Prakash Adhikari May 7, 2024

 

फ्लोरिडा(संयुक्त राज्य अमेरिका), २५ बैशाख। आइसीसी टी २० विश्वकप २०२४ मा प्रतिस्पर्धा गर्न छानिएको नेपाली नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका सबै सदस्यहरु अमेरिकाको फ्लोरिडा पुगेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले सामाजिक सञ्जालमा बिहान पौने ९ बजेतिरै नेपाली टोलीका दोस्रो समूह पनि अमेरिका पुगेको जानकारी दिएको छ ।

विश्वकपको तयारीका लागि अभ्यास खेलहरु खेल्ने कार्यक्रमसहित नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो ।

नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि नेपाली टोली दुई समूहमा बाँडिएर नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राति प्रस्थान गरेको पहिलो समूह आइतबार पुगिसकेको छ ।

नेपालली टोली फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जानेछ । त्यहाँ गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने छ । नेपालले विश्वकपअघि अन्तिम वार्म अप खेल भने डल्लासमै खेल्नेछ ।

नेपालले विश्वकपका लागि यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । त्यस्तै टोलीमा ४ वैकल्पिक खेलाडी पनि रहेका छन् । वैकल्पिक खेलाडी भने हाल टोलीसँग जाने छैनन् ।

नोपली कप्तान रोहित कुमार पौडेलको नेतृत्व रहने विश्वकप टोलीमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह ,सन्दीप जोरा, कुशल मल्ल ,गुलशन झा, सोमपाल कामी ,करण केसी, अभिनाश बोहोरा , कमल सिंह ऐरी, प्रतिश जिसी ,ललित नारायण राजवंशी र सागर ढकाल रहेका छन् ।

नेपालले वैकल्पिक खेलाडीको रुपमा विवेक यादव, विनोद भण्डारी, आकाश चन्द, र लोकेश बमलाई स्थान दिएको छ ।

राष्ट्रिय टोलीमा खेलाडीका साथमा अफिसियलतर्फबाट मोन्टि देशाइ (मुख्य प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टटेन्ट), रड इस्टविक (बलिङ कन्सल्टेन्ट), रमण शिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (स्ट्रेन्थ एण्ड कन्डिसन), प्रदिप मजगैया (व्यवस्थापक) रहनुभएको छ ।

Share Now