Prakash Adhikari October 26, 2017

काठमाडौं, ९ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को नयाँ कार्यसमिति चयनका लागि प्रजातान्त्रिक र वाम गठबन्धनसम्बद्ध पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

नयाँ कार्य समितिका लागि १२ कात्तिकमा चुनाव हुँदैछ । उमेदवारी दर्ता गर्ने समय बिहीबार साँझ सकिएको छ । अध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परेको टानले जनाएको छ ।

टानका अनुसार प्रजातान्त्रिक समूहबाट मोहन लम्सालको उम्मेदवारी परेको छ । वाम गठबन्धनबाट अध्यक्षका लागि नवराज दाहालले उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी नुरुजाङ्बु शेर्पाले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन नगराई सर्वसम्मत नयाँ कार्यसमिति चुन्ने प्रयास पनि भइरहेको छ । तर, त्यसका लागि भएका छलफलहरु फलदायी हुन नसकेको टानका महासचिव कर्ण लामाले जानकारी दिए ।

उनले भने, ‘टानलाई सकेसम्म राजनीतिभन्दा बाहिर राखेर सर्वसम्मत रुपमै नयाँ नेतृत्व चुनौं भनेर लागिपरेका छौं ।’

प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा चेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको छ । यस्तै, कोषाध्यक्षमा सुवास केसी र सह(कोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, महासचिवमा आङ्तेम्बा शेर्पा र सचिवमा सुजन लामिछानेको उम्मेदवारी परेको छ । यस्तै, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह(कोषाध्यक्षमा तारा रानाले उमेदवारी दर्ता गराएका छन् ।

 

 

Share Now

Leave a comment.