काठमाडौं, १० पौष(बीबीसी) । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी सम्हालेको वर्ष दिन पुग्नै लाग्दा पुष्पकमल दाहाल प्रचण्डकी एक नातिनीको विवाह काठमाडौंको महँगोमध्येमा पर्ने गोकर्ण रिसोर्टमा भव्य रूपमा भयो।
हिंसात्मक आन्दोलनमा हुँदा कुनै बेला स्वयंले विरोध गर्ने भड्किलो विवाहमा प्रचण्डले घरपट्टि बनेर कानुनले तोकेभन्दा बढ्ता सयौँ निम्तालुको स्वागत गरिरहनुभएको थियो।
त्यसको पर्सिपल्ट माओवादी पार्टीको विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्न नुवाकोटको एक गाउँ पुग्नुभएका पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकमा स्ट्याटस लेख्नुभयो , “लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन!”
थप टिप्पणीका लागि बीबीसीले गरेको आग्रहमा न्यौपानेले केही समय नबोल्ने बताउनुभयो।
कुनै समय माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका रूपमा तत्कालीन व्यवस्था र विरोधी दलविरुद्ध चर्को भाषण गर्ने न्यौपानेका पछिल्लो समयका सामाजिक सञ्जालका पोस्ट धेरैजसो आफ्नै पार्टी र नेतृत्वतर्फ बढ्ता सोझिएका देखिन्छन्।
प्रश्नको घेरामा प्रचण्ड
प्रधानमन्त्री दाहाल स्वयं पुस पहिलो साता एनसेलको शेयर विक्रीबारे जबाफ दिन एक संसदीय समिति पुग्दा आफ्ना परिवार जोडिएको प्रश्नहरूको सामना गर्नुभयो।
परिवारलाई जोडेर आफूलाई ह्युमिलेट (अपमानित) र डिप्रेस (निराश) गराउन खोजिएको उहाँको जबाफ थियो।

खासगरी त्यहाँ उहाँकी कान्छी छोरी गङ्गा दाहाललाई जोडेर कतिपय सांसदले प्रश्न उठाएपछि उहाँले भन्नुभयो,” मेरो परिवारका सदस्यहरू घट्दै गएर तीनजना रहेका छौँ जसमध्ये एकजना (रेणु दाहाल) भरतपुर महानगरपालिकाको मेयर छ.. ऊ उतै बढी इन्जेग (संलग्न) हुन्छे।”
गङ्गा दाहाललाई इङ्गित गर्दै प्रधानमन्त्री दाहालले थप्नुभयो , “उनलाई जोडेर… बनाएको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हो।”
माओवादी नेता राम कार्की ‘आरनमा बसेका, हुर्किएका केटाकेटीले आरनको काम केही जान्ने’ भनेर उनीहरूले पाएका हालका जिम्मेवारीलाई अस्वाभाविक नठाने तापनि त्यसका केही सीमाहरू हुने बताउनुहुन्छ।
“उनीहरू राजनीतिको असाध्यै अस्वाभाविक समयमा हुर्किए, त्यसैले दबिएर बसेका थुप्रै इच्छाहरू होलान्”, कार्की भन्नुहुन्छ, “उनीहरूलाई माया पनि गर्नुपर्छ, स्नेह पनि गर्नुपर्छ र मर्यादाभित्र पनि राख्नुपर्छ।”
कहाँ देखिन्छ प्रचण्डको परिवारमोह?
