Prakash Adhikari April 28, 2018

नयाँ दिल्ली(भारत), १५ बैशाख (एजेन्सीहरु) । इन्डियन प्रिमियर लिग(आईपीएल) मा कमजोर प्रदर्शन गरिरहेको दिल्ली डेयरडेभिल्सले कप्तान परिवर्तन गरेपछिको पहिलो खेलमा कोलकातामाथि शानदार जित निकालेको छ। शुक्रबार रातिको खेलमा कोलकत्ता नाइट राइडरसलाई ५५ रनले हराउँदै दिल्ली यस सिजनमा ७ खेलबाट दोस्रो जित हासिल गरेको हो।

२ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे। शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिक १८ रन र मिचेल जोन्सनले अविजित १२ रन जोडेपनि लक्ष्यमा पुग्न सकेन।

कोलकातालाई सस्तैमा रोक्न दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।

दिल्लीका नयाँ कप्तान श्रेयस अयर ४० बलमा ९३ रन बनाए । १० छक्का र ३ चौका प्रहार गरेका अयरले अन्तिम ओरभमा मात्रै ४ छक्का र १ चौकासहित २९ रन जोडेका थिए । कप्तान अयरको अलवा दिल्लीका लागि पृथ्वी शाहले ६२, कोलिन मन्रोले ३३ र ग्लेन म्याक्सवेलले २७ रनको योगदान दिए। २१९ स्कोर आईपीएलको यस सिजनको सबैभन्दा उच्च स्कोर हो ।

कोलकत्ता का लागि आन्द्रे रसेल, पियुस चावला र शिभम मावीले १–१ विकेट लिए ।

 

यसअघि दिल्लीले मुम्बई इण्डियन्सविरुद्ध जित निकालेको थियो । लगातार हार व्यहोरेपछि कप्तान गौतम गाम्भीरले पद त्यागेका थिए। श्रेयस अय्यरले कप्तानी पाउनु र पहिलो खेलमै जित निकाल्नु दिल्लीका लागि वरदान सावित भयो।

 

Share Now

Leave a comment.