Prakash Adhikari February 26, 2024

 

काठमाडौं, १४ फागुन । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ ।

ब्यू इनर्जी कम्पनीले निर्माण गर्न लागेको यस आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्न प्रतिवद्धता जनाएका छन् ।

आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौताअनुसार आयोजनामा नेपाल इन्भेष्टमेन्टसहित कुमारी, ग्लोबल आइएमई, एभरेष्ट बैंक, हिमालयन, नेपाल एसबिआई र नबिल बैंकले १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गर्दैछन् ।

आयोजना सम्पन्न गर्न कूल १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बैंकले गर्ने लगानी ७५ प्रतिशत हो । प्रवद्र्धक कम्पनीले ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी गर्नेछ ।

यो आयोजना सर्राफ समूहको लगानीमा निर्माण हुन लागेको हो । लगानी जुटिसकेकाले २०७८ सालको मध्यदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरिने कम्पनीका प्रबन्ध निर्देशक बरुण सर्राफले बताउनुभयो ।

आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रोमेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसककेको छ । निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत मार्किचोक सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ । सर्राफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने त्रास

प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् ।

प्रदेश सभासदस्य कृष्ण सिलवालले विकासका नाममा पर्यावरण र नदीको अस्तित्व सङ्कटमा पर्न नहुने बताउनुभयो । उहाँले यसलाई रोक्न आफूले सक्दो पहल गर्ने जानकारी दिनुभयो । नेपाल ¥याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत आयोजनाले नदी किनारका ८४ जलयात्रा व्यवसायसँग सम्बन्धित कम्पनी सङ्कटमा पर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “होटल व्यवसाय, जलयात्रा र अन्य कम्पनीको गरी अर्बौं लगानी सङ्कटमा पर्छ । जलयात्रा पूर्णतया बन्द नै हुन्छ । तीन हजार पाँच सय पथप्रदर्शक र दश हजार मानिसको पेसा सङ्कटमा पर्छ । विकासको नाममा मजदुरको रोजीरोटी खोसिनु हुँदैन ।”

नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी सङ्कटमा पार्न हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “म विकास विरोधी भने होइन । नदी सुकाएर गरिने विकास दूभाग्यपूर्ण छ ।” कार्यक्रममा स्थानीय प्रतिनिधिले नदीलाई जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा)ले जथाभावी जलविद्युत आयोजना निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको जनाउँदै यसअघि विरोध गर्दै आएको थियो ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक काम अघि बढाइएको छ । । नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा जलयात्रा गर्न जाने व्यवसायीले जनाएका छन् । नेपालको नदीमध्ये त्रिशूली महत्वपूर्ण नदी हो । यसलाई मास्न खोजिएको जनाउँदै व्यवसायीले आपत्ति जनाएका हुन् ।

त्रिशूली सरकारले जलयात्राका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो । जलयात्रा, रिसोर्टलगायतमा रु पाँच अर्ब लगानी छ । यसमध्ये ३० प्रतिशत त्रिशूली नदीभित्र छ । यहाँ जलविद्युत गृह बनाउँदा नदीको पानी सुकेर अर्बौं लगानी डुब्ने व्यवसायीको तर्क छ ।

Share Now