गङ्गा दाहालः स्वकीय सचिव रहनुभएकी प्रचण्डकी कान्छी छोरी देशभित्रै र बाहिर हुने महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएकी देखिनुहुन्छ। खासगरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिन्पिङसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा उहाँ प्राथमिकताका साथ देखिएपछि व्यापक आलोचना भएको थियो।
रेणु दाहालः माइली छोरी दाहाल दोस्रो कार्यकाल चितवन महानगरपालिकाकी मेयर हुनुहुन्छ। पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बन्नुभएकी उहाँ दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ पराजित भएकी हुनुभयो। उहाँलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।
जीवन आचार्यः गङ्गा दाहालका पति कोशी प्रदेशमा यसै वर्ष दुई पटक मन्त्री बन्नुभयो। एक महिनाको अन्तरालमै उहाँ कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभयो। दोहोर्याएर उहाँलाई मन्त्री बनाउँदा पार्टी त्याग्ने कतिपय पुराना नेताको धम्कीबीच समेत प्रचण्ड आफ्नो निर्णयमा पछि हट्नुभएन ।
यसअघि समेत प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई मन्त्री र भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्य बनाउनुभएको थियो।
प्रधानमन्त्रीको जिम्मेवारी के ?
राजनीतिशास्त्री हरि शर्मा प्रधानमन्त्रीका दुई छोरीमध्ये एक निर्वाचित जनप्रतिनिधि भएकाले उहाँको मूल्याङ्कन भरतपुर महानगरपालिकाको मेयरका रूपमा गरेका कामबाट हुनुपर्ने बताउनुहुन्छ।
तर स्वकीय सचिवको भूमिकामा रहेकी छोरीको भूमिकाको समीक्षा गर्नु अप्ठ्यारो कुरा रहेको उहाँ ठान्नुहुन्छ।
“आफ्नी श्रीमतीको देहान्तपछि प्रधानमन्त्री एक्लो हुनुहुन्छ। परिवारमा उहाँको रेखदेख गर्ने निकटतम व्यक्तिको रूपमा छोरी हुनुहुन्छ। तर आलोचना.. किन छोरीलाई नै स्वकीय सचिवजस्तो पदमा राख्नुपर्यो भनेर हुनसक्छ”, राजनीतिशास्त्री शर्मा भन्नुहुन्छ।
:उहाँको खानपान, स्वास्थ्य, घरको व्यवस्था हेर्नलाई त कसैले रोक्दैन। यदि त्यो गर्ने उहाँको काम हो भने र अर्को काम शासन व्यवस्थामा हुने हो भने स्पष्ट निर्धारण हुनुपर्छ।”
प्रधानमन्त्रीलाई सघाउन बस्ने समूहका व्यक्तिहरू सार्वजनिक रूपमै जबाफदेही हुनुपर्ने उहाँ ठान्नुहुन्छ
“किनकि उनीहरू जुन व्यक्ति वा संस्थालाई सघाउन बसेका हुन्छन् त्यसको सार्वजनिक चासो निकै ठूलो हुन्छ।”
नेपालमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बस्नेहरूले आफ्ना सहयोगी समूहमा ‘जहिलेसम्म कसलाई के कारण लिएको भन्ने जबाफ दिन सक्दैनन् तबसम्म ती नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि आएको भन्न सकिने’ राजनीतिशास्त्री शर्माको मत छ।
त्यसैले उनीहरूको योग्यता, बुझ्न र बुझाउन सक्ने क्षमता, सार्वजनिक चरित्र निकै महत्त्वपूर्ण हुने उहाँ बताउनुहुन्छ।
हरि शर्मा थप्नुहुन्छ, “विगतमा राजाकै पालादेखि नै नेता ठीक छन् भनेर वरपरका ठीक भएनन् भनेर नेतृत्वलाई चोखो राख्न खोज्ने प्रवृत्ति देखिन्छ। तर यसमा जबाफदेही हुनुपर्ने मुख्य व्यक्ति भनेको तिनलाई नियुक्ति गर्ने नेतृत्व हो।”
कति स्वाभाविक, कति अस्वाभाविक?

