Prakash Adhikari October 29, 2023

प्रदीप बस्याल । बीबीसी न्यूज नेपाली

काठमाडौं, १२ कार्तिक । विश्वको दोस्रो सर्वोच्च शिखर केटूसँग आरोही मिङ्मा डेभिड शेर्पाको लोभलाग्दो शान जोडिएको छ।

पाकिस्तानमा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो यो हिमाललाई उनले जसरी शायदै अरू कसैले चिनेको होला।

ताप्लेजुङका ३४ वर्षीय नेपाली शेर्पा उक्त हिमालको चुचुरोमा सबैभन्दा धेरै (छ पटक)पुग्नुभएको छ।

आधार शिविरदेखि चुचुरोसम्म सबैभन्दा छिटो पुग्ने प्रयासमा लाग्दा उहाँले त्यो १४ घण्टा २० मिनेटमा पूरा गर्नुभएको थियो। जति बेला उहाँ धेरैलाई आश्चर्यमा पार्दै एकै याममा दुई पटक केटू आरोहण गरिरहनुभएको थियो।

सामान्यतः चारदेखि पाँच दिन लगाएर केटू आरोहण हुनेगर्छ। सबैभन्दा छिटो १२ घण्टा २० मिनेटमा चढेको कीर्तिमान नेपालकै छिरिङ शेर्पाको नाममा छ।

मिङ्मा डेभिड जाडोयाममा पहिलो पटक भएको सन् २०२१ को ऐतिहासिक शिखर आरोहण दलमा समेत हुनुहुन्थ्यो।

तर आकर्षक रूपमा उहाँको नाम र मान जोडिएको केटूलाई चिन्ने शब्दावली चाहिँ खासै आकर्षक छैनन्।

तपाईँले यस हिमालका अगाडि खतरनाक, घातक, क्रुर, निर्दयी वा यस्तै कुनै विशेषण जोड्दा त्यो गलत हुँदैन, कम्तीमा धेरैले त्यसै भन्छन्।

मिङ्मा डेभिडकै समेत त्यसमा फरक मत छैन।

“अन्य अग्ला हिमालमा हुने सबै भिन्नभिन्न कठिनाइलाई केटूमा एकै ठाउँ झेल्नुपर्छ, परिस्थिति अनुसार छिटोछिटो निर्णय लिनुपर्छ, आराम गर्ने अवसर कम हुन्छन्”, उहाँले बीबीसीसँग भन्नुभयो,”यो आरोहणमा धेरै अनुभव लिएपछि मात्र चढ्ने हिमाल हो। जीवनमै दोहोर्‍याएर यो हिमाल निकै कमैले चढ्छन्।”

यस हिमाल चढ्ने क्रममा प्रत्येक चार जनामध्ये एक जनाले ज्यान गुमाउने गरेको तथ्याङ्कले नै केटूबारे धेरै कुरा बताउँछ।

केटूको विशेष मान

हुन त मिङ्मा डेभिड शेर्पाले सर्वोच्च शिखर सगरमाथा नै आठ पटक चढ्नुभएको छ। ८ हजार मिटरमाथिको उचाइका शिखरमा ३३ पटक उक्लिसक्नुभएको छ।

सबैभन्दा कम उमेर (३० वर्षमा) मा ८ हजार मिटरमाथिका १४ अग्ला हिमाल चढ्ने विश्व कीर्तिमानसमेत उहाँकै नाममा छ।

तर आरोहण जगत्‌मा केटूको विशिष्ठताले गर्दा त्यसप्रति विशेष मान रहन्छ।

जब मिङ्मा डेभिडसमेत रहेको एक नेपाली आरोहण दलले झन्डै तीन वर्षअघिको हिउँदमा पहिलो पटक केटू आरोहण गर्‍यो त्यसलाई पर्वतारोहण जगत्‌को ुअहिलेसम्म छुन नसकिएको लक्ष्युका रूपमा हेरेको थियो।

त्यसलाई बुझ्न कीर्तिमानी कामीरिता शेर्पालाई सुने पुग्छ। त्यस बेलै उहाँले २४ पटक सगरमाथा आरोहण गरिसक्नुभएको थियो।

केटूको हिउँदे सफलताबारे काठमाण्डू पोस्टसँग कुरा गर्दै त्यस बेला उहाँले सात वर्षअघि सो हिमाल चढेको सम्झँदै ुउक्त हिमालका लागि आफू रिटायर्टु भइसकेको प्रतिक्रिया दिनुभएको थियो।

कामीरिताको भनाइ थियो, “जाडो याममा केटू। यसबारे मलाई नसोध्नूस्। यतिखेर केटू चढ्ने म कल्पना समेत गर्न सक्दिनँ।”

