Prakash Adhikari February 16, 2024
भैरहवा (रुपन्देही), ४ फागुन ः  फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हँुदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ ।
गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हँुदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको छ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।
विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताउनुभएको छ । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उहाँको भनाइ छ ।
हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उहाँ बताउनुहुन्छ । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रुपमा रहेका छन् ।
प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसंग सीमित स्रोत  साधन रहेको बताउनुभयो । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,” उहाँले भन्नुभयो, “हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।”
उहाँले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताउनुभयो । यसका लागि स्थानीय निकायहरुसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उहाँको भनाइ छ । उहाँको सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने तर्क छ ।
दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरुको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउनुहुन्छ । उहाँले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताउनुभयो । “चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरुमा व्यस्त हुने गरेको छ,” उहाँले भन्नुभयो, “यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ ।”
अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उहाँको भनाइ छ । यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उहाँको आरोप छ ।  जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्याैल हुनुपर्ने धारणा राख्नुभयो । खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्ययोजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी पाँच सय २७ जनाले ज्यान गुमाएका थिए । सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७८/०७९ मा एक हजार एक सय ६४ सवारी दुर्घटनामा परी पाँच सय ५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार एक सय २३ जना गम्भीर घाइते तथा पाँच सय १७ जना सामान्य घाइते भएका थिए ।
आव २०७९/०८० मा भने आठ सय ९२  सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा सात सय ९९ जना गम्भीर घाइते तथा चार सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।
भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग
 देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गर्नुभयो । महासङ्घले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नंको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो । महासङ्घले उक्त भवितव्य दुर्घटनाबाट मृत्यु भएका आम यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उपचारका क्रममा रहेको घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भवितव्य रुपमा भएको दुर्घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गर्नुभयो  । उहाँले दुर्घटनामा घाइते भएकाको उपचारको जिम्मेवारी लिनसमेत सरकारसँग माग गर्नुभएको छ । महासङ्घले देशका विभिन्न भागमा भवितव्य रुपमा हुने सडक दुर्घटनामा केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठनको सहभागिता रहने गरी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोध गरेको छ ।
Share Now