काठमाडौँ, १३ फागुन । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो ।
खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ ।
यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बताउनुभयो ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ । डा गौतमका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको छ । ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने उहाँले जानकारी निुभयो ।
उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो ।
लक्षण
दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।
दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी
आजदेखि सुरु भएको दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन आयोजना गरेर खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गर्नुभयो । “खोपले ८५ प्रतिशतलाई दादुरा रुवेलासँग लड्ने क्षमता विकास गर्दछ,” उहाँले भन्नुभयो । खोपलाई दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने र खोप लगाउँदा मासुमा लगाउनुपर्ने विभागले जनाएको छ ।
दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै यही फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गुणस्तरययुक्त भनी प्रमाणित भएको र औषधि व्यवस्था विभागले मान्यता दिएकाले खोप सुरक्षित रहेको बताउनुभयो । उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली गठन गरिएको बताउनुभयो । खोप भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सवै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ ।
जाजरकोट र पश्चिम रुकुममा गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप शाखाका प्रमुख डा. गौतमले हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्ल्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियो विरुद्धको खोप पनि सञ्चालन हुने छ । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उहाँले बताउनुभयो ।
अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो ।
गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई खोप
गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप २ लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका नौ महिना उमेर पूरा गरी पाँच वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिने योजना छ ।
गण्डकीमा यही फागुन १३ देखि चैत ७ गतेसम्म सबै स्वास्थ्य संस्था र खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकीका नवलपरासी बर्दघाट९सुस्ता पूर्व० जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाको खोप प्रदान गरिने छ भने अन्य बाँकी जिल्लामा नौ महिना पूरा गरी पाँच वर्षभित्रकालाई दिइनेछ ।
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन अन्तिमदेखि मात्र अभियान सुरु हुनेछ । चिसो मौसमका कारण दुई जिल्लामा दुई सातापछि मात्र कार्यक्रम सुरु हुनेछ । “बेलाबेलामा नेपालमा दादुराको महामारी फैलिने गरेकाले यस प्रकारको खोप अभियान अझै प्रभावकारी ढङ्गले गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसैले समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ”, पौडेलले भन्नुभयो ।
गण्डकी प्रदेशसमेत दादुरा रुबेलाबाट अछुतो नरहेकाले खोप कार्यक्रम प्रभावकारी र व्यवस्थित हुने बताइन्छ । हालै मात्र तनहुँको शुक्ला गण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखापरेको पौडेलले जानकारी दिनुभयो ।
खोपका लागि प्रदेशमा २ हजार ८ सय ८९ खोप सेसन सञ्चालन हुनेछन् । खोप लगाउनका लाग २ हजार ८ सय ८९ जना स्वास्थ्यकर्मी र ५ हजार ७ सय ७८ स्वयंसेवक परिचालित हुने निर्देशनालयले जनाएको छ ।
कास्कीमा ३४ हजार ९ सय २५, लमजुङ ९ हजार ८ सय १५, नवलपरासी १ लाख २२ हजार, तनहुँमा २० हजार ४ सय ८०, पर्वतमा ८ हजार ६ सय ११ र बागलुङमा २० हजार जनामा खोप दिइनेछ ।
यसैगरी गोरखामा १७ हजार ७ सय ४, स्याङ्जा १६ हजार र म्याग्दीमा ६ हजार ५ सय जना बालबालिकालाई खोप दिने योजना रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका मेडिकल सर्भिलेन्स अफिसर डा रामु शर्माले दादुरा रुबेलाको सुई सुरक्षित र प्रभावकारी रहेको बताउनुभयो । खोपपछि कोही कसैमा सामान्य ज्वरो आए पनि अन्य जटिल स्वास्थ्य समस्या नआउने उहाँको भनाइ छ ।
“खोपमा कुनै पनि शङ्का छैन । सुरक्षित र अत्यन्त प्रभावकारी समेत छ । डा शर्माले भन्नुभयो, “खोपपछि कसैलाई सामान्य ज्वरो आउन सक्ने भए पनि पछि त्यो आफैँ हराएर जान्छ ।” डा शर्माले खोप लगाएपछि यदी कुनै अवान्छित घटना भई हालेमा उपचारका लागि (एएफआइ) टोली सबै जिल्लामा खटिएको बताउनुभयो ।
दादुरा तथा रुबेला दुवै रोग अत्यन्त सङ्क्रामक रहेको र बालबालिकालाई यी रोगले बढी सङ्क्रमण गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । नेपालमा ४५ वर्षदेखि दादुराको खोप र पछिल्लो एक दशकभन्दा बढी समयदेखि रुबेलासमेतको गरी संयुक्त रुपमा १६ हजारभन्दा बढी खोप केन्द्रबाट प्रदान गर्ने गरिएको छ ।
सन् २००४ देखि हालसम्म हरेक चार÷चार वर्षमा अभियानका रुपमा पनि यो खोप लगाइदै आइरहे पनि बेला बेलामा महामारी फैलिने गरेको छ ।