मिङ्मा डेभिडका सबै पाँचवटा विश्व कीर्तिमान कुनै न कुनै रूपमा केटूसँग जोडिए पनि उहाँका लागि समेत त्यो हिमालमा असफलता उत्तिकै छन्।

यी कीर्तिमानी आरोहीले समेत वसन्तयाममै तीन पटक केटू आरोहणलाई बीचैमा रद्द गर्नुभएको छ।

“केटू हिमाल चढ्नु जति राम्रो कला हो, आवश्यक पर्दा आरोहण रद्द गरेर फर्कनु समेत अर्को महत्त्वपूर्ण कला हो”, हालैको एउटा मध्याह्न काठमाडौंस्थित आफ्नो आरोहण कम्पनीको कक्षमा उहाँले सुनाउनुभयो, “केटू हिमालमा स्थानीय मौसम प्रणाली यति छिटोछिटो सक्रिय हुन्छ कि त्यसको तयारी गर्ने समय नै पाइँदैन।”

प्राविधिक जटिलताबीच मौसमले पार्ने सकसबारे बोल्दै उहाँले उदहारण सुनाउनुभयो।

“जस्तो धवलागिरिको मौसम बिग्रँदा पोखरादेखि नै मौसम बिग्रँदै जाने क्रम देखिन्छ। एकाएक मौसम खराब हुँदैन। तर केटूमा त्यस्तो छैन। वायुको गति समेत त्यसैगरी अनपेक्षित हुन्छ।”

त्यसैले केटूमा आरोहीहरूले आफ्नो गतिलाई त्यहाँको मौसमी अवस्थाअनुसार मूल्याङ्कन गर्दै अगाडि बढ्ने कि फर्कने टुङ्गो गर्नुपर्ने उहाँ बताउँनुहुन्छ।

धेरैतिर चट्टानी बरफका धारमा हिँड्नुपर्ने उहाँ बताउँनुहुन्छ।

“आरोहणको बाटोमा धेरैतिर तलपट्टि र माथिमाथि कति बेला फुट्ला भन्नेजसरी बरफका ढिक्का हुन्छन्। हाउसेस चिम्नी भन्ने चट्टानबीचको ३० मिटरको एउटा साँघुरो भाग छ जहाँ वर्षौँअघि जडान गरिएको छाडेको फलामे चेनको भर्‍याङमा झुन्डँदै उक्लनुपर्छ”, उहाँ भन्नुहुन्छ, “अर्को ब्ल्याक पिरामिड भन्ने ठाउँ छ जहाँ झन्डै ६ सय मिटर लामो ढुङ्गे भागमा कठिन आरोहण गर्नुपर्छ।”

अग्ला हिमाल चढ्दा लगाइने विशेष प्रकारका काँडे जुत्ता र बाक्ला डाउन ज्याकेटबीचको त्यस्तो ठाउँको यात्रालाई निकै अनुभवी आरोहीहरूले समेत जीवनकै कठिन बताउने गरेका छन्।

“नेपालका हिमालमा धेरैजसो भागमा हिउँ मात्र छ। मनास्लु वा सगरमाथामा सुरुवाती केही भागमा हिमनदी छन् तर माथिपट्टि धेरै चट्टानी भाग कमै छन्। केटूमा चाहिँ हेर्ने हो भने कतै चट्टान, कतै हिउँ, कतै बरफजस्ता अनेकौँ विशेषता छन्।”

मिङ्मा डेभिडलाई यी भिन्नभिन्न विशेषताबीच सबैखाले आरोहण सीपका साथ अगाडि बढ्न रमाइलो लाग्दोरहेछ।

“त्यही विशेषताले गर्दा ठाडो खालको यस हिमालमा निकै छिटो उचाइ लिइन्छ। सगरमाथाकै हकमा हेर्ने हो भने धेरैजसो भाग बिस्तारै छड्के हिँड्दै चुचुरोमा पुगिन्छ।”

कतिसम्म जोखिम उठाउने?

डेढ दशकभन्दा कम समयको मिङ्मा डेभिडको आरोहण यात्रामा उहाँले जे हासिल गर्नुभयो त्यति नै आकारको कीर्तिमान हासिल गर्ने कामका लागि अघिल्ला पुस्ताका आरोहीहरूले जीवनभरि लगाउँथे।

उहाँको पहिलो आरोहण नै सन् २०१० मा सर्वोच्च शिखर सगरमाथाबाट सुरु भएको थियो।

त्यसपछिका वर्ष व्यावसायिक आरोहणका लागि सबैभन्दा राम्ररी फस्टाएको समयका रूपमा मानिन्छ।

