Prakash Adhikari December 27, 2023

काठमाडौं, ११ पौष । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि हालै जारी गरेको नेपालसम्बन्धी ‘ट्राभल एड्भाइजरी’ले अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन्।

अमेरिकाले गत साता जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा आफ्ना नागरिकहरूलाई नेपाल जाँदा सावधानी अपनाउन भनिएको छ।

त्यसले गर्दा नेपालको ‘तङ्ग्रिँदै गरेको’ पर्यटन क्षेत्रमा नकारात्मक असर पनि पर्न सक्ने विज्ञहरूको भनाइ छ।

अमेरिकाले ूराजनीतिक हिंसाूको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई सूचित गरेको छ।

कूटनीतिज्ञहरूले चाहिँ अहिले नेपालको अवस्था त्यस्तो नभएकाले नेपाल सरकारले अमेरिकालाई “यहाँको अवस्था सामान्य छ” भन्ने बुझाउन पहल गर्नुपर्ने सुझाव दिएका छन्।

अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा ूभिन्न किसिमको राजनीतिक हिंसाका कारण नेपालमा यात्रा गर्न सावधानी अपनाउनू सुझाव दिएको छ।

उसले लेभल २ भनेको एड्भाइजरीमा नेपालमा शान्तिपूर्ण हुने ठानिएका राजनीतिक प्रदर्शनहरू हिंसात्मक हुन सक्ने उल्लेख गरिएको छ। त्यस्ता प्रदर्शनहरूमा नेपाली अधिकारीहरूले बल प्रयोग पनि गर्न सक्ने अवस्था रहेको त्यसमा जनाइएको छ।

उक्त एड्भाइजरीमा नेपालमा हुने प्रदर्शनहरूमा नजान तथा ट्रेकिङ जाँदा वा पर्वतारोहण गर्दा एक्लै नजान पनि अमेरिकाले आफ्ना नागरिकहरूलाई सूचित गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले विभिन्न देशहरूको सुरक्षा लगातका अवस्थाहरूको विश्लेषण गरेर आफ्ना नागरिकहरूलाई यस्तो सुझाव दिने गरेको छ।

विदेश मन्त्रालयको वेबसाइटमा राखिएका विवरणहरूमा जनाइएअनुसार लेभल ४ को एड्भाइजरी जारी गरिएको देशमा भने उसले आफ्ना नागरिकहरूलाई भ्रमण नै नगर्न सूचित गर्ने गरेको छ।

त्यस्तै लेभल ३ को एड्भाइजरी जारी गरिएको देशमा गरिने यात्राबारे सकेसम्म पुनर्विचार गर्न भनेर सूचित गरिन्छ।

लेभल २ को एड्भाइजरी जारी भएका देशमा जाँदा भने उसले नागरिकहरूलाई सतर्कता अपनाउन र लेभल(१ को एड्भाइजरी जारी भएका देशमा जाँदा सामान्य सतर्कता अपनाउन भन्ने गरेको छ।

सन्देश र प्रभाव

अमेरिकी विदेश मन्त्रालयको ताजा ट्राभल एड्भाइजरीका कारण नेपालको अवस्था ठिक नभएको सन्देश दिने कूटनीतिज्ञहरूले बताएका छन्।

नेपालका दुई पूर्वप्रधानमन्त्रीका कूटनीतिक मामिला सल्लाहकार रहिसकेका पूर्वराजदूत दिनेश भट्टराई भन्नुहुन्छ, “यसले अन्तर्राष्ट्रिय रूपमा नेपालको अवस्था ठिक छैन भन्ने सन्देश जान्छ। तर अहिले अवस्था सामान्य भएको बेलामा यो किन आयो बुझ्न सकिएन।”

उहाँले नेपालस्थित अमेरिकी राजदूतावास र यहाँस्थित अमेरिकी संयन्त्रहरूले दिएको जानकारी र सूचनाका आधारमा यस्तो एड्भाइजरी जारी गर्ने चलन रहेको आफूले बुझेको बताउनुभयो।

अमेरिकीहरूले नेपालमा ूनिकट राजनीतिक हिंसाूको सङ्केत पाएर पनि त्यस्तो एड्भाइजरी जारी गरेको हुन सक्ने अनुमान गर्न सकिने तर देशभित्र त्यस्तो सङ्केत नदेखिएको भट्टराईको भनाइ छ।

दक्षिण एशियाली अध्ययन केन्द्र नेपालका निर्देशक तथा कूटनीतिक मामिलाका विज्ञ निश्चलनाथ पाण्डे आफ्ना नागरिकको सुरक्षाका लागि कुनै पनि देशले त्यस्तो एड्भाइजरी जारी गर्नु अस्वाभाविक नभएको ठान्नुहुन्छ।

तर त्यसबाट नेपालबारे नकारात्मक सन्देश जाने र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने उहाँको भनाइ छ।

पाण्डे भन्नुहुन्छ, “आफ्ना नागरिकको सुरक्षामा चासो देखाउनु र सचेत गराउनु अमेरिकी सरकारका लागि स्वाभाविक कुरा हो।”

