Prakash Adhikari November 6, 2023

 

शरद केसी /बीबीसी न्यूज नेपाली

भेरीकिनार(जाजरकोट), २० कार्तिक । नलगाड नगरपालिकाको वडा नं १ चिउरी गाउँको फेदमा सधैँजसो ठूली भेरी नदी बगिरहेको छ। नदीको सुसाइसँगै नदी किनारमा चलिरहेको रुवाबासी।

तर नदी किनारमा महिला र बालबालिकासहित १३ जनाको शव लस्करै राखिएको थियो। डाँको छाडेर रोइरहेका केही महिला अचेत हुँदा एम्बुलेन्सले अस्पताल पुर्‍याउनु परेको थियो।

एउटा चितामा छजना र अरूलाई अलगअलग चिता बनाएर अन्तिम बिदाइ गरियो। ती सबै शुक्रवार मध्यरातमा आएको भूकम्पमा परेर ज्यान गुमाउने चिउरी गाउँका थिए।

जो बोल्दाबोल्दै बिते

चिउरीमा १ सय ८६ घर छन्। त्यो दलित बस्ती हो। हिरे कामी उहाँकी श्रीमती र दुईजना सन्तानको मृत्यु भयो।

समयमै उद्धार गर्न सकेको भए हिरे कामीलाई जोगाउन सकिन्थ्यो भन्ने लागेको छ उहाँका छिमेकी र आफन्तहरूलाई।

“मध्यरातमा गाउँभरी कोलाहल र रुवाबासी मच्चियो, हामी कसैको दिमागले काम गरिरहेको थिएन,” हरिबहादुर चुनारा कहालीलाग्दो रात सम्झिनुहुन्छ, “जब हामी अरूलाई सहयोग गर्न सक्ने भयौँ, हिरे कामी बोल्दै हुनुहुन्थ्यो।”

उहाँलाई जोगाउने प्रयासमा एक युवक हात्तिराम महर पनि लाग्नुभएको थियो। उहाँका अनुसार घरको भग्नावशेषमा थिचिएका हिरे कामीलाई निकाल्न कचौरा, थाल र घरेलु सामानले उहाँहरूले खोतल्दै हुनुहुन्थ्यो।

“म यता छु भन्नुभयो, हामी गयौँ, मेरो शरीरयता च्यापिएको छ, त्यहाँ नकुल्चिनु है भन्दै हुनुन्थ्यो” हात्तिराम महरले आफ्ना नातेदारलाई जोगाउन नसकेको अवस्थाको बयान गर्नुभयो, “तर उहाँलाई यसरी बिदा गर्नुपर्‍यो।”

आफूजस्तै हिरे कामी पनि भारतमा काम गर्नुहुन्थ्यो। हात्तिराम महरका अनुसार हिरे कामी २-३ दिनअघि मात्रै भारतबाट नेपाल आउनुभएको थियो , तिहार मानेर फर्किने योजना थियो।

उहाँकी एक छोरी भने बाँच्न सफल हुनुभयो। बिहे भइसकेकी जेठी छोरी भने सानी बहिनीबाहेक सिङ्गो माइती परिवार गुमाउनुको पीडा सहन नसकी अचेत हुँदा नदी किनारबाट एम्बुलेन्सले उपचारका निम्ति लग्नु परेको थियो। साँझ ढल्किनै लाग्दा चिता निभ्दै गयो। केहीबेरमा शोकमग्न गाउँका बासिन्दा सडक पार गर्दै भग्नावशेष बनेको गाउँतर्फ उकालो लागे।

भूकम्प

राहत पाउने आशामा रहेका हरिबहादुर चुनारा भन्नुहुन्छ, “ओत लाग्ने ठाउँ छैन, राहत सामग्री आउँछ होला।”

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिका अति प्रभावितमध्ये पर्छ। त्यहाँ ५२ जनाको मृत्यु भएको नगरपालिकाकी सूचना अधिकारी जुना शाहीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

जसअनुसार चिउरीका १३ जनासहित उक्त वडा नं १ मा २५ जनाको मृत्यु भएको छ।

तर चिन्ता अब बाँचेकालाई कसरी जोगाउने भन्ने छ। “साना बालबालिकालाई चिसोमा कसरी जोगाउने भन्ने पीर छ,” हात्तिराम महरको चिन्ता छ, “बाहिरै रात काट्नु परेको छ। टेन्ट भइदिए हुन्थ्यो।”

छोरीहरू गुमाएका बाबु अस्पतालमा छटपटाउँदै

ठूली भेरी नदीको पल्लो ढिकमा छ रुकुम पश्चिमको आठविसकोट नगरपालिका।

उक्त नगरपालिकाका बासिन्दा गणेश मल्ल अहिले सुर्खेत विरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको शय्यामा उपचाररत हुनुहुन्छ ।

