहरू भएका भन्ने विवरण बाहिर आएका छन्।

पत्रकार युवराज घिमिरे भन्नुहुन्छ, “राज्यले धर्मनिरपेक्षता भनेको के हो परिभाषित गर्नुपर्छ। धर्म निरपेक्षतामा धर्म परिवर्तन वा अर्को धर्मलाई निषेध गर्न पाइन्छ कि पाइँदैनरु अल्पसङ्ख्यक धर्मलाई कमजोर बनाउन पाइन्छ कि पाइँदैन ? यसबारे प्रस्ट कुरा गर्नुपर्छ।”

पञ्चायतकालको एउटा प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो, “जब २७(२८ सालतिर रौतहटमा पहिलो पटक धार्मिक दङ्गा भयो, बहुसङ्ख्यक हिन्दुहरूले मुसलमानहरूमाथि आक्रमण गरे, राजा महेन्द्रले २४ घण्टाभित्रै स्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिनुभयो। अञ्चलाधीश र प्रहरी प्रमुखलाई कारबाही गर्नुभयो।”

घिमिरेका अनुसार नेपालमा दण्डहीनतामा वृद्धि भएसँगै धार्मिक सद्भाव कायम गर्न थप चुनौतीहरू देखा परेका छन्।

सशस्त्र द्वन्द्वकालमा कतिपय ठाउँमा मठ मन्दिर तोडफोड गर्ने र शोक बारेर बसेका किरिया पुत्रीको हत्या गर्ने जस्ता अरूको धार्मिक आस्थामाथि प्रहार गर्ने कतिपय गतिविधिमा तत्कालीन माओवादी विद्रोहीहरूको नाम जोडिएको थियो।

शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक चुनावमार्फत सत्तामा पुगेपछि प्रधानमन्त्री दाहालेले पशुपतिनाथ मन्दिरको भट्ट नै फेर्ने प्रयास गर्नुभएको थियो।

नयाँ दिल्लीले गम्भीर असन्तुष्टि जनाएको उक्त निर्णयबाट पछि हट्न उहाँ त्यसबेला बाध्य हुनुभएको थियो भन्ने गरिन्छ।

महाकालेश्वरहुँदै अहिले मानसरोवरसम्म आइपुग्दा एक कट्टर कम्युनिस्ट नेताको धार्मिक र आध्यात्मिक आवरण प्रस्तुत गर्नुभएका प्रधानमन्त्री दाहालको नयाँ रूपलाई लिएर कैयौँ आशङ्काहरू बाँकी रहेको जानकारहरू बताउँछन्।

Share Now

Leave a comment.