तनहुँका १९ हजार बालबालिकालाई खोप
तनहुँका १९ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले आगामी फागुन १५ गतेदेखि २७ गतेसम्म जिल्लाका १० वटै पालिकाका १९ हजार १ सय ३३ जना बालबालिकालाई खोप लगाउन लागेको हो ।
जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पहिलो चरणमा फागुन १५ गतेदेखि १९ गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन २२ गतेदेखि २७ गतेसम्म भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।
खोप अभियानका लागि जिल्लाका २ सय ३८ खोप केन्द्रमा दुई सय ३८ स्वास्थ्यकर्मी, चार सय ६६ स्वयंसेवक र प्रत्येक पालिकामा एक जना चिकित्सक सहभागी हुने अधिकारीले बताउनुभयो ।
समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याइ यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पु¥याउन अभियान सञ्चालन गर्न लागिएको हो ।
खोपको पहँुचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोप केन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ ।
दादुरा र रुबेला दुवै रोग भाइरसबाट हुने र यसले महामारीको रुप लिन सक्ने भएकाले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम, जिल्लास्तरमा अभिमुखीकरण, सबै पालिकामा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
कार्यालयले अभियानकै क्रममा सबै घरधुरीमा सन्देशमूलक कार्ड वितरण गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सन्देशमूलक कार्ड वितरण गर्न लागिएको हो । “अझै पनि खोपबाट बालबालिका वञ्चित रहेकोले उनीहरुलाई खोपको पहुँचमा ल्याउन निमन्त्रणा कार्ड बाँड्ने तयारी गरेका छौँ”, अधिकारीले भन्नुभयो, “कार्ड वितरणपछि छुटेका बालबालिका खोपको पहुँचमा आउने विश्वास गरिएको छ ।”
मोरङमा फागुन १३ देखि दादुरा–रुवेलाको खोप अभियान
मोरङ, ११ फागुन स् मोरङ जिल्लामा यही फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान सञ्चालनबारे जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुको बैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाइने जानकारी दिइयो ।
मोरङका १७ वटै स्थानीय तहका एक सय ५९ वडाका नौ महिना देखि १५ वर्षसम्मका दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताउनुभयो । उहाँका अनुसार नौ महिना देखि ५९ महिनाभित्रमा ८० हजार चार सय ५५ र पाँच वर्षदेखि १५ वर्षसम्मका दुई लाख आठ सय आठ गरी दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने भएको हो ।
मोरङमा एक हजार पाँच सय ८८ खोप केन्द्र, तीन हजार एक सय ७० स्वास्थ्यकर्मी र चार हजार सात सय ६४ जना स्वयंसेवक परिचालन हुने बताइएको छ । दादुरा रुवेलाविरुद्धको राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गतेसम्म भए पनि मोरङमा चैत २ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जहदा गाउँपालिकाबाट अभियानको शुभारम्भ गरिने कार्यालय प्रमुख डा मेहताले बताउनुभयो । मोरङमा पहिलो चरणमा मिक्लाजुङ्ग, लेटाङ्ग, केराबारी, वेलबारी, सुन्दरहरैचा, विराटनगर, जहदा, कटहरी, बूढीगङ्गा, ग्रामथान र फागुन २९ गतेदेखि दोस्रो चरणमा धनपालथान रङ्गेली सुनवर्षी रतुवामाई उर्लावारी कानेपोखरी र पथरीशनिश्चरेमा अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
दक्षिणपूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान सुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिए पनि सम्भव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सन् २०२२÷२३ मा नेपालको धेरै जिल्लामा दादुरा रुवेलाका बिरामी देखा परी महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।
दादुरा रूवेला निवारणका लागि दादुरा खोपको दुवै ९पहिलो र दोस्रो ० मात्राको प्रगति सबै तहमा ९५ प्रतिशतभन्दा धेरै भएको हुनुपर्ने आधार र सर्तहरू रहेको छ । दादुरा–रुवेलाविरुद्धको खोपको राष्ट्रिय अभियानमा सबै पक्षको सहयोग आवश्यक भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्क गौतम, निजी अस्पताल सञ्चालकको सङ्घ अफिनका कोशी प्रदेश अध्यक्ष डा शङ्कर अधिकारीलगायतले बताउनुभयो ।
काठमाडौँका छ लाख बालबालिका समेटिँदै
स्सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिनुभयो । उहाँले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताउनुभयो ।
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उहाँले बताउनुभयो । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।
काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।
मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइने
मुलुकभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ ।
नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यही फागुन १३ गतेदेखि १९ गतेसम्म खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले आज जनाएको छ । सो खोप अभियानअन्तर्गत पाँच सय २० केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा तीन सय ४० स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप दिइने छ । लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको घिमिरेले बताउनुभयो ।
सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न सरकारले प्रतिबद्धता गरेको थियो । नेपालभरि गत आर्थिक वर्षमा एक हजार तीन सय ५० मा दादुरा–रुबेला रोग देखिएकामा मकवानपुरमा ४० जना सङ्क्रमित भेटिएको थियो ।
बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्लामा पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील
यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्वको खोप लगाइँदैछ । रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरु सक्रियताका साथ लागेका छन् ।
‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरु परिचालन भएका छन् । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवं ढुवानी गरिएको जनस्वास्थ्य प्रमुखले बताउनुभयो ।
यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्वको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ ।
आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरूपले आ–आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै
स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ ।
कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो । खोप सेवा प्रदान गर्न कार्यालयले २ सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार १ सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।
पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताउनुभयो । खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिका समेटिउन् भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताउनुभयो । “अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ”, उहाँले भन्नुभयो, “दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकाले यसलाई सफल पार्न सबै सरोकारवालामा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”
खोप लगाउन घरघरमा निमन्त्रणा
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिनुभएको हो ।
उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उहाँले खोप लगाउनका लागि धार्मिक समूह र सीमान्तकृत समुदायसँग अन्तरक्रिया गरिने जानकारी दिनुभयो । नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ ।
महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप नलगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खोप लगाउने तर पछिल्ला खोप निरन्तर नलगाउने समस्या बढ्दै गएको पाइन्छ ।”
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन यसका अवरोध हटाउन आवश्यक भएको बताउनुभयो । स्वास्थ्य कार्यालय, बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको जानकारी दिँदै विद्यालयमा पहँुच नभएकालाई उमेर समूहका हिसाबले खोप लगाउने बताउनुभयो । यही फागुन १३ देखि १९ गतेसम्म उपमहानगरमा नौ महिनादेखि १५ वर्षसम्मका ४२ हजार दुई सय ७० बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेला रोग निवारणको लक्ष्य राखेको छ ।
खोप अभियान प्रभावकारी नभएका कारण अघिल्लो वर्ष नेपालगन्जमा दादुराको महामारी देखिएको थियो । सो महामारीबाट तीन सय १९ जना सङ्क्रमित भएका थिए भने एकजनाको मृत्यु भएको थियो ।
जुम्लाका १० हजार बालबालिकालाई खोप
जुम्लाका करिब १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा १५ महिनादेखि पाँच वर्षमुनिका १० हजार सात जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यही फागुन १३ गते (भोलि) देखि खोप दिइने कार्यक्रम रहेको कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ ।
अभियानका लागि ९५ जना स्वास्थ्य क्षेत्रका जनशक्ति परिचालन हुने सापकोटाले बताउनुभयो । जिल्लाभर एक सय ६० खोप केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणअन्र्तगत चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म तथा दोस्रो चरणमा तिला, हिमा, सिङ्जा र कनकासुन्दरी गाउँपालिकामा फागुन १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिनुभयो ।
कालीकोटका १७ हजारलाई दादुरा खोप दिइने
कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार ४ सय १७ बालबालिकालाई खोप दिने जनाएको छ ।
पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान सुरु गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।
यस्तै रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने उहाँको भनाइ छ । यसअघि जिल्लामा सञ्चालन गरिएको टाइफाइडविरुद्धको खोप ४९ हजार नौ सय छ जनाले लगाएका थिए । यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत भएको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो ।
यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिनुभयो ।
कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कैलालीमा दुई लाख ४० हजार सात सय ५८, कञ्चनपुरमा एक लाख ६५ हजार पाँच सय ३२, डडेल्धुरामा ११ हजार सय सय २३, डोटीमा १८ हजार दुई सय ९५ र बैतडीमा २१ हजार तीन सय २४ जना बालबालिकालाई खोप लगाइने छ ।
दार्चुलामा १० हजार चार सय १०, बझाङमा १८ हजार तीन सय ७६, बाजुरामा १३ हजार नौ सय ४२ र अछाममा २३ हजार तीन सय ७९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । खोप अभियानको तयारी पूरा भएको र औषधिलगायतका सामग्री सम्बन्धित खोप केन्द्रमा पु¥याइ सकिएको जनाइएको छ ।
