Prakash Adhikari April 15, 2024

 

तेहरान(इरान),३ बैशाख(बीबीसी) । इरानले आफ्नो भूमिबाट इजरायलमाथि पहिलो पटक सोझै आक्रमण गरेपछि इजरायलले त्यसको जबाफ दिन सक्ने र लडाइँ चर्किन सक्ने अनुमान गरिएको छ।

एक इजरायली मन्त्रीले यथोचित समयमा इरानसँग यो आक्रमणको मूल्य चुक्ता गराउने बताएका छन्। इरानले इजरायलबाट प्रत्याक्रमण भए आफूले झ ठूलो कदम चाल्ने चेतावनी दिएको छ।

इरानी सेनाका प्रमुख मेजर जेनरल मोहम्मद बघेरीले इरानको सरकारी टेलिभिजनमा बोल्दै इरानले प्रतिक्रिया जनाएको खण्डमा शनिवार रातिको भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ।

इरानले वाशिङ्टनलाई पनि चेतावनी दिँदै इजरेली प्रतिक्रियामा साथ दिएमा अमेरिकी सैन्य आधारहरूलाई निसाना बनाउने बताएको छ।

इरानी आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि यो घटना चर्किएर युद्ध हुनुपर्छ भन्ने पक्षमा राष्ट्रपति जो बाइडन नरहेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले बताउनुभएको छ।

यदि इजरेलले इरानमाथि सैन्य कारबाही गर्‍यो भने अमेरिका त्यसमा संलग्न नहुने जानकारी बाइडनले इजरायललाई गराइसकेको विवरण सीएनएनले प्रकाशित गरेको छ।

इजरायली र अमेरिकी लडाकु विमान र क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले ३ सयभन्दा बढी प्रहारमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिदिएको थियो ।

यसअघि संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलले राष्ट्रसङ्घीय बडापत्रको आत्मरक्षासम्बन्धी धारा ५१ मा उल्लिखित प्रावधानलाई उद्धृत इजरायलमा शृङ्खलाबद्ध हमला गरेपछि यो विषय‘टुङ्गिएको जनाएको थियो।

इरानले इजरायललाई फेरि अर्को गल्ती नगर्न चेतावनी दिएको छ।

इरानले किन गर्‍यो आक्रमण

एप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा एउटा घातक हवाई आक्रमण भएको थियो। त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो।

इरानले उक्त आक्रमण इजरायलले गराएको आरोप लगाएको थियो र त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो। इजरायलले उक्त घटनामा आफू संलग्न भए नभएको केही पनि बताएको थिएन।

सिरियाको रक्षा मन्त्रालयका अनुसार इजरायली विमानले दमास्कसस्थित इरानी नियोगमा अधीनस्थ गोलन हाइटतर्फबाट हमला गरेको थियो। उसका अनुसार सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायलले प्रहार गरेका केही क्षेप्यास्त्रलाई नष्ट गरिदएको भए पनि केही अरूले पूरा भवनलाई ध्वस्त पारेको र त्यहाँ भएका मानिसहरू हताहत भएका थिए।

सिरियाका विदेशमन्त्री फैसल मेक्दादले उक्त घटनालाई “घृणित आतङ्कवादी हमला” भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका थिए। उनले उक्त घटनामा कैयौँ निर्दोष मानिसहरू मारिएको बताउनुभएको थियो।

इरान र इजरायलबीच छद्मयुद्ध

उक्त घटनामा ज्यान गुमाउनेमा इरानको इस्लामिक रेभलूशनरी गार्ड्सका ब्रिगेडिअर जेनरल मोहम्मद रेजा जाहेदी र ब्रिगेडिअर जेनरल मोहम्मद हादी हाजी राहिमीसहित सात जना थिए।

केही वर्षदेखि इजरायल र इरानबीच छद्मयुद्ध चल्दै आएको थियो।

इजरायलले विगतका वर्षमा सिरियामा सयौँ हमलाहरू गरेको स्वीकार गर्दै त्यस्ता निसाना इरान र सशस्त्र समूहहरूको गठबन्धनसँग सम्बन्धित रहेको बताउने गरेको छ। ती समूहलाई रेभलूशनरी गार्ड्सले हतियार, पैसा र तालिम दिने गरेको इजरायलको आरोप छ।

गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएयता इजरायलले आक्रमण बढाउँदै लगेको छ। तेल अभिभले हिज्बुल्लाह र लेबनन तथा सिरियामा रहेका अन्य इरानबाट समर्थनप्राप्त समूहले सीमापारि गरेको हमलाको जबाफ दिन आफूले कारबाही गरेको बताउने गरेको छ।

इजरायलले अब के गर्ला ?

