Prakash Adhikari May 20, 2018

काठमाडौं, ६ जेठ । झण्डै २१ देखि २४ अर्बसम्मको राष्ट्रिय सम्पत्ति खर्च गरेर पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आयर ल्याण्डको हाईफ्लाई एक्स नामक कम्पनीबाट लिन लागेको एअरबस ३३०-२०० सेरिजका दुईवटा ठूला आकारका जहाजको उत्पादनको क्रम संख्या पहिले उल्लेख गरेभन्दा फरक परेको छ ।

निगमले आफ्नो वेभसाइटमा जहाज खरिदका सम्बन्धमा भएको प्रगति विवरणमा उल्लेख गरे अनुसार उसले आयरल्याण्डमा खोलिएको नयाँ कम्पनी हाइफ्लाई एक्सबाट किन्ने विमानको उत्पादन क्रम संख्या १८४५ र १८५४ हो। तर निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहित सञ्चालक समितिका सदस्य र पर्यटन मन्त्रालयका सहसचिव समेत गरी जहाजको उत्पादन निरीक्षण हेर्न एअरबसको उद्योग रहेको फ्रान्सको टुलाउजमा पुगेको टोलीलाई भने आपूर्तिकताहरुले कारखानामा जडान हुँदै गरेका उत्पादन सिरियल नम्बर १८७२ र १८७८ भएका जहाज देखाएको छ ।

त्यसमध्ये एक जहाजको परीक्षण उडान भएको फोटो सामाजिक सञ्जालमा पोष्ट भएको छ । परीक्षण उडानले आत्मविश्वास बढाएको निगमका क्याप्टेन विजय लामाले उल्लेख गरेका छन् ।

निगमका तर्फबाट खरीदको लागि सिर्जना गरिएको नयाँ विक्रेता हाइफ्लाई एक्स आयरल्याड र समग्र चाँजोपाँजो मिलाउने संयुक्त उपक्रमको एएआर कर्पोरेशन इन्क,अमेरिका, हाइफ्लाई एरोस्पेस पोचुगल र जर्मन एभियसन क्यापिटल जीएमबीएचसंगको करार संझौता भंग भएर जहाज उत्पादनको अर्डर रद्द नभएको अवस्थामा सिरियल नम्बर किन फरक पर्यो निगमका पदाधिकारीहरु नाजवाफ छन् । सामान्यत अर्डर रद्द भएमा वा डिफेक्टिभ जहाजको उत्पादन भएर ग्राहकले सामान अस्वीकार गरेमा ग्राहकलाई नयाँ उत्पादन सिरियल नम्बर दिने चलन छ । सिरियल नम्बरमा भएको यो परिवर्तनको खेलले के पुष्टि गर्दछ भने विमान खरिदप्रक्रियामा निगम व्यवस्थापन प्रारम्भदेखि नै नीति निर्माताको आँखामा छारो हाल्ने र संस्था र देशका मौजूदा नियम कानूनलाई छलछाम गरेर बलजफ्ती ठूलो रकमको खरिदमा अग्रसर भैरहेको छ ।

सुव्यवस्थामा हैन, खरिद बिक्रीमा मात्रै चासो

आन्तरिक उडानका यी चिनिया जहाज थन्क्याउनै कुशल व्यवस्थापन भयो ।

निगमले चीनबाट ल्याएका तीनवटा वाई १२ र एक एमए ६० पाइलटको अभावमा एअरपोर्टको ह्यांगर र पार्किड.बेमा घाम पानी खाएर थन्किएका छन् । तर भएका विमान सञ्चालन गर्न नसकेको निगम व्यवस्थापन आन्तरिक उडानका लागि ६ वटा भाईकिंग टुइनओटर विमान किन्ने हावादारी योजना अगाडि सारेर लुब्ध नागरिक उड्डयन प्रशासक र कमिशनमा र्याल काढ्ने मन्त्री सहित राजनीतिक नेताहरुलाई अल्मल्याउन खोजिरहेको छ ।

निगम व्यवस्थापनको निकम्बापनले यी दुई ठूला आकारका जहाजको औचित्यमा समेत प्रश्न लागेको छ । जहाज जस्तो यात्रुहरुको आकर्षणले चल्ने व्यापारमा संलग्न भएको पूरा ६ दशकको इतिहास कायम गरेको निगमले अहिले जस्तो हचुवा तालले विमान कहिल्यै पनि खरिद गरेको थिएन ।

