काठमाडौं, ८ चैत्र । नेपाल प्रहरीको अनुसन्धान ब्यूरो(सीआईबी)ले च्याम्पियन फुटवेयर लिमिटेडको जग्गा खरिद विषयमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ ।
बयान सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ ।
आज बिहान सीआईबीको सम्पर्कमा पुग्नुभएका सांसद चौधरीलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । आज उहाँ आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुग्नुभएको थियो ।
चौधरी ग्रुपले बाँसबारी छाला जुत्ता कम्पनीको स्वामित्वमा रहेको जग्गा च्याम्पियन सु इन्डष्ट्रिको नाममा खरिद गरेको थियो । यसै विषय भएको अनुसन्धानको दायरामा सांसद चौधरी पनि पर्नुभएको पत्र सीआईबीले बुधबार सभामुख देवराज घिमिरेलाई पठाएको थियो ।
बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुनुहून्थ्यो ।
बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरे, जसमा क्यानभास स्पोर्ट्स जुत्ता उत्पादन गर्ने उल्लेख गरिएको थियो ।
सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो ।
सम्झौताअनुसार २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । त्यो बेला कम्पनीको शेयर होल्डरमा उद्योगपति विनोद चौधरी पनि रहनुभएको थियो ।