Prakash Adhikari November 24, 2023

 

गाजा सिटी(प्यालेष्टाइन), ८ मंसिर(बीबीसी) । हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धकहरू बुझेको रेडक्रसले उनीहरूलाई इजिप्ट पुर्‍याएको विवरणहरूमा जनाइएको छ।

रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका उनीहरू त्यहाँबाट दक्षिण इजरालको एक सैन्य हवाई अड्डा पुग्नेछन्।

त्यसैगरी बेग्लै सहमति अनुसार भन्दै थाइल्याण्डका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका १२ जना थाइ नागरिक रिहा भएको बताएका छन्।

ती सबै पुरूषहरू रहेको उनीहरूलाई रिहा गराउने प्रक्रियामा संलग्न एक अधिकारीले थाइ सञ्चारमाध्यमहरूलाई बताएका छन्।

कतारले मध्यस्तता गरेको चारदिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौता अनुसार शुक्रवार नै इजरायलले महिला र बालबालिका सहितका ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्दैछ।

इजरायल र हमासबीच युद्धमा शुक्रवार बिहान ७ बजे अस्थायी सङ्घर्षविराम सुरु भएको थियो।

इजरायल हमास सहमतिअन्तर्गत चार दिनको सङ्घर्षविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरायलले १ सय ५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ।

अस्थायी युद्धविराम सहमति अन्तर्गत सहायता बोकेका कम्तीमा ६० ट्रकहरू इजिप्टतर्फको रफाह नाका हुँदै गाजा प्रवेश गरेका छन्। इजरायलका अनुसार तीमध्ये आठ वटाले इन्धन बोकेका छन्।

यसअघि गाजा पुगेका एक शीर्ष राष्ट्रसङ्घीय अधिकारीले त्यहाँ ूभयानक पीडाू देखेको बताएका छन्।

इजरायलले मानवीय सङ्घर्षविराम अस्थायी स्वरूपको भएको भन्दै उत्तरी गाजातर्फ नफर्कन चेतावनी दिए पनि केही प्यालेस्टिनीहरू घर फर्कन थालेका छन्।

मध्यपूर्व भ्रमणमा रहेका ब्रिटिश विदेशमन्त्री डेभिड क्यामरनले शुक्रवार प्यालेस्टिनी नेताहरूलाई भेट्ने ठानिएको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो।

त्यसयता इजरायलले गरेको हमलामा १४ हजार जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मुक्त भएका मानिसहरू कसरी इजरायल पुग्छन् ?

नाम नखुलाइए पनि इजरायल(हमास सम्झौता अनुसार शुक्रवार मुक्त हुने सूचीमा रहेका सबै जना महिला तथा बालबालिका छन्।

गाजाबाट रफाह नाकामा इजरेली सुरक्षाकर्मीहरूले मुक्त भएका मानिसहरूको परिचय जाँच गर्ने छन्।

त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण पनि हुने छ। त्यहाँबाट उनीहरूलाई हेलिकप्टरमा राखेर इजरेली सीमाभित्र लगिने छ।

बीबीसी संवाददाताका अनुसार उनीहरूलाई थप परीक्षणका लागि अस्पताल लगिने छ। त्यसपछि बल्ल उनीहरूको आफन्तसँग पुनर्मिलन हुने छ।

त्यसको दुई घण्टाजतिपछि मात्र इजरेली जेलबाट प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिने छ।

शुक्रवार बिहानसम्म नै लडाइँ

बिहान सङ्घर्षविराम सुरु हुनुभन्दा केही घण्टाअघि गाजामा भीषण लडाइँ भएको थियो।

बीबीसी संवाददाता योलान्ड नेलका अनुसार इजरायलले हवाई आक्रमण गरेका स्थानबाट धुवाँको मुस्लो उडेको देखिएको थियो भने निरन्तर गोलाबारी भएको आवाज सुनिएको थियो।

यसअघि इजरायली सेनाले गाजामा युद्ध अझै समाप्त भएको छैन भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गरेको थियो ,

उक्त भिडिओमा इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का प्रवक्ताले मानवीय सहायताका लागि गरिएको विराम ूअस्थायीू भएको भन्दै उत्तरी गाजा स्ट्रिप ूखतरनाक रणभूमिू भएको चेतावनी दिएका थिए।

मानवीय सहायता पुग्दै

प्यालेस्टिनी बन्दीहरूको रिहाइसँगै गाजामा मानवीय सहायता सामग्रीहरूको प्रवेशलाई पनि उल्लेख्य रूपमा बढाइने जनाइएको छ।

विश्व खाद्य कार्यक्रमले आफ्ना १०० वटा ट्रक खाद्यान्न आपूर्ति गर्न तयार अवस्थामा रहेको जनाएको छ। इजिप्टले प्रत्येक दिन एक लाख तीस हजार लिटर डीजल र चार ट्रक ग्यास गाजामा पठाइने जनाएको छ।

तर सहायता संस्था अक्सफामकी एक अधिकारीले अहिले भनिएको परिमाणको सहायताले गाजाको आवश्यकता पूर्ति नगर्ने जनाएकी छन्।

ूगाजाको पूरा जनसङ्ख्या (२० लाख) सहायतामा निर्भर छ र चार दिनमा २०० ट्रक मानवीय सहायता जुट्छ…। त्यो अपर्याप्त छ, लैला बार्हूमले बीबीसीसँग भन्नुभयो।

सङ्घर्षविराम लम्बिन सक्ला ?

इजरायलले यदि हमासले १० जना थप बन्धक मुक्त गरेमा त्यसको बदलामा सङ्घर्षविरामको अवधिमा एक दिन थप गरिने पनि बताएको छ।

हमासले गरेको हमलामा १० जना नेपाली नागरिकहरू पनि मारिएका थिए। एक नेपाली नागरिकलाई हमासले बन्धक बनाएर लगेको विश्वास गरिएको छ।

केही दिनअघि इजरेली सेनाले गाजास्थित अल(शिफा अस्पतालमा अक्टोबर ७ मा खिचिएको सीसीटीभी फुटेजमा नेपाली बन्धक पनि देखिएको जनाएको थियो।

तर अक्टोबर ७ पछि विपिन जोशी सम्पर्कविहीन भएको भए पनि उहाँको अवस्थाबारे अहिलेसम्म पक्का जानकारी प्राप्त नभएको नेपाली अधिकारीहरूले बताएका छन्।

Share Now