उहाँ निर्मल पुर्जाको सबैभन्दा छिटो आठ हजार मिटर उचाइमाथिका १४ अग्ला हिमाल चढ्ने अभियानमा जोडिनुभयो र त्यस क्रममा उहाँले नौवटा हिमाल चढ्न पाउनुभयो।

सन् २०१९ मा पुर्जाले १ सय ८९ दिनमा बनाएको उक्त कीर्तिमान यसै वर्ष क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले ९२ दिनमा तोडिसकेका छन्।

त्यस बीचमा उहाँले कहिले सगरमाथामा ८ हजार मिटरमाथिको ुडेथ जोनुबाट त कहिले धवलागिरिमा हुस्सु बीचमा हेलिकप्टरमा झुन्डिएर हिमालमा पुग्दै साहसिक उद्धार गरिसक्नुभएको छ।

“यस बीचमा वर्षौँ म हिमालमै छु। अनेकखाले आरोहीलाई गाइड गर्दै चढेको छु। विभिन्न परिस्थिति सामना गरेको छु। त्यसले मलाई आत्मविश्वास मात्र दिएको छैन, हिमाललाई चिन्न सिकाएको छ”, उहाँ भन्नुहुन्छ, “वसन्तयाममा हिमाल चढ्नु छ भने जाडोयामबाटै त्यसको तयारी थाल्नुपर्छ। त्यस बेला कति र कस्तो हिउँ पर्‍यो, त्यसपछिको वायुको प्रवृत्ति कस्तो थियो, गर्मी कस्तो भयो भन्नेजस्ता कुराले पहिल्यै हिमपहिरोको जोखिम कस्तो होला भन्ने आकलन गर्न सकिन्छ।”

तर हिमालमा जति नै राम्रो तयारीबीच समेत दुर्घटनाहरू हुन्छन्। हिमालमा ठूल्ठूला कीर्तिमान बनाउनेहरू पनि हिमालमै बिलाएका छन्। कहिलेकाहीँ सामान्य तयारीकैबीच पनि मानिसहरू चुचुरो पुगेका छन्।

मिङ्मा डेभिडलाई आरोहणमा ल्याउने र उहाँलाई आरोहणका आधारभूत ज्ञान सिकाएका दोर्जे खत्री सन् २०१४ मा सगरमाथाको खुम्बु आइसफलमा गएको हिमपहिरोमा परेर ज्यान गुमाउनुभएको थियो।

त्यसको अर्को वर्ष उनी सगरमाथा आधार शिविरमै हुँदा भूकम्पले त्यहाँ हिमपहिरो ल्याएर दर्जन बढीको ज्यान लियो।

“त्यस बेला म साँच्चिकै आरोहण छोडेर अर्को काममा लागौँ भन्ने सोचमा पुगिसकेको थिएँ”, उहाँ भन्नुहुन्छ ।

तर उहाँको मनमा त्यस बेला खेलिरहेको द्वन्द्वमा उहाँले अन्ततः हिमाल नै रोज्नुभयो।

अहिले उहाँको पहिचान खतरनाक हिमालको नायकका रूपमा छ। तर त्यही पहिचानमा रमाउने उहाँका शुभेच्छुकहरू उहाँको सुरक्षाका लागि चिन्तित पनि भइरहन्छन्।

मिङ्मा डेभिडको यसमा आफ्नै बुझाइ छ। उहाँ आफू सगरमाथा आधार शिविरमा रहेको सन् २०१५ को समय सम्झन्छन्।

“भूकम्प जाँदा निकै नाजुक हुने खुम्बु आइसफलमा २०० जना जति मानिसहरू थिए जसमध्ये धेरै बाँच्नु असम्भव होला भन्ने मलाई लागेको थियो। तर सामान्य बेला नै जोखिमयुक्त उक्त ठाउँमा भूकम्प जाँदा नि कोही केही भएनन्”, उहाँ भन्नुहुन्छ, “बरु आधार शिविरमा सुरक्षित ठानिएका कैयौँ साथीले ज्यान गुमाए।”

मृत्युकै कुरा गर्दा उहाँको स्मृतिमा आफ्नै भाइको तस्विर बारम्बार आउँछ।

कर्साङ तेञ्जिङ शेर्पा जहिल्यै मिङ्मासँग आरोहण जान खोज्नुभएन।

“भाइले हिमालमा दुवैलाई केही भइहाले परिवारको बिजोग हुन्छ भनेर सधैँ चिन्ता लिन्थ्यो”, उहाँ भावुक बन्नुभयो,”तर काठमाडौंमै हाम्रो अफिसमा आगलागी हुँदा उसको ज्यान गयो। मृत्यु लेखिएको भए घरमै समेत टर्दो रहेनछ र नलेखिएको भए खुम्बु आइसफलमै भए पनि बाँचिँदो रहेछ।”

Share Now

Leave a comment.