जेरुसेलम(इजरायल),३१ बैशाख (बीबीसी) । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाउँदै हजारौँ प्यालेस्टिनीहरूलाई रफाह छोड्न आदेश दिएको छ।
हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरायलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल(मवासीतिर जान भनेको छ। अलमवासी एउटा साँघुरो क्षेत्र हो। इजरायलले उक्त स्थानलाई विस्तृत मानवीय क्षेत्र भन्दै आएको छ।
रफाहमा केही दिनअघिसम्म स्थानीय बासिन्दा तथा विस्थापित मानिसहरूको घुँइचो लाग्ने गरेका सडकहरू अहिले निर्जन देखिन्छन्।
संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले रफाहमा इजरायलले गर्न लागेको स्थल कारबाहीप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले त्यहाँ हुने लडाइँले ठूलो सङ्ख्यामा सर्वसाधारण मानिस हताहत हुन सक्ने र मानवीय सङ्कट निम्तिन सक्ने चेतावनी दिँदै आएका छन्।
यद्यपि इजरायल रफाहमा स्थल कारबाही गर्न दृढ देखिन्छ।
अमेरिका के भन्छ ?
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले हमासले इजरायली बन्धकहरूलाई छोडेको भोलिपल्टै युद्धविराम गर्न सम्भव हुने बताएका छन्।
इजरायलले यो कुरा हमासमा निर्भर भएको बताएको छ ( उनीहरूलाई इच्छा भए हामी भोलि नै रोक्न सक्छौँ। अनि युद्धविराम भोलिपल्टै आरम्भ हुन सक्छ,ू शनिवार सीयाटलमा आयोजित एउटा कार्यक्रममा बाइडनले भन्नुभयो ।
अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेकामध्ये १ सय २८ जनाको अहिलेसम्म अत्तोपत्तो नभएको इजरायलले जनाएको छ। तीमध्ये ३६ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ।
इजरायलले रफाहबाट प्यालेस्टिनीहरूलाई ठाउँ छाड्न आदेश दिनुभन्दा केही घण्टाअघि अमेरिकाको विदेश मन्त्रालयले इजरायलले गाजा युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै आफूले उपलब्ध गराएका हतियारहरू प्रयोग गरेको हुन सक्ने जनाएको थियो।
अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा ती हतियारहरू इजरायलले आफ्नो दायित्वसँग असङ्गतहुने गरी प्रयोग गरे नगरेको परीक्षण गर्नु उचित हुने उल्लेख छ।
इजरायली सेना के भन्छ?
शनिवार रफाहको आकाशमा धुवाँको मुस्लो उडेको तस्बिरहरूमा देखिन्छ। समाचारसंस्था एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इजिप्टसँगको सीमानजिकै हवाई आक्रमण भएको जनाएको छ।
इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले सामाजिक सञ्जाल एक्समा लेख्दै अघिल्लो दिन इजरायली सैनिकहरूले रफाहमा हमाससँग आमुन्नेसामुन्ने भएर लडाइँ गरेको जानकारी दिएको छ।
आफ्ना सैनिकहरूले रफाहमा हमासका केही भूमिगत सुरुङ फेला पारेको आईडीएफको दाबी छ।
इजरायली सेनाका गुप्तचर प्रमुखले किन दिए राजीनामा ?
इजरायलले गाजा स्ट्रिपका विभिन्न स्थानमा हवाई आक्रमण पनि गरेको छ। इजरायली सेनाले आतङ्ककारी र तिनका भौतिक संरचनालाई निसाना बनाइएको दाबी गरेको छ।
आईडीएफले गाजा स्ट्रिपको सुदूरउत्तरमा अवस्थित जबालिया क्षेत्रमा हमाससँग सम्बन्धित संरचनालाई लक्ष्य बनाइएको शनिवार राति जनाएको थियो।
त्यसअघि आईडीएफले त्यहाँका बासिन्दालाईूपश्चिमी गाजा सिटीका आश्रयस्थलहरूमा अस्थायी रूपमा जान आदेश दिएको थियो।
इजरायल योजनाको विरोध किन?
