पोखरा(कास्की),२२ बैशाख । स्थानीयतहमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धनमा सहयोग पुरÞ्याउने उद्देश्यले सञ्चालन गरिएको “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका” विषयक गोष्ठी हालै सम्पन्न भएको छ ।
प्रदेश नं ४ अन्तर्गतका स्थानीयतहका प्रमुख,उपप्रमुख तथा प्रशासकीय प्रमुखहरुको सहभागिता रहेको गोष्ठी समापनका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जनताको ढोकामा सेवा पुर्याउन सक्नुमा नै स्थानीय सरकारको सार्थकता रहने बताए ।
कार्यवाहक प्रमुख आयुक्त घिमिरेले लोकतान्त्रिक शासन पद्धति भनेकै कानुनको शासन भएकोले नियतिले होइन नीतिले, प्रवृत्तिले होइन पद्धतिबाट निर्देशित भएर कामगर्न सबैलाई आग्रह गर्दै जनप्रतिनिधिहरु विधि र पद्धति अनुरुप काम गर्न आग्रह गरे ।
समाजका सबै तह र निकायमा हुने अनुचित तथा भ्रष्टाचारजन्य कार्यको नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बताउदैँ कार्य वाहक प्रमुखआयुक्त घिमिरेले यसकालागि स्थानीय तहसंग सहकार्य गर्न आयोग तयार रहेको जानकारी दिए ।
कार्यवाहक प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूको कामबाट आमनागरिकले सुशासनको खोजी गर्ने भएकाले स्थानीयतहदेखि नै भ्रष्टाचारजन्य गतिविधिलाई दुरुत्साहन गरी सदाचार संस्कृतिको विकासलाई प्रोत्साहन गर्न आवश्यक भएको उल्लेख गरे ।
उनले स्थानीय सरकार सङ्क्रमणकालको स्थितिमा रहेकोले अहिले गरेका काममा भएको अनियमिततामा उन्मुक्ति नमिल्ने बताए । उनले जनप्रतिनिधिहरु सबैमा राज्यका कानुनहरुको यथेष्ट जानकारी नभए पनि कर्मचारीहरुले उनीहरुलाई नीति नियम र कानुन अनुरुप काम गर्न सघाउनु पर्ने बताए ।
कार्यक्रममा कार्यबाहक प्रमुख आयुक्त घिमिरेले निर्वाचन प्रणाली खर्चिलो भएका कारण मुलुकमा बेथिति बढेकोतर्फ संकेत गर्दै यसमा सुधार ल्याउन स्थानीय तहमा समेत बहस आवश्यक भएको उल्लेख गरे ।
प्रदेश नं ४ का कास्की, लमजुङ्, तनहुँ, गोरखा र स्याङ्जाका स्थानीय जनप्रतिनिधहरुका लागि पहिलो दिन र बाँकी जिल्लाका लागि दोस्रो दिन आयोजना गरिएको गोष्ठीको अध्यक्षता आयोगका आयुक्त डा. गणेशराज जोशीले गरेका थिए । सो अवसरमा आयुक्त डा. जोशीले भ्रष्टाचार नियन्त्रण र सुशासन अभिबृद्धिमा जनप्रतिनिधिहरुबीचमा पनि एकापसमा प्रतिष्पर्धा हुन आवश्यक रहेको बताएका थिए ।
गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, सहसचिव द्वय कालीप्रसाद पराजुली र काशीराजदाहाल तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्वन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा प्रदेश नं ४ का प्रमुख सचिव लक्ष्मण अर्याल, पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जी सी लगायतका जनप्रतिनिधिहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न गोष्ठीमा यस प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय प्रमुखहरु गरी २ सय ५५ जनाको सहभागिता रहेको थियो ।
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने रणनीति अनुरुप आयोगको अगुवाइमा देशका सातै प्रदेशमा यस किसिमको अन्तक्र्रिया गोष्ठी सञ्चालन हुन प्रदेश नं १ को विराटनगर र प्रदेश नं २ को वीरगञ्ज र जनकपुर तथा प्रदेश नं. ३ को काठमाडौंमा गोष्ठी सम्पन्न भइसकेको छ भने ५ नं प्रदेश अन्तर्गत बुटवल र नेपालगञ्जमा वैशाख २६ र २८ गते, ६ नं प्रदेशको सुर्खेतमा आगामी जेठ १० र ११ गते तथा ७ नं प्रदेशको धनगढीमा जेठ १३ र १४ गते यस्तो गोष्ठी सञ्चालन हुने आयोगले जनाएको छ ।


















