काठमाडौ , १८ कार्तिक । बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको जनाएको हो।
साथै, बुद्ध एयरले उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि प्रतिबद्धता व्यक्त गरेको छ।
‘भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय नाघेको छ।
भूकम्पले भवन भत्किएर सयौं मानिस घाइते भएका छन् । सयौं घर भत्किएका छन्। हाल विभिन्न संघसंस्थाले राहत र उद्धारका लागि सहयोग घोषणा गरिरहेका छन्।


















