
काठमाडौं, ३ कार्तिक । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन प्रक्रिया स्थगित भएको छ।
महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि बाँकी प्रक्रिया स्थगित भएको हो।
महाधिवेशनमा भएको निर्वाचनले बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएकोले पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गरेको थियो ।
विवादपछि बाँकी प्रक्रिया स्थगित गरिएको हो।
काठमाडौंको चुनावी माहोल एकातिर देखिएको तर त्यसको विपरित नतिजा आएपछि डा. केशव पौडेलले सम्मेलनस्थल काठमाडौंको होटल सोल्टीमै एक भेला गरी एनआरएनएमा फ्रड र माफियातन्त्र हाबी भएको आरोप लगाउनुभएको थियो। अभियन्ताहरूले सिन्डिकेट गरेको गुनासो पनि उहाँले बताउनुभयो। ‘यो नतिजा कदापि मान्य हुँदैन,’ उहाँले भन्नुभयो।
यस्तै अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले पनि सिस्टम ह्याक गरेर आफूलाई हराइएको दाबी गर्नुभयो।
अध्यक्षमा पराजित भएपछि मतदातालाई सम्बोधन गर्दै उहँले भन्नुभयो, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’
निर्वाचित नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताउनुभयो।
सरकारको नेतृत्वकर्ता दल माओवादीनिकट उम्मेदवार शर्माले त नवनिर्वाचित कार्यसमितिलाई काम गर्न नदिन परराष्ट्र मन्त्रालयमार्फत् हस्तक्षेप गर्ने धम्की नै दिनुभएको थियो। उहाँले भन्नुभयो,‘अब गैरआवासीय नेपाली संघ शून्यमा गएको छ। परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ।’