“मेरा दुईजना छोरी रहेनन्” उहाँले छातीभरिको उकुसमुकुस अत्यास सुनाउनुभयो, “श्रीमती र छोरा पनि घाइते छन्, कहाँ उपचार भइरहेको छ त्यो पनि थाहा छैन।”

उहाँलाई हेलिकोप्टरमा उद्धार गरेर अस्पताल पुर्‍याइएको हो।

भुकम्प गएको बिहान सबेरैदेखि उक्त अस्पताल पुर्‍याइँदा घाइतेहरूको पहिचान थिएन्।

“सुरुमा त हामीले केश १, केश २ भन्दै क्रमसङ्ख्या लेखेर उपचार सुरु गर्‍यौँ”, अस्पतालका अर्थोपेडिक सर्जन पदम गिरीले भन्नुभयो, “कतिपयलाई त कपडा नै नभएकाले हामीले नै उपलब्ध गरायौँ।”

उहाँका अनुसार त्यहाँ करिब ३० जना घाइतेको उपचार भइरहेको छ।

उक्त अस्पतालमा विरेन्द्रनगर वडा नं ५ का सदस्य वासु आचार्य राहत र सहयोगको निम्ति तैनाथ हुनुहुन्थ्यो।

उहाँ जस्तै अन्य राजनीतिक नेता कार्यकर्ताहरू पनि राहत वितरण र सहानुभूति प्रकट गर्न पुगेका भेटिए।

भूकम्प

जाजरकोटको छेडामा भेटिएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्रीद्वय मातृका यादव र महेन्द्रबहादुर शाही सदरमुकाम खलङ्गा पुग्ने हतारोमा हुनुहुन्थ्यो।

नलगाडमा १३ जनाको सामूहिक दाहसंस्कार स्थलमै पुगेका भेटिनुभयो नेकपा एमालेका नेता निरज आचार्य।

त्यसभन्दा केही पर आँखाले देख्न सकिने नलगाड खोला र भेरी नदीको संगमस्थलबाट एउटा हेलिकोप्टर उड्यो।

त्यहाँ भुकम्पमा परेर ज्यान गुमाएकी नगरपालिकाकी उपप्रमुख सरिता सिंहको दाहसंस्कार गरिएको थियो।

दलित बस्तीमा ज्यान गुमाएकाहरूको सामूहिक दाहसंस्कारमा सहभागी एक जनाले भने, “ऊ उपप्रधानमन्त्रीज्यूको हेलिकप्टर।”

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आफ्नो पार्टीकी उपप्रमुख सरिता सिंहलाई अन्तिम श्रद्धाञ्जलि दिन पुग्नुभएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प आएको केही घण्टापछि नै प्रभावित क्षेत्र पुग्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि जाजरकोटमा हुनुहुन्छ।

रूकुम पश्चिम आठविसकोट नगरपालिका वडा नं १४ का कुलबहादुर मल्ल भन्नुहुन्छ, “हामी पीडितहरूको घरबास उजाडियो, कम्तीमा अहिलेलाई रात काट्ने र खाने प्रबन्ध सरकारले मिलाइदिओस् भन्ने मेरो अनुरोध छ।”

गरिब र निमुखामाथि नै प्रकृतिको पनि आक्रमण
भुइँचालोको केन्द्रबिन्दु बारेकोटमा भने तुलनात्मक रूपमा क्षति कम भएको बताइएको छ।

शिक्षक गणेश जिसी त्यहीँका बासिन्दा हुनुहुन्छ। तर उहाँ त्यस रात सदरमुकाम खलङ्गामा हुनुहुन्थ्यो।

उहाँका अनुसार सबैजसो प्रभावित क्षेत्रमा कच्चि घरहरू र माटोको जडान भएका ढुङ्गाका घरहरू भत्किएका छन्।

प्रभावित गाउँ बस्तीहरूमा हेर्दा पनि त्यस्ता कैयौँ घरहरू काँचको सीसाजस्तै गरी पूरै ध्वस्त भएका छन्।

कतिपय भित्ता भत्किएका त कतिपय नराम्ररी चर्किएका देखिन्छन्। सिमेन्टको जडान भएका पक्की घरहरूमा क्षति पुगेको देखिएको छैन्।

“बाढी र पहिरो आउँदा पनि गरिबलाई सताउने”, शिक्षक गणेश जिसी भन्नुहुन्छ, “भूकम्पले पनि गरिबलाई नै आक्रमण गरेको छ।

Share Now

Leave a comment.