Prakash Adhikari February 23, 2024

सञ्जय ढकाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, ११ फागुन । अब सगरमाथा आरोहण गर्न जाँदा प्रत्येक आरोहीले सरकारले उपलब्ध गराउने विद्युतीय चिप्स लैजानैपर्ने योजना बनाएको अधिकारीहरूले बताएका छन्।

पर्वतारोहीको विशेष पोसाकमा विद्युतीय चिप्स जडान गर्नुपर्ने नियम यही वसन्त यामदेखि नै लागु हुने छ।

पर्वतारोहीको ज्याकेटमा त्यस्तो चिप जडान गरिने र त्यसले पर्वतारोहण थप सुरक्षित बन्ने उनीहरूको अपेक्षा छ।

“हामीले खोज तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउनका निम्ति आरोहीहरूको पोसाकमा चिप जडानलाई अनिवार्य बनाउने भएका छौँ,” पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो।

कुनै आरोही दुर्घटनावश वा अन्य कारणले उच्च हिमाली क्षेत्रमा हराएको खण्डमा तिनलाई सहज रूपमा खोज तथा उद्धार गर्न त्यस्तो चिप सहायक हुने उहाँको भनाइ छ।

“अन्तर्राष्ट्रिय बजारमै परीक्षित अनि प्रयोग भएका गुणस्तरयुक्त चिपहरू एजेन्सीमार्फत् दिने गरी हामी प्रयोगमा ल्याउँछौँ। अनि त्यसलाई पत्ता लगाउने डिटेक्टर प्रणाली पनि व्यवस्थित गर्नुपर्ने छ,” गुरुङले भन्नुभयो।

चिपको मूल्य १० देखि १५ डलर पर्ने उहाँले बताउनुभयो।

‘हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणमा ब्याटरीमा निश्चित समयमा सकिने समस्या आउने हुँदा तीभन्दा चिपको उपयोग बढी उपयोगी हुने उहाँ ठान्नुहुन्छ।

हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिपबाट पत्ता लगाउन थप सहयोगी हुनसक्ने ठानिएको छ।

चिप उत्पादकहरूसँग अहिले सरकारले छलफल गरिरहेकाले सबभन्दा विश्वसनीय र प्रभावकारी हुने किसिमका चिप चयन गरिने बताइएको छ।

कतिपय आरोहीहरूलाई उच्च हिमाली क्षेत्रमा लेक लागेर दिग्भ्रमित हुने वा कुनै क्रिभास ९खर्पस०मा खसेर हराउनसक्ने जोखिम हुने गर्छ ।

‘सकारात्मक कदम’

पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप जडानको योजना सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले बताउनुभयो।

खास गरी सगरमाथा आरोहणको हकमा आरोहीहरूको साथमा अन्य गाइड तथा टोली रहने हुँदा हराउने समस्या कमै हुने भए पनि चिपको प्रयोगले दुर्घटनाका बेला खोजी र उद्धार सहज बनाउने उहाँ ठान्नुहुन्छ।

व्यक्तिगत आरोहण वा उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूका निम्ति भने यो प्रणाली झन् लाभदायी हुने शेर्पाले भन्नुभयो।

“तर जे नयाँ कुरा पनि पहिले गरेर त हेर्नुपर्छ। यो सकारात्मक कुरा नै हो,” उहाँले भन्नुभयो।

मध्यरातमा सगरमाथाबाट शेर्पाहरूले यसरी गरे अचेत विदेशी आरोहीको उद्धार
कतिपय आरोहीहरूलाई उच्च हिमाली क्षेत्रमा लेक लागेर दिग्भ्रमित हुने वा कुनै क्रिभास (खर्पास)मा खसेर हराउन सक्ने जोखिम हुन्छ।

गत वर्ष सगरमाथा आधारशिविर नजिकैको खुम्बु आइसफल क्षेत्रमा तीन शेर्पा खर्पासमा खसेर बेपत्ता भएका थिए।

उद्धारको आवश्यकता

उच्च हिमाली क्षेत्रमा उद्धारकार्यहरूको समन्वय गर्दै आएको संस्था हिमालयन रेस्क्यू एसोसिएशनले पनि नयाँ योजनाको स्वागत गरेको छ।

“खोजी र उद्धारमा यस्ता योजना सहायक नै हुन्छन्,” एसोसिएशनका उपाध्यक्ष कुमार रानाभाटले बताउनुभयो।

रानाभाटका अनुसार सामान्यतया प्रत्येक याममा १० १५ वटा उद्धारकार्य गर्ने अवस्था आइपर्छ।

“मौसम बिग्रियो भने चाहिँ त्योभन्दा धेरै सङ्ख्यामा उद्धार गर्नुपर्ने पनि हुन्छ,” उहाँले भन्नुभयो।

एसोसिएशनले सगरमाथा आधारशिविरमै टेन्टमा अस्थायी स्वास्थ्यशिविर सञ्चालन गर्ने गरेको भन्दै कतै माथि कुनै दुर्घटना भएमा हेलिकप्टर कम्पनी तथा एजेन्सीहरूसँग सम्पर्क र समन्वय गरेर उद्धारकार्य गराउने उहाँले बताउनुभयो।

Share Now