Prakash Adhikari March 15, 2024

काठमाडौं, २ चैत्र । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सुन तस्करीको आरोपमा पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएपछि उनी छानबिनको दायरामा परेको बताउनुभयो । सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी पुनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

छानविन समितिको सदस्यहरुले पुनले छिरिङसँग केही कम्पनीमा साझेदारीसमेत गरेको पाएका थिए । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर उनले सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।

दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ । ०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइँकुण्ड गएका थिए।

सुन प्रकरणमा संलग्न भेटिएका अमला रोका फरार छिन् ।

 

Share Now