Prakash Adhikari March 2, 2024

काठमाडौँ, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।

अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताउनुभयो ।

“गुरूकूल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन, आफ्नो देशका तीर्थस्थलको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “२० वर्ष अगाडि मुक्तिनाथजस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्वपूर्ण छ ।”

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ ।”

पञ्चकोटमा प्रधानमन्त्री  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आजै बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको थियो ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा उहाँलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गरी साथै गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्नुभएको छ ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य छ ।
पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तब्यका रुपमा विकास गरिने आयोजकले बताएका छन् ।

यही फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । पञ्चकोटमा रु ५० करोड बराबरको लगानीमा धार्मिक संरचना निर्माण भएका छन् । सञ्चालित ब्रह्माण्डीय महायज्ञबाट सङ्कलन भएको रकमबाट निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिइनेछ ।

Share Now