निगमका पदाधिकारीहरु निगमको पहिलो जहाज जुन २७ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दावी गरिरहेका छन् । तर विमान आएपछि उड्ने सेक्टरको हालसम्म अत्तोपत्तो छैन्। निगमले ठूला आकारका दुई नयाँ जहाज खरिद गर्ने विज्ञापन अर्थात आशय पत्र(रिक्वेष्ट फ प्रपोजल, आरएफपी) माग गर्दा नयाँ जहाजहरुले उड्ने एअरपोर्टको सूचीमा लण्डनको गेट्विक र ह्याथ्रु, जर्मनीको फ्रयांकफर्ट, अष्ट्रेलियाको सिड्नी, मेलवर्न, ब्रिसबेन, जापानको नारिता र ओसाका,चीनको सांघाई, गोञ्जाओ र बेइजिड., भारतको चेन्नाई, दिल्ली, मुम्बई, कोरियाको सोल, हंगकंग, कतारको दोहा,संयुक्त अरब इमिरेट्सको दुबाई, साउदी अरेबियाको रियाद, मलेसियाको क्वालामपुर, थाईलैण्डको बैंकक र सिंगापुरको नाम उल्लेख गरेको छ ।

तर निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार नेपाल यूरोपियन युनियनको उड्डयन कालोसूचिमा परेको कारण देखाउदै कोरिया र जापानले नेपालको विमानलाई आफ्नो मुलुकमा उडान सञ्चालन गर्ने अनुमति दिएका छैनन् । अष्ट्रेलियाको हकमा नयाँ जहाजको तौलले समस्या पारेको प्राविधिकहरुको दावी छ । निगमले टेण्डरमा २४२ मेट्रिक टनको जहाज माग गरेको थियो तर खरीद विक्री संझौतामा २३० मेट्रिक टनको जहाज लिने उल्लेख छ । यसले जहाजको इन्धन बहन क्षमतालाई असर गरेको प्राविधिकको भनाई छ ।

युरोपियन युनियनले कालोसूचीमा राखेको कारण निगमले यी जहाज बेलायत र जर्मनी लगायत कुनै पनि यूरोपेली मुलुकमा उडाउन सक्ने अवस्था छैन् । यसैले ठूला जहाज ल्याएर उच्च क्रयशक्ति भएका यूरोप, अष्ट्रेलिया, जापान र कोरियाको उडानबाट डलर झार्ने निगम व्यवस्थापनको सपना पनि चकनाचूर भएको छ । साना विमानले उडान गर्ने क्षेत्रमा उडान गरेर यी दुई सेता हात्ती पाल्नुपर्ने अवस्थामा निगम पुगेको छ । यी ठूला विमान नेपाली कामदार ओसार्ने खाडी र मलेशिया क्षेत्रमा प्रतिस्पर्धा गर्न किन कठिन छ भने ती देशका राष्ट्रिय ध्वजाबाहकहरु नेपालमा सञ्चालन भैरहेका छन्, उनीहरुको अपरेशन बेस जहाँ आफ्नै तेल कारखाना छ, हाम्रो भन्दा सस्तो छ ।

अर्को बोइड.बेचिदै

निगमको वर्तमान व्यवस्थापनले निगममा एकैखालका विमान राख्ने तर्क दिंदै हाल सञ्चालनमा रहेको गण्डकी नामक बोइङ्ग ७५७- २०० एसीबीलाई बेच्ने प्रक्रिया थालिसकेको छ ।

निगमले सो जहाजको मूल्यांकन गर्नको लागि योग्य फर्महरुलाई प्रस्ताव पेश गर्न ८ मेमा २१ दिने सूचना निकालिसकेको छ ।

निगमले यस अगाडि नै ७५७ -२०० एसीए जहाज गैर आवसीय नेपाली संघका अध्यक्ष भवन भट्टको बीबी एअरवेजलाई १५ करोड रुपियामा बेचिसकेको छ । भट्टले सो विमान आवश्यक मर्मत संभार पछि नेपालमा वेस राखेर छिमेकी मुलुकहरुका चलाउने योजना बनाएका छन् । निगम भित्रैबाट नेपालमा कार्गो प्लेनको अभाव भएकोले मर्मत गरी कार्गो प्लेनका रुपमा चलाउन प्रस्ताव गरेपनि निगमले सो जहाज कौडीको भाउमा बेचेको छ ।

उड्डयन क्षेत्रका जानकारहरुका अनुसार अमेरिकी कम्पनीको बोइङ्ग पूरै हटाउने निर्णय निगमका लागि भारी परिरहेको छ । अमेरिकाको इशारा उड्डयनको क्षेत्रमा पनि यूरोपदेखि कोरिया, जापान,अष्ट्रेलियासम्म पर्दछ । उडान अनुमतिमा त्यसको असर देखा परिसकेको छ ।

Share Now

Leave a comment.