इजरालले आक्रमण गरेपछि लडाइँबाट जोगिन प्यालेस्टाइनका विभिन्न क्षेत्रबाट जोगिन भागेका लाखौँ मानिस गाजा स्ट्रिपको दक्षिणी कुनामा शरण लिन पुगेका छन्। त्यहाँ पनि इजरायलले सैन्य कारबाही थाल्ने योजना बनाएपछि अन्तर्राष्ट्रिय क्षेत्रले चासो र चिन्ता व्यक्त गरेको हो।
गत साता अमेरिकी राष्ट्रपति बाइडनले रफाहमा प्रयोग हुन सक्ने भन्दै इजरायललाई ठूला हतियार उपलब्ध नगराउने बताउनुभएको थियो।
सीएनएनसँगको एउटा अन्तर्वार्तामा बाइडनले इजरायललाई उसको प्रतिरक्षाका लागि आइरन डोम हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक हुने सामग्रीसहित आवश्यक अस्त्र दिने बताउनुभयो। यद्यपि अमेरिकाले दिएका ठूला अस्त्रका कारण गाजामा सर्वसाधारण मानिसको ज्यान गएको भन्दै उहाँले इजरायलले धेरै मानिसको बसोबास भएको क्षेत्रमा सैन्य कारबाही गरिए वाशिङ्टनले इजरायललाई सहयोग उपलब्ध नगराउने चेतावनी पनि दिनुभयो।
ब्रिटिश विदेशमन्त्री डेभिड क्यामरनले यूके पनि रफाहमा गरिने सैन्य कारबाहीको विपक्षमा रहेको बताउनुभएको छ। तर यूकेले अमेरिकाले जस्तो अस्त्र बिक्रीमा विलम्ब गर्ने सम्भावना भने छैन।
उहाले अस्त्र निर्यातमा प्रतिबन्ध लगाइए हमासलाई लाभ पुग्ने तर्क गर्नुभएको छ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गत शुक्रवार बाइडनसँगको मतभिन्नता अन्त्य होस् भन्ने आफूले चाहेको तर रफाहमा सैन्य कारबाही गरी छाड्ने उद्घोष गर्नुभएको थियो।
“आवश्यक परे हामीहरू एक्लै पर्न पनि तयार छौँ। मैले भनेको छु आवश्यक पर्छ भने हामीहरू नङले मात्र पनि लड्न तयार छौँ”, नेतन्याहूले भन्नुभयो।
सहायता निकायहरूले दक्षिणी गाजामा अहिले जारी इजरायली सैन्य कारबाहीका कारण प्यालेस्टिनीहरू कहीँ पनि सुरक्षित नभएको बताएका छन्।
शनिवार इजरायलले गरेको हवाई आक्रमणमा आफ्ना १० नातेदार गुमाएकी खितम अलखतिब भन्नुहुन्छ, “अब गाजामा कुनै ठाउँ पनि सुरक्षित छैन।”
“उनीहरूले गाजामा पर्चा छरे अनि रफाहबाट अल(जबादिया जाने बाटो सुरक्षित छ, त्यतै जानू भने। मानिसहरूले त्यसै गरे। तर उनीहरूलाई के भयो? क्षतविक्षत शरीर…” उहाँलाई उद्धृत गरिएको छ।
अस्पताल र सहायताको अवस्था
परोपकारी संस्था अक्स्फामले उक्त क्षेत्रमा सेवा प्रदान गर्न सक्ने कुनै अस्पताल नभएको र सहायता सामग्री निकै कम भएको जनाएको छ।
रफाहमा तीनवटा अस्पतालले आंशिक सेवा दिँदै आएका थिए। तर कर्मचारीरूलाई ठाउँ खाली गर्न आदेश दिइएपछि तथा नजिकै लडाइँ चर्किएपछि अबू यूसेफ अल(नज्जर अस्पताल बन्द भएको छ।
प्यालेस्टिनी शरणार्थीहरूसँग सम्बन्धित मामिला हेर्ने राष्ट्रसङ्घीय निकायले प्यालेस्टिनीहरूलाई जान भनिएको अलमवासीस्थित शिविरको अवस्थाबारे चासो व्यक्त गरेको छ।
यूएनआरडब्ल्यूएका स्याम रोजले बीबीसीलाई उक्त क्षेत्रमा पठाइएका सबै मानिसहरूलाई पुग्ने यथेष्ट सुविधा त्यहाँ नभएको बताउनुभएको छ।
“त्यहाँ समुद्री तटको बाटोछेउमा मानिसहरू झुप्रामा बस्छन्, पालमा बस्छन्….. त्यहाँ पानी आपूर्ति गर्ने प्रणाली छैन। त्यहाँ उपयुक्त संरचना छैन, ढलनिकास र सफाइ छैन”, उहाँले भन्नुभयो।
हमासले अक्टोबर ७ मा अप्रत्याशित आक्रमण गरेपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गर्दै सैन्य कारबाही थालेको हो। हमासको आक्रमणमा परी विभिन्न देशका नागरिक समेत गरी करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ५२ जनालाई हमासले बन्धक बनाएर आफूसँग लगेको इजरायलको दाबी छ।
इजरायली सैन्य कारबाही सुरु भएपछि गाजामा झन्डै ३५ हजार जनाको मृत्यु भएको र तीमध्ये अधिकांश महिला तथा बालबालिका भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।