कीर्तिपुर(काठमाडौं), २९ माघ । नेपालले क्यानडासंगको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृखलाका तीन वटै खेलहरुमा विजय हासिल गरेको छ ।
श्रृखला अन्तरगत आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालका ओपनर अनिल शाह र मध्यक्रमका ब्याट्म्यान भीम सार्की दुवैले शतक प्रहार गरेपछि नेपालले क्यानडाविरुद्ध ओडीआई सिरिज क्लिनस्विप गरेको हो ।
सोमबार कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।
अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित निकालेको हो । नेपालले यसअघिका पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो।
अघिल्लो खेलमा अर्धशतक बनाएका अनिलले आजको खेलमा १ सय १२ रनको योगदान दिए । भीम पनि १ सय १ रनमा नटआउट रहे । नेपालका लागि ओडीआईमा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो अवसर हो । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए भने भीमले १ सय २९ बलमा ११ चौका र १ छक्काले १ सय १ रन जोडेका थिए ।
अनिल र भीमको जोडीले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी बनाएको कीर्तिमान पनि कायम गरेको छ । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम आठौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१ सय २६), पारस खड्का (१ सय १५), कुशल भुर्तेल (१ सय १५), आसिफ शेख (१ सय १०), कुशल मल्ल (१ सय ८) र दीपेन्द्रसिंह ऐरी (१ सय ५) ले शतक बनाएका थिए ।
अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।
पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि अनिलले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए । उनलाई डिलोन हेलिगरले बोल्ड गरेका थिए ।
त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो । नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए । धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले ३१ रन जोडे ।
क्यानडालाई रोक्ने क्रममा नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिएका थिए । नेपालका लागि कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १।१ विकेट हात पारे ।
नेपालले पहिलो पटक घरेलु सिरिजमा क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा भएको पपुवा न्युगिनीविरुद्ध २ खेलको सिरिज २(० ले जितेको थियो । घरेलु भूमिमा भने नेपालले यूएईविरुद्ध ओडीआई सिरिज २-१ ले विजयी भएको थियो ।


