प्रदेशभरि खोप अभियानमा छ हजार सात सय ६४ स्वास्थ्यकर्मी परिचालन, आठ हजार तीन सय ४० जना स्वयंसेवक खटिने तथा तीन हजार तीन सय ८२ वटा खोप सेसन रहने स्वास्थ्य निर्देशनायका निर्देशक डा जगदीश जोशीले बताउनुभयो । खोप अभियानमा दादुरा–रुबेला खोपको बाहेक नियमित खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी नियमित खोप पनि लगाइने उहाँले बताउनुभयो ।
हाल यस प्रदेशमा एक सय १५ दादुराका बिरामी रहेको निर्देशनालयले जनाएको छ । जसमध्ये बाजुरामा १८, कैलालीमा ५९ र कञ्चनपुरामा ३८ जना बिरामी रहेको जनाइएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य राखेको छ । खोप पूर्ण निःशुल्क र सुरक्षित हुने भएकाले सबैले आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर खोप लगाउन सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।
कञ्चनपुरमा दादुरा–रुबेला विरुद्ध खोप अभियान
कञ्चनपुरका नौ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९२ वडामा यही फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो ।
फागुन १३ देखि २१ गते (नौ दिन) सम्म सञ्चालन हुने अभियानमा जिल्लाका ५ सय ५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका १ लाख ३८ हजार एक सय १२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठरोग अधिकृत उद्धवबहादुर ठगुन्नाले जानकारी दिनुभयो । अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ ।
खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित तीन जनालाई खटाइने तयारी गरिएको ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार एक खोप केन्द्रमार्फत २ सय ५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन् । खोप अभियान कार्यक्रम सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सञ्चालन भइरहेका छन ।
गोष्ठीलाई वडासम्म पु¥याएर अभियानबारे जानकारी दिने कार्य भइरहेको क्षय–कुष्ठरोग अधिकृत ठगुन्नाले बताउनुभयो । “गोष्ठीमा दादुरा–रुबेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेबारे जानकारी गराउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थालाई निर्देशन, सल्लाह र सुझाव दिने कार्य गरिएको छ ।”
दादुरा–रुबेला निवारणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताउनुभयो । नगरपालिकाका १५ हजार बढी बालबालिकालाई उक्त खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
“दादुरा–रुबेला खोपका लागि गरिएको सर्भेक्षणमा कञ्चनपुरको शुक्लाफाँटामा दुई र कृष्णपुर नगरपालिकामा ३८ जना बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो”, भट्टले भन्नुभयो, “बसाइँसराइका कारण भारतलगायत अन्य क्षेत्रबाट आएका बालबालिकामा सङ्क्रमण भएको सर्भेक्षणमा पाइएको थियो ।” इँट्टाभट्टामा कम गर्ने व्यक्ति, मुक्तकमैया, सुकुम्वासी, भारतमा मौसमी बसाइँ सर्नेलगायत परिवारका बालबालिका अभिभावकसँगै काम गर्ने क्षेत्रमा जाने भएकाले पूर्ण खोप सुनिश्चितता हुन चुनौती रहेको उहाँको भनाइ थियो ।
सहरका घनाबस्ती, सुकुम्बासी बस्ती, उद्योग, कलकारखाना, बालमन्दिर, अनाथालय, अन्तदेशीय सीमा, बस पार्कलगायत क्षेत्रका बालबालिकालाई पहुँच पुग्ने गरी खोप केन्द्र राख्ने कार्य गरिएको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२६ सम्म रुबेला–दादुरा रोग निवारण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ ।
मुलुकका ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्ष उमेर समूह र कैलाली कञ्चनपुर सहितका २४ जिल्लाका नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अभियानअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको छ ।
दादुरा–रुबेला खोप अभियान २०७६÷७७ अनुसार नियमित खोप लगाएका बालबालिका ८४ प्रतिशत थियो । उक्त तथ्याङ्कलाई बढाएर यस वर्षको अभियानमा ९५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।
आव २०७९÷८० मा १९ जिल्लामा एक हजार तीन सय ३९ बालबालिकामा दादुरा महमारी देखिएको थियो । कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाको सङ्ख्यामा वृद्धी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म ७२ जिल्लाका सात सय ३३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । नुवाकोट, पर्सा लगायतका पाँच जिल्ला भने पूर्ण खोप घोषणा हुन बाँकी छन् ।
दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न÷गराउन, स्थानीय तहको साधनस्रोत जुटाउन र परिचालन गर्न सरोकारवाला सबैसँग समन्वय गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवँरले बताउनुभयो । उहाँका अनुसार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टको नेतृत्वमा तीन सदस्यीय एइएफआई समिति गठन गरिएको छ ।
खोप अभियान सञ्चालनका लागि टोलटोलमा विद्यालयमार्फत निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् । करिब १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन भने ५२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन ।