बंगलुरु(कर्नाटक, भारत), १ जेठ । भारतको दक्षिणी राज्य कर्नाटकमा मे १२ मा भएको विधानसभा चुनावको परिणामपछि त्यहाँको सत्ता अब कसले सम्हाल्छ भन्ने अडकल सुरु भएको छ।
अन्तिम चरणमा पुगेको मतपरिणाम हेर्दा भारतीय जनता पार्टी (भाजपा) को बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्ने स्पष्ट देखिएको छ।
दोस्रो स्थानमा कांग्रेस आई र तेस्रो स्थानमा जनता दल (सेक्युलर) अर्थात् जेडीएस देखिन्छन्।
कसैको पक्षमा स्पष्ट बहुमत नआएमा कर्नाटक सरकारको भविष्य निर्धारण गर्ने जिम्मेवारी राज्यपालको हातमा पुग्ने बताइएको छ।
जानकारहरूका अनुसार राज्यपालले सरकार गठनको निम्ति कुन दललाई आमन्त्रण गर्नेछन् भन्ने कुरामा राज्य सरकारको भविष्य निर्भर हुनेछ।
भूमिका
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १३ वर्षसम्म गुजरातको मुख्यमन्त्री रहँदा कर्नाटकका अहिलेका राज्यपाल ८० वर्षीय वजुभाई वाला उनको मन्त्रिमण्डलमा नौ वर्ष वित्त मन्त्री रहेका थिए।
सन् २००५-२००६ को बीच वजुभाई भाजपाका गुजरातका प्रमुख पनि थिए।
वजुभाईको नाममा एउटै वित्तमन्त्रीले १८ पटक राज्य सरकारको बजेट प्रस्तुत गरेको रेकर्ड पनि छ।
उनको गन्ती ती केही नेताहरूमा हुनेगर्छ जो गुजरातमा केशुभाई पटेलदेखि मोदीसम्म सत्ता हस्तान्तरण हुँदा पनि राजनीतिक भूमिकामा थिए।
कर्नाटकको सत्ता प्राप्त गर्न सबै राजनीतिक दलले आफ्नो पूरै बल लगाइरहेको देखिन्छ।
तस्वीर कपीराइट.
२ सय २४ सिट भएको कर्नाटक विधानसभामा २ सय २२ सिटको लागि मतदान भएको थियो।
२ सय २ सिटको नतिजा आइसक्दा भाजपाले ९२ सिट जितेको छ तथा १२ सिटमा अग्रता लिइरहेको थियो।
७१ सिट कांग्रेसले आफ्नो बनाइसकेको छ। उसले पनि ४ सिट जित्ने आश गरिरहेको छ। चुनावी नतिजाका आधारमा तेस्रो पार्टीका रुपमा देखिएको जेडीएसले ३७ सिट जितिसकेको छ।
सरकार गठनमा जेडिएस निर्णायक हुने देखिन्छ।
त्यो भूतपूर्व प्रधानमन्त्री एचडी देवेगौडाको पार्टी हो।
दोस्रो स्थानमा देखिएको कांग्रेसले तेस्रो पार्टी जेडिएसलाई समर्थन गर्ने घोषणा गरिसकेको छ।
तर सत्ता नजिक पुगेको भाजपाले त्यसो हुन देला? धेरैलाई चासो छ।