इरानी हमला हुनुअघि त्यसबारे धेरै चर्चा भएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणबारे हुन लागेको बताउनुभएको थियो। अमेरिकामा नाम नखुलाइएको एउटा स्रोतले हमलाको स्वरूपबारे बोलेको थियो।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटले भन्नुभयो, इरानले सीमित र सावधानीपूर्वक आक्रमण गरेको औँल्याएकी छन्। यसले सीमित क्षति पुर्‍यायो तर इजरायल र उसका साझेदारले यो हमलाको विश्लेषण गरिरहेका छन् ।

अमेरिका र यूकेले संयम अपनाउन आग्रह गर्दा पनि इजरायलले विकल्पबारे विचार गरिरहेको जनाएको छ ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनरले यो घटनाले अझै नराम्रो मोड लिन सक्ने सम्भावना औँल्याउनुहुन्छ। उहाँका अनुसार इजरायलको युद्धसम्बन्धी विषय हेर्ने मन्त्रिपरिषद्ले कस्तो जबाफ दिने भन्ने विषयमा बहस गरिरहेको छ।

इरानको शासनलाई नरुचाउने समेत गरी मध्यपूर्व र अन्यत्रका देशहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। तर विद्यमान इजरायल सरकारलाई देशको इतिहासमा अहिलेसम्मकै अनुदारवादी मानिन्छ।

इजरायलका  विकल्प 

गार्डनरका अनुसार इजरायलले उक्त क्षेत्रमा रहेका देशको आग्रह स्वीकार गर्न सक्छ र रणनीतिक मौनता राख्न सक्छ। अथवा इजरायलले लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरी सतर्कतापूर्वक आफ्नो भूमिमा आक्रमण गर्न प्रयोग गरिएका इरानी सैन्य शिविरहरूलाई निसाना बनाउँदै शृङ्खलाबद्ध हमला गर्न सक्छ। अथवा तनाव बढाउन एक खुड्किलो माथि गएर इजरेलले इरानको शक्तिशाली रेभूलशनरी गार्ड्सका तालिमकेन्द्रहरूलाई पनि निसाना बनाउन सक्छ।

इजरायलले सैन्य कारबाही गरे इरानले पनि त्यसको प्रतिकार गर्ने उहाँ औँल्याउँनुहुन्छ।

इरानले के चाहेको हो ?

त्यसैले सबैको दृष्टि इजरायली प्रतिक्रियामा छ।

च्याटम हाउस नामक थिङ्कट्याकसँग आबद्ध अनुसन्धानकर्ता डा डा लिना खातिबले बीबीसी रेडिओ फाइभ लाइभसँग कुरा गर्दै इरानले इजरायलमाथि गरेको आक्रमण विश्वले थाहा पाओस् भनेर इरानले देखाउन खोजेको परिदृश्य रहेको बताउनुभयो।

हाल लेबनानमा रहनुभएकी खातिबले उक्त हमला सुनियोजित भएको र वास्तवमा निकै सीमित रहेको बताउनुभएको छ ।

इरानबाट प्रहार गरिएका ड्रोनहरू इजरायलस्थित निसानामा पुग्नुअघि नै इरानले एउटा विज्ञप्ति जारी गरेको प्रसङ्ग उल्लेख गर्दै उसले उक्त प्रतिकारलाई प्रतीकात्मक मानेको उहाँको तर्क छ।

यसले इजरायलले आफ्नो अभिमानका लागि एउटा दह्रो सन्देश दिन खोजेको जस्तो, इजरायललाई सोझै जबाफ दिन खोजे जस्तो देखाउँछ। तर ऊ पक्कै पनि तनाव अझै चुलियोस् भन्ने चाहँदैन।

 

Share Now