“तर यसले नेपालमा शान्ति छैन, विदेशी पर्यटकका लागि सुरक्षित छैन भन्ने सन्देशले भर्खरै तङ्ग्रिन लागेको पर्यटन उद्योगका लागि प्रतिकूल प्रभाव पार्छ।”

‘खासै ठूलो प्रभाव पार्दैन’

अमेरिकाका लागि नेपालका पूर्वराजदूत युवराज खतिवडाका भनाइमा त्यस्तो एड्भाइजरीले अन्तर्राष्ट्रिय रूपमा त्यस्तो ठूलो प्रभाव नपार्ने देखिन्छ।

उहाँ भन्नुहुन्छ “एक वाक्यमा भन्दा यसले केही प्रभाव पार्दैन। उनीहरूको यो नियमित समीक्षा हो। कहिले छ ( छ महिनामा गर्छन्, कहिले आवश्यताअनुसार गर्छन्।”

“अहिले न सडकमा हिंसा भएको छ न त कुनै विदेशीलक्षित गतिविधि नै भएका छन्। अमेरिकी नागरिक वा पर्यटकमाथि हमला पनि भएको छैन। त्यसैले यसको व्यापक प्रभाव होला जस्तो मलाई लाग्दैन।”

डा.खतिवडाले नेपालमा आउने पर्यटकका हकमा पनि यसको ठूलो नकारात्मक असर होला भन्ने आफूलाई नलागेको तर पछिका लागि योजना बनाउनेहरूलाई केही प्रभाव पनि पर्न सक्ने बताउनुभयो।

“यस्तो नभएको भए हुन्थ्यो। यसलाई हामीले स्वभाविक रूपमा लिनुपर्छ र नेपालबारे निरन्तर रूपमा सकारात्मक कुरा फैलाउन काम गर्नुपर्छ,” उहाँले भन्नुभयो।

पर्यटक आगमनमा असर पर्न सक्ने

सरकारी विवरण हेर्दा नेपालमा अहिले आउने पर्यटकमध्ये अमेरिकीहरूको सङ्ख्या ठूलो छ।

अमेरिकी नागरिकहरूले त्यहाँको सरकारले जारी गर्ने यस्ता एड्भाइजरीलाई गम्भीर रूपमा लिने भएकाले त्यसको प्रभाव नेपालमा देखिन सक्ने विज्ञहरूको भनाइ छ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार यस वर्षको नोभेम्बर महिनामा कुल एक लाख ८,६३० पर्यटक आएकामा भारतपछि अमेरिकाबाट धेरै पर्यटक आएका छन्। अमेरिकाबाट नोभेम्बर महिनामा मात्र ११,४६१ जना पर्यटक नेपाल भित्रिएका छन्।

यद्यपि त्यो भारतको तुलनामा आधा कम हो।

“अहिले नेपालमा पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ र त्यसमा अमेरिकीहरूको सङ्ख्या पनि उच्च छ। यस्तो खालको एड्भाइजरीले त्यसमा नकारात्मक प्रभाव पर्न सक्छ,” नेपाल पर्यटन बोर्डकी डिजिटल मार्केटिङ (जनसम्पर्क विभाग)की प्रबन्धक श्रद्धा श्रेष्ठले भन्नुभयो।

“अहिले नेपालमा अवस्था त्यस्तो नभएकाले हामी यसबारे अमेरिकी दूतावाससँगका छलफलहरूमा कुरा उठाउँछौँ र त्यसबारे पहल पनि गर्छौँ।”

श्रेष्ठका भनाइमा पछिल्लो समयमा अमेरिकाका कतिपय चर्चित व्यक्तिहरू तथा सामाजिक सञ्जालमा चर्चित मानिसहरूलाई नेपालमा निम्त्याएर घुमाएपछि उनीहरूले प्रवाह गरेको सन्देशले अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ।

“यो एड्भाइजरीका कारण कसैले आफ्नो यात्रा रद्द गरेको त जानकारीमा आएको छैन। नेपाल घुम्ने योजना बनाउनेहरूलाई भने प्रभाव पार्न सक्छ। तर हामी सकारात्मक सन्देश प्रवाह गर्न निरन्तर काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

कूटनीतिक क्षेत्रका विज्ञहरू नेपालको अवस्था सामान्य रहेकाले सकारात्मक सन्देश प्रवाह गर्न नेपाल सरकार सक्रिय हुनुपर्ने सुझाव दिन्छन्।

पाण्डेले भन्नुभयो “यसमा सक्रिय हुनुपर्ने नेपाल सरकारको जिम्मेवारी हो।”

अहिले नेपाल शान्त देखिएको छ तर फागुन लागेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ भने व्यवसायी दुर्गा प्रसाईँले पनि फागुन लागेपछि राजतन्त्र फर्काउने घोषणा गर्नुभएको छ । अमेरिकी सूचना संयन्त्रले यिनै हल्लाको आधारमा नेपाललाई ट्राभल एड्भाइजरीको लिष्टमा राखेको अनुमान गरिएको छ ।

(स्रोतः बीबीसी न्युज नेपालीमा विष्णु पोखरेलको रिपोर्टिड.)

 

Share Now