Prakash Adhikari February 3, 2024

 

काठमाडौं, ‍२० माघ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल आर्मी र नेपाल प्रहरीबीच भीडन्त भैरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपाल प्रहरीले पहिले बलिङ रोजेको हो ।

नेपाल प्रहरीको विभागीय टोली अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । उसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । लिग चरणमा आर्मी नेपाल प्रहरीसंंगसँग १३ रनले पराजित भएको थियो ।

प्रधानमन्त्री क्रिकेट कपमा दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको र विनोद भण्डारीले नेपाल आर्मीको विभागीय टोलीको नेतृत्व गरेका छन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा दुई शतक हानेका छन् ।

नेपाल आर्मीेको विभागीय टिममा विनोद, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलम जस्ता खेलाडी छन् ।

यता नेपाल प्रहरीको विभागीय टिममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, अर्जुन साउद, सागर ढकाल, करण केसी र ललितनारायण राजवंशी लगायतका खेलाडी छन् ।

२०१७ को प्रधानमन्त्री कप फाइनल वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए ।

२०१९ मा नेपाल प्रहरीको विभागीय टिमले र २०२१ मा नेपाल आर्मीको विभागीय टिमले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली हो ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।

Share Now