
नयाँदिल्ली भारत, ३१ बैशाख(बीबीसी) । भारतीय सांसद तथा भूतपूर्व संयुक्त राष्ट्रसंघीय कूटनीतिज्ञ शशि थरूरलाई उनकी श्रीमतीको आत्महत्यामा सघाएको अभियोग लागेको छ।
सन् २०१४ मा उनकी श्रीमतीको निधन भएको थियो।
उनकी श्रीमती सुनन्दा पुष्करको मृत्युलाई सुरुवातमा आत्महत्याका रूपमा लिइएको थियो।
तर प्रहरीले पछि कोही पनि संदिग्धको नाम उल्लेख नगरीकनै उनको मृत्युलाई हत्याका रुपमा छानबिन गरिरहेको जनाएको थियो।
अभियोग
महिलामाथि अत्याचार तथा आत्महत्या गर्न उक्साउने विरुद्धका कानुनी प्रावधानअन्तर्गत थरूरमाथि अभियोग लगाइएको छ।
सामाजिक संजालको वेबसाईट ट्वीटरमा सन्देश राख्दै कांग्रेसका नेता समेत रहेका थरूरले उनीमाथि लागेका “नचाहिँदा अभियोगहरू” को “जोडदार” प्रतिवाद गर्ने जनाएका छन्।
उनले लेखेका छन्- “सुनन्दालाई चिन्ने कसैलाई पनि लाग्दैन कि उनले आत्महत्या गर्लिन् भनेर, र त्यसमा मैलै सघाएको भन्ने त कुरै आउँदैन।”
“चार वर्षभन्दा पनि लामो अनुसन्धानपछि यदि यो निष्कर्ष आएको छ भने यसले दिल्ली प्रहरीको अनुसन्धान प्रक्रिया वा नियतबारे केही राम्रो बताउँदैन।”
“सन २०१७ को अक्टोबरमा कानुनसम्बन्धी एक अधिकारीले दिल्ली उच्च अदालतमा दिएको बयानमा दोषी ठहर गर्न उनीहरूले कसैका विरुद्ध केही पनि फेला नपारेको बताएका थिए। र, अब ६ महिनापछि उनीहरूले नै मैले आत्महत्या गर्न उक्साएको बताएका छन्। अविश्वसनीय!”