तेलअभिभ(इजरायल), १७ कार्तिक(बीबीसी) । संयुक्त राष्ट्रसङ्घको कार्यादेशप्राप्त सात मानव अधिकार विशेषज्ञहरूले गाजामा प्यालेस्टिनीहरू आम नरसंहारको खतरामा परिरहेको र त्यो रोक्ने समय घर्कँदै गइरहेको बताएका छन्।
विशेष र्यापोर्टियरहरूको यो समूहले इजरेलले गाजा स्ट्रिप नै “समाप्त पार्ने” योजना बनाइरहेको आरोप लगाएका छन्।
उनीहरूले इजरायल र उसका समर्थक राष्ट्रहरूसमक्ष तत्काल युद्ध विराम गर्न आग्रह गरेका छन्।
र हमास तथा अरू लडाकु समूहलाई कब्जामा लिइएका सर्वसाधारणलाई तत्काल रिहा गर्न भनिरहेका छन्।
इजरायलले संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूलाई हमासको दुष्प्रचार दोहोर्याएको आरोप लगाउँदै त्यसलाई ‘निन्दनीय’ भनेको छ।
इजरायलले हमासले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेको र आतङ्कवादी अभियानमा सहयोग पुर्याएको आरोप पनि लगाएको छ।
यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कन युद्ध सुरु भए यता दोस्रो पटक इजरायल पुग्नुभएको छ ।
उहाँले इजरायली अधिकारीहरूसँग सर्वसाधारण मानिसहरू हताहत हुने सङ्ख्या कम गर्दै कसरी गाजामा तिनीहरूले सैन्य र सुरक्षा लक्ष्यलाई अगाडि बढाउनु पर्छ भन्ने विषयमा कुराकानी गर्ने बताउनुभयो।
उहाँले गाजामा मानवीय सहायता र अमेरिकी नागरिकलाई गाजाबाट बाहिर निकाल्न दबाव जारी राख्ने पनि बताउनुभयो।
इजरायल सरकारले पहिले नै भनेको थियो कि उसले गाजा पट्टीसँग सबै सम्पर्क विच्छेद गरिदिनेछ।
जोर्डनका विदेशमन्त्री आयमन सफादी भन्नुहुन्छ ब्लिङ्कनले गाजाको विनाशकारी स्थिति र सर्वसाधारणको सुरक्षाका लागि तत्काल युद्ध रोक्ने र इजरेलले अन्तर्राष्ट्रिय कानुन पालना गर्नुपर्नेबारे छलफल गर्नुहुनेछ ।
ब्लिङ्कनको भ्रमण यो क्षेत्रमा उत्पन्न तनाव बृहत् द्वन्द्वमा परिणत हुने हो कि भन्ने आशङ्काबीच भइरहेको छ।
इजरायलले भनेको छ उसको सेनाले गाजा शहरलाई पूर्ण रूपमा घेरेको छ र हमास लडाकुसँग आमने सामने लडाइँ गरिरहेको छ।
लडाइँ घना बस्ती र सघन भौतिक संरचना भएको क्षेत्रमा भइरहेको छ जुन हमासको महत्त्वपूर्ण केन्द्र रहँदै आएको छ। त्यो नष्ट गर्ने प्रक्रियामा रहेको इजरायलको दाबी छ।
इजरायली सुरक्षा क्याबिनेटले घोषणा गरेको छ कि इजरायलमा काम गरिरहेका गाजावासीहरूलाई नियन्त्रणमा लिइएको प्यालेस्टिनी क्षेत्रमा फर्काइनेछ।
त्यसमा कति जनालाई फिर्ता पठाइनेछ भन्ने बताइएको छैन ।
अमेरिकी कूटनीतिको स्वर परिवर्तन
योलान्ड नेल
बीबीसी मध्यपूर्व संवाददाता जेरुसलेम
इजरायलको सेनाले हमासलाई समाप्त गर्न गाजा शहरलाई आफ्नो आक्रमणको मुख्य निशानाका रूपमा हेर्दै आएको छ। तर आगामी दिनमा भीषण शहरी युद्ध हुने जस्तो देखिन्छ।
त्यसका लागि हजारौँ हजार सर्वसाधारण तथा करिब २ सय ४० जना बन्धकको उपस्थितिबाट त्यो युद्ध जटिल देखिन्छ।
हमासको सैन्य निकायले इजरायलीहरू “कालो झोलामा” घर जाने छन् भन्दै चेतावनी दिएको छ।
अमेरिकाले इजरायलको गाजा हमलाका लागि पूर्ण समर्थन र सैन्य सहायता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
तर अमेरिकीहरूको त्यसप्रतिको स्वरमा अलिकति परिवर्तन आएको छ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कन मध्य पूर्व तर्फ लागेपछि उहाँले सर्वसाधारणको नोक्सान कम गर्नका लागि ठोस कदम बारे कुराकानी गर्ने बताउनुभएको छ।
ह्वाइट हाउसले गाजामा सहायता पुर्याउन वा कसैलाई बाहिर निकाल्ने अनुमति दिनका लागि श्रृङ्खलाबद्ध छोटाछोटा संघर्ष विराम गर्ने प्रस्ताव गरेको छ। ह्वाइट हाउसले भनेको छ त्यो युद्ध विराम भन्दा निकै कम समयको हुनेछ किनभने युद्ध विराम हुँदा हमासलाई फाइदा हुने ठानिन्छ।


