नेता राम कार्कीले प्रचण्डको परिवारका कोही अहिले पार्टीको ‘भयङ्कर महत्त्वपूर्ण भूमिकामा नरहे पनि परिवार मोह असामान्य ‘ रूपमा देखिनुपछाडि उनी नेतृत्वमा हुँदा भएका कामसँग जोडेर हेर्नुपर्ने बताउनुहुन्छ।
“कुरूप प्रणालीलाई फेर्ने प्रयास रहुन्जेल मान्छेको जीवन, पारिवारिक जीवन सबै सुन्दर देखिन्छ। जब त्यसलाई बचाउनेतिर गइन्छ तब मानिस कुरूप हुँदै जान्छ”, उहाँ भन्नुहुन्छ,”मूल रूपमा जसले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताजस्तो कुराको वकालत गरेर ल्याए तिनले त्यसलाई समाजमा लागु गर्ने प्रयास नै गरेनन्। जस्तो गणतन्त्र सबैभन्दा बढी देखा पर्नुपर्ने परिवारमा, समुदायमा, विद्यालयमा हो जुन छैन।”
राजनीतिक विश्लेषक हरि रोकाको मत कार्कीसँग मिल्दो छ।
उहाँको बुझाइमा प्रचण्डले पार्टीका नेताहरू राखेर गर्नुपर्ने धेरै राजनीतिक बैठकहरू छोरी र स्वकीय सचिवहरूलाई राखेर गर्न थालेदेखि त्यो अस्वाभाविक देखिन थालेको देखिन्छ।
प्रचण्डले अघिल्ला कार्यकालमा छोरा प्रकाशदेखि अहिले छोरी गङ्गासम्मलाई स्वकीय सचिव बनाउने ुनराम्रो अभ्यासु सुरु गरेको उहाँको बुझाइ छ।
नातिनीको विवाहसम्म आइपुग्दा प्रचण्डले ूसैद्धान्तिक, राजनीतिक र करिअरकै हिसाबले ब्लन्डर गरेकोू रोका बताउँनुहुन्छ।
“वहाँले यति ठूला गल्ती गर्दै जानुभयो, कम्युनिस्ट नेता हुँ, मैले राम्रो आचरण राख्छु र जनताको पक्षमा काम गरिरहन्छु भन्नु झुटो कुरा हो”, विश्लेषक रोका भन्नुहुन्छ,”हाँले आफ्नो हिसाबले आत्म समीक्षा गर्नुपर्छ र यही गतिले निरन्तरता दिनुको अर्थ पनि छैन।”
प्रचण्डको दोधार
द्वन्द्वकालमा माओवादी राजनीतिमा संलग्न रहिसकेका राजनीतिक विश्लेषक मुमाराम खनालका विचारमा प्रचण्डसामु यतिखेर लोकतान्त्रिक मुलुकको सत्ता र कम्युनिस्ट पृष्ठभूमिको राजनीतिबीचको दोधार देखिन्छ।
“त्यस्तोमा संस्थाप्रति होइन स्वयं व्यक्तिप्रतिको विश्वास निकै उच्च हुन्छ”, खनालको भनाइ छ, “संस्थाप्रतिको विश्वास हो भने परिवारबाट मात्र होइन कैयौँ ठाउँमा दलबाट पनि मुक्त गर्नुपर्छ।”
उहाँले ‘प्रचण्डको परिवारको सदस्य भएकै कारण मात्रु भूमिका पाएको देखिन’लाई चिन्ताजनक मान्नुभयो।
“प्रचण्डनिकट रहेकै कारण र पारिवारिक निकटता भएकै कारण मात्र जिम्मेवारी पाउँदा त्यसले देशका लागि नतिजा दिँदैन।”
तर त्यो ‘नेतृत्वलाई केन्द्रीकृत गर्ने प्रचण्डको घोषित सोच’ अनुसार नै रहेको खनाल मान्नुहुन्छ।
“त्यो शक्तिमा कुनै पनि प्रकारको अवरोध नहोस् भनेर उहाँले पार्टीबाट समेत आफ्ना मान्छे र आफन्तहरूलाई कुनै न कुनै नियुक्ति दिनुभएको छ।”


















