काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति गठनको माग राख्दै संसदमा विरोध गरिरहेको नेपाली कांग्रेसका महामन्त्री थापाले रास्वपालाई जवाफ दिनेगरी विगतदेखिको छानबिनको माग गर्नुभएको हो।
नेपाली कांग्रेसले सहकारी ठगीमा रास्वपा अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा छानविन समितिको माग गरेपछि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखिको सत्तामा रहेका राजनीतिज्ञहरुको सम्पत्ति छानविनको माग राख्नुभएको थियो ।
महामन्त्री थापाले त्यसैको जवाफमा यस्तो माग गर्नुभएको हो । यससम्बन्धमा नेपाली कांग्रेसका केही सांसदहरुले संसदमा निवेदन समेत दर्ता गराउनुभएको छ।
महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसका सभापति, एमालेका अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामीजस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं।’
उहाँले २०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने बताउनुभयो । आजसम्म भएका आर्थिक अपचलनका ठूला काण्डमा जिम्मेवार रहेका सबैको छानबिन हुनुपर्ने भन्दै थापाले उनीहरूले कहीं न कहीं सजाय पाउनुपर्नेमा जोड दिनुभयो।
‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस्,’ उहाँले भन्नुभयो ।
कांग्रेस महामन्त्री थापाले सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने भन्दै सहकारीबाट अर्बौं रकम खानेहरू केही समय अघिसम्म विज्ञका रुपमा भाषण गर्दै हिंडेको देखेको बताउनुभयो।
यसमा जिम्मेवार निकायले समेत नहेरेको उहाँको गुनासो छ।