काठमाडौं, २६ फागुन । अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले कृत्रिम अक्सिजन नलिइकन यही बसन्त ऋतुमा अन्नपूर्ण १ आरोहण गर्ने घोषणा गर्नुभएको छ ।
आज राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आगामी दुई बर्ष(सन २०२६)भित्र विश्वका ८ हजार मिटरमाथिका १४ वटै हिमालको कृत्रिम अक्सिजनको सहायता विना आरोहण गरिसक्ने महत्वाकांक्षी योजना पनि सार्वजनिक गनुभएको छ ।
विश्वको १० औं उच्च शिखर मानिएको अन्नपूर्ण १ को उचाई ८ हजार ९१ मिटर रहेको छ ।
उहाँले २०२३ को २८ सेप्टेम्बरमा विना अक्सिजन नेपालको मनास्लु हिमालको सफल आरोहण गर्नुभएको थियो । मनास्लु विश्वको पाँचौ अग्लो हिमालमा पर्दछ । यसको उचार्इँ समुद्र सतहदेखि ८ हजार १ सय ६३ मिटर रहेको छ ।
यस पहिले उहाँले २०२३ को जुलाई १५ मा विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिकको पनि बिना अक्सिजन सफल आरोहण गर्नुभएको थियो । पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा पर्ने ब्रोडपिक काराकोरम पर्वतीय श्रृखलामा पर्दछ । यसको उचाईँ ८ हजार ५२ मिटर रहेको छ ।
अष्ट्रेलियाकी पर्वतारोहण पथप्रदर्शक समेत रहेकी एलीले बिना कृतिम अक्सिजनको उपयोग अग्ला हिमाल आरोहणको क्रम २००७ बाटै सुरु गर्नुभएको हो । उहाँले सो बर्ष तिब्बततिरबाट चोयू हिमालको आरोहण गर्नुभएको थियो । चो यूको उचाईँ समुद्र सतहदेखि ८ हजार १ सय ५० मिटर रहेको छ । यो संसारको सातौं उच्च हिमाल हो ।
पर्वतारोही एली पेपरले यसै बर्षको बसन्त ऋतुमा अन्नपूर्ण -१ को अलवा नेपालका कञ्चनजंघा र मकालु हिमालको पनि आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।
हिमाल आरोहणमा २३ बर्षको अनुभव संगाल्नुभएकी एली पेपरले महिलाहरुलाई प्रोत्साहन गर्न आफूले बिना अक्सिजन हिमाल आरोहणको चुनौतीपूर्ण लक्ष्य लिएको बताउनुभयो । मेरो आरोहण शैलीका कारण तोकिएको समयमा लक्ष्य हासिल गर्न सक्नेछु भन्नेमा म विश्वस्त छु । यो लक्ष्य हासिल गर्नका लागि मैले आफूलाई शारीरिक,मानकि,भावनात्क र आध्यात्मिक रुपमा तयार पारेकी छु । यी सबै कुराले मलाई यो लक्ष्य निर्धारण गर्न र हासिल गर्न प्रेरित गरेरहेका छन् ।
एली पेपरको अन्नपूर्ण लगायत नेपालका हिमाल आरोहणको चाँजोपाँजो सेभेन समिटले मिलाएको छ । सेभेन समिटका प्रबन्ध निर्देशक मिड.मा शेर्पाले एली पेपर आफै पनि पर्वतारोही र गाइड पनि रहनुभएकोले उहाँलाई समिट गराउन कठिन नहुने भएपनि बिना अक्सिजनको आरोहणलाई चुनौतिपूर्र्ण रुपमा लिनुपर्ने बताउनुभयो ।
अहिलेसम्म विश्वमा ६ जनाले मात्र बिना कृत्रिम अक्सिजनको सहायतामा विश्वका ८ हजार माथिका हिमाल आरोहण गरेका छन् । त्यसमध्ये पनि १४ वटै हिमाल विना अक्सिजन आरोहण गर्ने जम्मा दुई जना पुरुष आरोही छन् । उनीहरुलाई बिना अक्सिजन १४ वटा हिमालको आरोहण गर्न १६ बर्ष लागेको थियो ।
एली पेपरले भने अहिले आरोहणका लागि उपलब्ध भौतिक उपकरण,मौसमसम्बन्धी जानकारी लिने सुविधा,उद्धार र अन्य सुविधाका कारण यो लक्ष्य आगामी २ बर्षभित्र हासिल गर्न सकिने बताउनुभएको छ ।
विश्वमा हालसम्म १४ हिमाललाई ८ हजार माथिको उचाईको मान्यता दिइएको छ । त्यसमा सगरमाथा,माउण्ट के टु, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयू, धौलागिरी, मनास्लु, नांगा पर्वत, अन्नपूर्ण १, ग्रोशरब्रम १ ,ब्रोडपिक,ग्राशरब्रम २ र शिशापाड.मा रहेका छन् ।
नेपालमा नै ८ हजार मिटरमाथिका १४ वटा हिमाल रहेको तथ्य नेपाल पर्वतारोहण संघले विश्व पर्वतारोहण महासंघमा पेश गरेको भए पनि तिनले मान्यता पाएका छैनन् ।
ती १४ चुचुरामा कञ्चनजंघा साउथ (८,४७६), कञ्चनजंघा सेन्टर (८,४७३), कञ्चनजंघा मुख्य (८,५८६) कञ्जनजंघा यलुङखा (८,५०५), यलुङखा वेस्ट (८,०७७), मकालु (८,४८५), ल्होत्से स्याड (८,३८८), ल्होत्से मिडल (८,४१०), ल्होत्से मुख्य (८,५१६), सगरमाथा (८,८४८), चोयु (८,१८८), मनास्लु (८,१६३), अन्नपूर्ण (८,०९१) र धौलागिरी (८,१६७) रहेका छन् ।


















