
जेरुसेलम(इजरायल) ,३१ बैशाख(बीबीसी) । संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ४१ प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।
नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोह हुनुअघि इजरेल र गाजा सीमा क्षेत्रमा छ हप्तादेखि भइरहेका व्यापक विरोधप्रदर्शनपछि सयौँ अन्य घाइते भएका विवरणहरूमा जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरू सो उद्घाटन समारोहमा सहभागी भएका छन्।
दूतावास सार्ने अमेरिकी निर्णयको इजरेलले स्वागत गरेको छ, तर त्यसले व्यापक अन्तर्राष्ट्रिय निन्दा निम्त्याएको छ।
जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यताको प्यालेस्टिनीहरूले विरोध गर्दै आएका छन्।
जेरुसलेमको पूर्वी भाग आफ्नो भएको दाबी प्यालेस्टिनीहरूले गर्दछन् तर सो शहर कहिल्यै विभाजित हुन नदिने इजरेलले बताउँछ।
गत छ हप्तादेखि भएका ती व्यापक प्रदर्शनहरूको नेतृत्व गाजाका इस्लामवादी शासक, हमासले गरिरहेको छ।
ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसलेममा सार्ने प्रतिबद्धता बारम्बार व्यक्त गरेका थिए।
विवादको जड
जेरुसलेमको हैसियतसम्बन्धी विवादको सोझो सम्बन्ध इजरेल-प्यालेस्टिनी द्वन्द्वसँग जोडिएको छ।
इजरेल र प्यालेस्टाइन दुवैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।
जेरुसलेम शहरलाई इसाई, मुसलमान र यहुदीहरुले पवित्रस्थलका रूपमा मान्ने गर्दछन् ।
जेरुसलेममाथिको इजरेली सार्वभौमिकताले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको छैन र सन् १९९३ मा भएको इजरेल-प्यालेस्टाइन शान्ति सम्झौताअनुसार जेरुसलेमको अन्तिम हैसियत भने शान्ति वार्ताका पछिल्ला चरणहरूमा मात्र छलफल हुनेछन्।
सन् १९६७ मा भएको मध्यपूर्वी युद्धयता पूर्वी जेरुसलेम इजरेलको अधीनमा छ। सो क्षेत्रलाई उसले आफैँमा गाभेको छ तर ट्रम्पले सन् २०१७ को डिसेम्बरमा घोषणा नगरेसम्म कुनै पनि देशले जेरुसलेमलाई इजरेली भूमि भनेर मान्यता दिएका थिएनन्।
के हो जेरुसलेम विवाद?
सन् १९६७ यता इजरेलले झण्डै २ लाख यहुदीहरूको निम्ति पूर्वी जेरुसलेममा दर्जनौँ बस्तीहरू निर्माण गरेको छ।
अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ती बस्तीहरू गैरकानुनी मानिन्छन् तर इजरेलले त्यस्लाई अस्वीकार गर्दै आएको छ।
जेरुसलेमलाई इजरेलको राजधानीका रूपमा मान्यता दिने निर्णय र दूतावास सार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको कदमलाई इजरेली यहुदीहरूले समर्थन गरेका छन्।
अमेरिकी कदमलाई “वास्तविकतालाई दिइएको मान्यता” भनेर टिप्पणी गरेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुका लागि यो कूटनीतिक जित हो।